Wide Nepal News बिहिबार २०, कार्तिक २०८२ ०६:३०

सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

सम्बाददाता सम्बाददाता
बिहिबार, कार्तिक २०, २०८२
सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
सुदूरपश्चिम प्रदेशमा ६ हजार २१२ नयाँ मतदाता थपिएका छन्। फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ। असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र ६५३ महिला गरी एक हजार ८४८ नयाँ मतदाता थपिएका छन्। यस्तै कञ्चनपुरमा पुरुष एक हजार ५३ र महिला ५४० गरी एक हजार ५९३ नयाँ मतदाता थपिएको निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए। यसै गरी डडेलधुरामा पुरुष १२६ र महिला ६५ गरी १९१, डोटीमा पुरुष १७० र महिला ७५ गरी १९१ नयाँ मतदाता थपिएका छन्। बैतडीमा पुरुष २९३ र महिला १५५ गरी ४४८, अछाममा पुरुष ४१४ र महिला २११ गरी ६२५ नयाँ मतदाता थपिएका निर्वाचन कार्यालयले जानकारी दिएको छ। यस्तै बझाङमा पुरुष ३६३ महिला १७९ गरी ५४२ जना, बाजुरामा पुरुष २१९, महिला १२२ र अन्य दुई गरी ३४३ नयाँ मतदाता थपिएका जनाइएको छ। जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ। जेनजी बलिदानपछि हुन लागेको आमनिर्वाचनका लागि जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्। मतदाता नामावली दर्ता गराउनका लागि उत्साहजनक रूपमा मान्छेहरू आइरहेको निमित्त प्रमुख भट्टले जानकारी दिए। “मतदाता नामावली दर्ता गराउनेको भिड अझै कायमै छ,” उनले भने, “हामी बेलुका ६ बजेसम्म अफिस खोल्ने गरेका छौँ।” कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य हुने छ।

प्रतिक्रिया