Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०५:४६

गोकुलेश्वरमा बसपार्क निर्माणका लागि शैल्यशिखर नगरपालिकाद्धारा जग्गा आह्वान

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन १५, २०८०
गोकुलेश्वरमा बसपार्क निर्माणका लागि शैल्यशिखर नगरपालिकाद्धारा जग्गा आह्वान

दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर बजार क्षेत्रमा बसपार्क निर्माणका लागि जग्गा आह्वान गरेको छ ।  

नगरपालिकाले गोकुलेश्वर बजार क्षेत्रमा बसपार्क निर्माणका लागि कम्तीमा ३ रोपनी जग्गा दिन ईच्छुक जग्गाधनीलाई सात दिनभित्र जानकारी तथा प्रस्ताव पेस गर्न आह्वान गर्दै मंगलबार सूचना जारी गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिए । 

दार्चुला जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा स्थापित गोकुलेश्वर बजारमा बसपार्क नहुदाँ सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहदैं आएको छ भने लामो समयदेखि बजारमा सवारी साधनको चाप बढेसंगै पार्किङको समस्याले गर्दा बजार अव्यवस्थित भने बनेको छ । 

बजार क्षेत्रमा सवारी पार्किङ समस्या समाधानका लागि पायक पर्ने स्थानका इच्छुक जग्गाधनीले आवस्यक कागजपत्रसहित नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

यसैबिच सोमबार बसेको नगर कार्यपालिकाको बैठकले आगामी फागुन २५ गते देखि गोकुलेश्वरमा लाग्ने ऐतिहासिक शिवरात्री मेला व्यवस्थापनका लागि वडा नम्बर ७ का अध्यक्ष पुष्पराज जोशीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको बताइएको छ ।

यस्तै नगर कार्यपालिकाको बैठकले स्वास्थ्य समस्यामा परि विगत ८ महिनादेखि चितवनस्थित सिएमसी अस्पतालमा उपचाररत शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदीश सिंह धामी राहतस्वरुप नगद २ लाख रुपैंया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारले छनोट गर्ने विशेष र समपुरक योजनाका लागि शैल्यशिखर नगरपालिकाबाट योजना सिफारिस गर्ने निर्णय गरिनुका साथै कबाडी सामाग्री लिलामी प्रक्रियाका लागि सूचना आह्वान गर्ने लगायतका निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए ।

प्रतिक्रिया