Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०२:५०

हरिनगर खेलमैदानलाई रंगशालामा स्तरोन्नती गर्ने डिलाशैनी गाउँपालिकाको तयारी

सम्बाददाता सम्बाददाता
आइतबार, पुष २९, २०८०
हरिनगर खेलमैदानलाई रंगशालामा स्तरोन्नती गर्ने डिलाशैनी गाउँपालिकाको तयारी

बैतडीको डिलाशैनी गाउँपालिका ५ स्थित हरिनगर खेलमैदानलाई रगंशालाका रुपमा स्तरोन्नती गर्न तयारी सुरु भएको छ ।

चौथो संस्करणको डिलाशैनी गाउँपालिकास्तरिय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले हरिनगर खेलमैदानलाई रंंगशालाका रुपमा स्तरोन्नती गर्ने लक्ष्यसहित गाउँपालिकाको तयारी भइरहेको उद्घोष गर्नु भयो । 

डिलाशैनी गाउँपालिकाले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राख्दै पालिकाको निति तथा कार्यक्रम तय गर्दै आएको उल्लेख गर्दै हरिनगर रंगशाला निर्माण कार्यलाई गाउँपालिकाको गौरवको आयोजनाका रुपमा अघि सारेर रंगशाला निर्माणका लागि गत वर्षदेखि नै प्रारम्भिक तयारी थालिएको अध्यक्ष जोशीले बताउनु भयो । 

गाउँपालिकाका इञ्जिनियर गोकुल जोशीका अनुसार हरिनगर रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने उक्त रंगशाला निर्माण कार्यमा करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

विभिन्न आउटडोर तथा इन्डोर खेलहरु खेल्नका लागि आवस्यक कभर्ड हल, प्याराफिट लगायतका संरचना निमार्ण गरिने तथा खेलमैदान वरिपरि पक्की तटबन्ध गरिने ईञ्जिनियर जोशीले बताउनु भयो । 

यसैबिच डिलाशैनी गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगीता धुमधामसंग सम्पन्न भएको छ ।

बिहीबारदेखि सुरु भएको प्रतियोगीतामा सेटिगाउँ माद्यमिक विद्यालय १३ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ भने, ८ स्वर्ण पदक सहित दुर्गा मावि सिमार द्वितय भएको छ । यसैगरी ४ स्वर्ण पदक जितेको मण्डेस्वरी मावि धवलाले तृतिय स्थान हात पारेको खेलकूद विकास समिति उपाध्यक्ष मदन नाथले बताउनु भयो । । 

प्रतियोगीतामा गाउँपालिका भित्र रहेका १२वटा माध्यमिक विद्यालयहरुको सहभागीता थियो । प्रतियोगीतामा विजेता टिमहरु तथा उत्कृष्ट खेलाडीहरुलाई पुरुष्कार वितरण गरिएको खेलकूद विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो । 

पालिका स्तरीय रनिङ सिल्ड प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगीतामा पठाइने  र उत्कृष्ट खेलाडीहरुले प्रदेश हुदैँ अन्य प्रतियोगीताहरुमा सहभागी हुने तथा प्रतिभावान खेलाडीहरुले नेपाली सेना, प्रहरी तथा ससस्त्र प्रहरी क्लवहरुमा खेल्ने मौका पाउनुका साथै अन्तरराष्ट्रिय प्रतियोगीताहरु खेल्न पाउने भलिवल प्रशिक्षक हरि भण्डारीको भनाई छ ।  

पालिकाबाट हुने सहयोगका लागि तयार रहेको बताउदैँ उहाँले जिल्ला स्तरीय प्रतियोगीता र अन्य सबै प्रतियोगीताहरुमा उत्कृष्ट प्रर्दशन गर्न आग्रह गर्नुभयो । । डिलाशैनी गाउँपालिकामा क्षमतावान खेलाडीहरु रहेको अध्यक्ष जोशीको दावी छ।

प्रतियोगिताको समापन समारोहमा अध्यक्ष जोशीले सबै खेलाडीहरुलाई अनुसाशीत भएर आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आगामी खेल जिवन सशक्त बनाउन सुझाव दिनुभयो ।

 

प्रतिक्रिया