सुदूरपश्चिमका विभिन्न स्थानमा यतिखेर गौरा पर्वको रौनक चलिरहेको छ ।
गत भदौ ७ गते गौरापर्व नमनाएका दार्चुला र बैतडीका विभिन्न स्थानीय तहले गौरा पर्वको अवसरमा स्थानीय विदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, बैतडीको दोगडाकेदार गाउँपालिका लगायत स्थानीय तहले सुदूर पश्चिमेलीहरुको ठूलो पर्वका रुपमा रहेको गौरापर्वको अवसर पारेर विदा दिने निर्णय गरेका छन् ।
सोमबार एक सूचना जारी गर्दै लेकम गाउँपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा स्थानीय विदा दिने निर्णय भएको जानकारी गराएको छ । आइतबार शैल्यशिखर नगरपालिकाले विदा दिने निर्णय सार्वजनिक गरेको थियो ।
यस्तै सोमबार नै मालिकार्जुन र दोगडाकेदार गाउँपालिकाले विदा दिने निर्णय सार्वजनिक गरेका छन् ।
भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ । विभिन्न स्थानीय तहले भदौ २१ र २२ गते विदा घोषणा गरेसंगै भदौ २० गतेदेखि २३ गतेसम्म गौराको अवसरमा विदा पाइने भएको छ । २० गते श्रीकृष्ण जन्माष्टमी, २१ र २२ गते स्थानीय विदा र २३ गते शनिवार परेकोले गौराको अवसरमा लगातार चार दिन विदा पाइने भएको हो ।
दार्चुलाका विभिन्न स्थानमा हिजोबाट गौरा धुमधामका साथ सुरु भएको छ । भाद्र ७ गते गौरा पर्व नमनाएको लेकम क्षेत्रमा विरोडा भिजाएसंगै हिजोबाट गौरा सुरु भएको हो । पौराणिककालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वासको आधारमा गौरा महेश्वरको सम्झना स्वरुप गौरापर्व मनाउने गरिन्छ ।
गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न (गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर) बिरुडा भिजाएका छन् ।
गौराको दोस्रो दिन विरोडा धोएर नानी गौरा मनाइन्छ। ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको जानकारहरु बताउछन् । यस पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।
बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ ।
सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने गौरा खेलाउने र सेलाउने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने गरिन्छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धुमारी, फाग लगायतका खेलहरु पनि खेल्ने चलन छ ।
गौरा सेलाइसकेपछि पनि खेडी, घोडी र लमधोडीको नाममा विभिन्न देबीदेबताका मठमन्दिरमा मेला लाग्ने गरेको छ । गौराको अवसरमा घरभन्दा कामविशेषले टाढा रहेकाहरुसमेत घर फर्किएको र गाउँमा सास्कृतिक डेउडाको माहोल रहेकोले गाउँबस्तीमा चहलपहल बढेको छ ।
प्रतिक्रिया