Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०३:४३

बैतडीमा भोलिदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन १५, २०८०
बैतडीमा भोलिदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने

बैतडीमा भोलिदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय अभियान अन्तर्गत बैतडीमा पनि भोलिदेखि अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

जिल्लाका पाँचओटा पालिकामा बुधबारदेखि अभियान सञ्चालन हुनेछ भने पाँचओटा पालिकामा बिहीबारदेखि अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

खोप अभियानका लागि जिल्लाभरी आवश्यक तयारी पूरा भइसकेको उनले बताए । जिल्लामा खोप अभियानका लागि ७ सयभन्दा बढी स्वयंसेवक खटिएका छन् भने ३ सय ६० जना स्वास्थ्यकर्मी खटिएका छन् । 

भोलिदेखि फागुन २१ गतेसम्म जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । 

यस्तै पर्सी (बिहीबार)देखि फागुन २२ गतेसम्म जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 

बैतडीमा ९ महिनादेखि ५ बर्षसम्मका २१ हजार ३ सय २४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सुरक्षित भएकाले निर्धक्क भएर तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

दादुरा–रुबेला खोप नलगाएमा बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण हुने भएकाले यो खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कुनै बालबालिकामा दादुरा–रुबेला संक्रमण भएमा एकजनाले १८ जनालाई संक्रमण गर्न सक्ने भएकाले यो रोगबाट बच्नका लागि अनिवार्य रुपमा खोप लगाउनुपर्ने हुन्छ । 

बच्चा जन्मेको ९ महिना र १५ महिनापछि दादुरा–रुबेला विरुद्धको खोप दिने गरिन्छ । उक्त खोप लगाएका बालबालिकाहरुलाई पनि अभियान अन्तर्गत खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । खोप लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड समेत बोक्न आग्रह गरिएको छ । 

प्रतिक्रिया