Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०७:२९

संसदमा एक दर्जन दलको उपस्थितिले राजनीतिक अस्थिरता झन् बढायोः ओली

सम्बाददाता सम्बाददाता
आइतबार, बैशाख ०९, २०८१
संसदमा एक दर्जन दलको उपस्थितिले राजनीतिक अस्थिरता झन् बढायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक स्थिरता चाहिएको बेला संसदमा एक दर्जन दलको उपस्थितिले झन् अस्थिरताको सम्भावना बढाएको बताएका छन्।

शनिबार ललितपुरको गोदावरीमा सुरू भएको एमाले महाधिवेशन परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले यसबाट बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव पारेको बताए।

‘मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो,’ उनले भने, ‘तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरुको उल्लेख्य संख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो।’

अध्यक्ष ओलीले निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न नसकेको पनि बताए।

 निर्वाचनमा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटना रहेको उनले बताए।

जनतामा देखिएको निराशाको प्रयोग तिनै पपुलिष्ट र दक्षिणपंथी शक्तिहरूले गरिरहेको ओलीले बताए।

‘चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,’ उनले भने, ‘असन्तुष्टिलाई एकातिर पपुलिजम् र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ।’

अध्यक्ष ओलीले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सकेपनि त्यस्ता शक्तिहरूसँग यसको समाधान नभएको बताए।

(न्युज एजेन्सी नेपालबाट)

प्रतिक्रिया