त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आगामी चैत्र ५ गते स्ववियु निर्वाचनका्े मिति तय गरेको छ । नेपालको राजनीतिक परिवर्तन र विद्यार्थी आन्दोलनको गरिमा उच्च बनाउन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी स्वागतयोग्य छ । नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउनदेखि विद्यार्थी आन्दोलनको नयाँ उचाई चुम्नको लागी त्रिबि लगायत सम्पुर्ण विश्वविद्यालयले समयमा स्ववियु निर्वाचन सम्पन्न गर्नु जरुरी ठान्दछु ।
नेपालको विद्यार्थी आन्दोलनको मेरुदण्ड र अविछिन्न उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नै हो । स्ववियु राष्ट्रियताको पहरेदार, लोकतन्त्रको मेरुदण्ड राजनीतिक सवालमा बागी विचार राखेर योद्धाहरु जन्माउने कारखाना हो । तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दैगएको छ । त्रिभुवन विश्वविद्यालयका मात्र ६२ आंगिक र १,०४० सम्वन्धन प्राप्त क्याम्पस रहेका छन् । २०६५ साल पछाडी नियमित रुपमा स्ववियु निर्वाचन हुन नसक्नु सिंगो शिक्षा जगतको दुर्भाग्य हो ।
समयमा निर्वाचन नहुने र भइहालेपनि सबैतिर हुन नसक्ने रोगले स्ववियु थिलथिलो हुदै गएको छ । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को उपनियम ३८४ को खण्ड (घ) बमोजिम स्ववियुको कार्यकाल दुइ वर्ष रहने व्यवस्था छ । तर २०६५ सालदेखि हालसम्म १३ वर्ष बितिसक्दा समेत पुर्णरुपमा स्ववियु निर्वाचन हुन सकेको छैन । पछिल्लो पटक २०७३ सलमा स्ववियु निर्वाचन हुदा समेत बिबिध कारणले ३६ आंगिक सहित करिब ३०० क्याम्पसहरुमा मात्र स्ववियु निर्वाचन भएको थियो । विशेष कारणले स्ववियु निर्वाचन हुन नसकेमा एकपटक ६ महिनाका दरले बढिमा दुइपटक गरि १ वर्ष मात्र म्याद थपगर्न सकिने प्रावधान अनुसार कार्यकाल थपिएपनी २०७६ फागुन देखी त्रिविका हरेक क्याम्पस स्ववियु बिहिन बनेका छन् ।
स्ववियु निर्वाचनको प्रमुख घटक अनेरास्ववियुले केन्द्रिय पदाधिकारि बैठक राखेर स्ववियु निर्वाचनको स्वागत गर्दै मातहत कमिटीलाई आवस्यक तयारिको लागी सर्कुलर जारि गरेको छ, अरु विभिन्न विद्यार्थी संगठन पनी स्ववियु निर्वाचन प्रति एकमत देखिएका छन् । अर्को प्रमुख घटक नेपाल विद्यार्थी संघले पनि स्ववियु निर्वाचनको लागि एक्यवद्धता जनाउदै आवस्यक तयारी गर्नु पर्दछ । त्यस्कालागि त्रिबिले सबै विद्यार्थी संगठनको संयुक्त बैठक बोलाएर गम्भीरतापूर्वक छलफल गरि गरि स्ववियु निर्वाचन लाइ भयरहित वातावरणमा सम्पन्न गर्न कदम चलाउनु पर्दछ ।
हिजो आज नेपालमा विद्यार्थी आन्दोलनको र त्यसको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनकोे आवश्यकता र औचित्यता सम्वन्धि नै प्रश्न खडा गरिरहेका छन् । के साच्चै नेपालमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको हो त ? यतिबेला नेपाली विद्यर्थी आन्दोलनसामु यो गम्भिर प्रश्न खडा भएको छ । यस्को जवाफ समकालिन विद्यार्थी संगठन र तिनका नेतृत्वगणले दिन जरुरि छ ।
इतिहास साक्षि छ नेपालको राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रीक आन्दोलनको हरेक मेरुदण्डमा नेपालको विद्यार्थी आन्दोलन अग्रमोर्चामा उपस्थित थियो । राष्ट्रियताको पहरेदारको रुपमा आवाजÞ जागरण, खबरदारिताको ध्वजा विद्यार्थी अन्दोलनलेनै उठाउँदै आएको हो । विद्यार्थी आन्दोलनले सञ्चालन गरेको कालापानी मार्च, लिपुलेक मार्च, सुस्ता बजाउ अभियान त्यसैका इतिहासिक कडि हुन् ।
जनजिविकाको ज्वलन्त सवालहरुमा सबैभन्दा पहिला र सबैभन्दा अग्रमोर्चामा विधार्थी आन्दोलन देखिएको हो । आज यातायातका साधन हरुमा विद्यार्थी हरुलाई परिचयपत्रको आधारमा, ४५ प्रतिशत छुट उपलब्ध छ, त्यो विद्यार्थी आन्दोलनकै उपज हो । अतीतमा विद्यार्थी आन्दोलन गौरवशाली रहेको उपरोक्त तथ्यहरूले देखाउछ । यद्यपि वर्तमानमा पुग्दा भने बहसको संघिन मोडमा उभिएको छ ।
२००४ सालको जयतु संस्कृतम् आन्दोलन नेपाली विद्यार्थी आन्दोलन र अहिलेको स्ववियु को जग थियो । २००७ सालको राजनीतिक परिवर्तन पछि क्याम्पस, उच्चमावि र मावि हरुमा क्षात्र संघ गठन भयो । २०२० साल देखी सुरु भएको क्षात्र कार्य समितिलाई भने विद्यार्थीले पञ्चायत विरुद्ध संगठित आन्दोलन गर्न नसकुन भनेर २०२८ सालको नयाँ शिक्षा योजना सँगै बन्द गरियो ।
तर पञ्चायति व्यवस्थाको पक्षपोषण गर्ने प्राध्यापकहरुको निगरानीमा रहने गरि क्याम्पसहरूमा विद्यार्थी कल्याण शाखा गठन गरियो जस्को लागी तत्कालीन दरवारको आदेश आयो तर विद्यार्थी नेताहरूमाथि निगरानी बढायो, र पनि विद्यार्थीहरु समय अनुसारको राजनीतिक जिम्मेवारी पुरा गर्न चुकेनन् । २०३६ सालको जनमत संग्रह विद्यार्थी आन्दोलनकै जगमा भएको थियो । जनमत संग्रहपछि स्ववियुको गठन गर्न छुट दिइएको थियो, जस्ले २०४६ सालको राजनीतिक परिवर्तन सुनिश्चित गर्यो ।
त्यस अवधिको विद्यार्थी आन्दोलनले विद्यार्थी हकहित र शैक्षिक मुद्दालाई छोडेको थिएन । २०७२ सालको संविधान सम्म आईपुग्दा नेपाली विध्यार्थी आन्दोलनले आफ्ना एजेण्डाहरु संविधानमा समावेश गर्न सफलता प्राप्त गरे ।
नेपालको संविधानले नै समाजवाद उन्मुख राज्य प्रणाली को मार्ग तय गरेको छ । यस स्थितिमा नेपालको शिक्षा प्रणालीलाइ समाजवादी बाटोतर्फ अभिमुख गराउन विद्यार्थी आन्दोलनको झन बढि खाँचो छ । आज लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता नेपालका प्रमाणीत र ऐतिहासिक भुभागहरुमाथि भारतिय दादागिरी निरन्तर छ । सुस्ता लगायतका कैयौँ ठाउमा नेपाली स्वाभिमान र अस्मिता लुटिएको छ । नेपालमा रास्ट्रियताको झण्डा सबै भन्दा पहिला उठाउने जिउदो, जाग्दो र आशलाग्दो तप्का विद्यार्थी आन्दोलननै हो ।
नेपालको शिक्षा क्षेत्रमा निजिकरण, ब्यापारिकरण र माफियाकरणको जालो निकै जब्बर मात्रै छैन, डरलाग्दो समेत छ । आज विश्वविद्यालयहरु भ्रष्टाचारी र बेरोजगार उत्पादनका कारखाना बनेका छन् । विद्यार्थी आन्दोलन प्रभावशाली हुदा आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्नेहरु आन्दोलनलाई कमजोर बनाउन अनेक प्रपन्च रचिरहेका छन् । यस खालको प्रवृतिसँग सम्झौताहिन संघर्ष गर्दै डरलाग्दो, भरलाग्दो र रहरलाग्दो विधार्थी आन्दोलन निर्माण गर्नु आजको आवश्यकता हो ।
अन्तमा, मिनि संसदको रुपमा हेरिने स्ववियु निर्वाचनको अनिश्चितताले सिङ्गो विद्यार्थी संगठनहरूको भविष्यमा अन्यौलता देखिएको छ । स्ववियु विद्यार्थीहरूको साझा संस्था हो । यसको प्राप्ति पछाडि बलिदानको एउटा गर्विलो इतिहास छ । तसर्थ यसको ऐतिहासिक गरिमालाई जोगाउन पनि स्ववियुको निर्वाचनलाई मर्यादित बनाउनु अति आवश्यक छ । एउटा राज्यमा जति भूमिका सरकार र संसदको हुन्छ,त्यति भूमिका एक क्याम्पसमा स्ववियूको हुन्छ ।
विद्यार्थीको हक, हितको संरक्षण र संवर्द्धन गर्न, विद्यार्थीको बौद्धिक र चारित्रिक विकास गर्न, विद्यार्थीको अनुशासन कायम गर्न र क्याम्पसको शैक्षिक र संस्थागत विकास गर्न सत्तापक्षीय भुमिका निर्वाह गर्न र क्याम्पस प्रशासको गलत निर्णय र हेपाह प्रवृत्तिको डटेर सामना गर्दै प्रतिपक्षी भुमिका निर्वाह गर्न समेत स्ववियू आवश्यक रहेको छ ।
- लेखक अनेरास्ववियु दार्चुलाका कार्यवाहक अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया