Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ १२:५४

जाजरकोट र रूकुम पश्चिममा भूकम्पको अपडेट: मृत्यु हुनेको संख्या १३२ पुग्यो

उद्धारका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन
सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक १८, २०८०
जाजरकोट र रूकुम पश्चिममा भूकम्पको अपडेट: मृत्यु हुनेको संख्या १३२ पुग्यो

जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ। 

शुक्रबार मध्यराति ११:४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको गएको भूकम्पका कारण १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। 

जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु र ५५ जना घाइते छन्। रूकुम पश्चिममा ३७ जनाको मृत्यु र ८५ जना घाइते छन्। 

उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

नेपाल प्रहरीका ८ सय भन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। 

नेपाल प्रहरीको तर्फबाट रूकुम पश्चिममा डिएसपीको कमान्डमा ३२० जना र जाजरकोटमा डिएसपीको कमान्डमा ४५० जनाको टोली खटिएको छ। 

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जनाको प्रहरी टोली जाजरकोटका लागि हिँडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
चौरजहारी बेस क्याम्पबाट १०-१० जनाको टोली जाजरकोट र रूकुम पश्चिमका लागि खटिएको छ। 

त्यस्तै डिआइजी डा.गोपेश ठाकुरको कमान्डमा ११ जनाको मेडिकल टोली र सेनाका लेफ्टिनेन्टको कमान्डमा ११ जनाको रेस्क्यु टोली सेनाको एमआइ-१७ हेलिकप्टरमा पौने ८ बजे जाजरकोटको लागि टेक अफ भएको थियो। 

नेपाल प्रहरीले उद्धारका लागि सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। 

जाजरकोटका लागि ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६८, ९८४८१२२५८४ र ९८५८०५४०५० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। 

यस्तै रूकुम पश्चिमका लागि ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३ र ९८५७८९०५५०

सशस्त्र प्रहरी बलले पनि विभिन्न युनिटका कर्मचारीहरूलाई उद्धारका लागि खटाएको छ। 

जाजरकोटमा मात्रै सशस्त्र प्रहरीले १५९ जना सुरक्षाकर्मीहरू खटाएको छ।  

आश्रित गुल्म जाजरकोटबाट सशस्त्र डिएसपीको कमान्डमा ७०जना टोली खटिएको प्रधान कार्यालयले जनाएको छ। 

नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा दुई प्लटून ७० जनाको टोली खटिएको हो। नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटिएको छ। 

यस्तै नं. ६ बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमान्डमा एम्बुलेन्ससहित ४ जनाको मेडिकल टोली खटिएको छ। 
आश्रित गुल्म दैलेखबाट २५ जनाको टोली पनि खटिएको छ। 

त्यसैगरी सशस्त्र प्रहरी बलले पश्चिम रूकुममा १७३ जना सुरक्षाकर्मी उद्धारका लागि खटाएको छ। नं. ४७ गुल्म पश्चिम रूकुमबाट १०७ जनाको टोली खटिएको छ।

आश्रित गुल्म पूर्वी रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ११ जनाको टोली खटिएको छ।

नेपाल एपिएफ अस्पतालबाट डा. रोशन पराजुली सहित २ जना डाक्टर तथा अन्य ६ जना मेडिकल टोली गरी जम्मा ९ जना मेडिकल सामग्री सहित खटिएको छ।

नं. २९ गण दाङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जनाको टोली खटीएको छ।  आश्रित गुल्म सल्यानबाट २५ जनाको टोली खटिएको छ। 

यस्तै नेपाली सेनाको विभिन्न युनिटको टोली पनि खटिएको छ। 

खोज तथा उद्धारको लागि एनए-०५७ एमआइ हेलिकप्टरबाट काठमाडौं-चौरजहारी ३ जना डाक्टरसहित १६ जनाको टोली खटिएको जंगी अड्डाले जनाएको छ। 

एनए-०१६०६४ स्काइ ट्रकबाट १६ जनाको टोली, एनए-०६१ बेल हेलिकप्टरबाट सुर्खेत लामिडाँडाबाट ३ जना, एनए-०३८ एमआइ हेलिकप्टरबाट २६ जना मेडिकल टिमसहित सेना परिचालन भएको सेनाले जनाएको छ। 

यस्तै काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धारको लागि स्टान्डबाइ राखिएको छ। घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा पनि डाक्टरको टोली तयारी अवस्थामा राखिएको छ।

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट जाजरकोटका ७ घाइतेको उद्धार

भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

भूकम्पको क्षति निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार बिहान जाजरकोट पुगेका थिए।

सोही हेलिकोप्टरमा जाजरकोटको नलगाडका ७ जना घाइते र उनीहरूका कुरूवालाई सुर्खेत ल्याइएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड पनि घाइतेहरूसँगै जाजरकोटबाट सोही हेलिकप्टरमा जाजरकोटबाट रूकुम पश्चिम गएका थिए।

रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने छन् भने सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने  आचार्यले बताए।

प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।

जाजरकोट भूकम्प : ‘जिल्लाका स्वास्थ्य संस्थाले थेग्ने अवस्था छैन’

शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीलेभरिएका छन् ।

मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् ।

उनका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ । नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ ।

अहिलेसम्म जिल्ला अस्पतालमा १०० जना बिरामी आएकोमा ३१ जनाको मृत्यु भएको उनले बताइन् । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीले बताइन् ।

ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । यसले गर्दा उद्धारमा समस्या भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए ।

प्रतिक्रिया