Wide Nepal News सोमबार ०३, कार्तिक २०८२ १२:४२

शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक ०२, २०८२
शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा
दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०८० असारबाट निर्माण सुरु भएको नगरपालिका भवन अन्तिम चरणमा पुगेको हो । तत्कालिन गाउँ विकास समितिको भवन भएकै ठाउँमा सुविधासम्पन्न भवन निर्माण कार्य भएको छ । एक महिनाभित्रै भवन निर्माण सकिने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिए । विष्टका अनुसार स्थानीय पुर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा कुल १० करोड १९ लाख ६४ हजार ३४२ रुपैयाँ लागतमा भवन निर्माण भइरहेको हो । दुई वर्षभित्रै निर्माण सक्ने गरी सम्झौंता भएको थियो । सम्झौंताअनुसासार निर्माण कार्य भइरहेको छ । भवनमा रङ्गरोगन लगाउने काम भइरहेको छ । भवनभित्र ¥यालिङ राख्ने तथा भवनको आगनमा सेलेट राख्ने कार्य चलिरहेको छ । निर्माण व्यवसायीले समयमै भवन निर्माण गरिरहेको छ । झ्याल ढोका फिटिङ गर्ने काम भइरहेको छ । मङ्सिरमा नयाँ कार्यालयबाट सेवा दिने गरी निर्माण व्यवसायीलाई ताकेता गरेका छौं, विष्टले भने । भवन नहुँदा नगरपालिकाले नौ वर्षदेखि भाडाका भवन प्रयोग गरि सेवा प्रवाह गरिरहेको छ । वडा तथा पालिकाको भवन भाडामै मासिक लाखौं रकम खर्च भइरहेको छ । स्थानीय तह निर्वाचनको पहिलो कार्यकाल (२०७४–२०७८) को अवधिमा नगरपालिकाको भवन निर्माण गर्न सकेन् । यो समयमा न वडा कार्यालय भवन बने, न नगरपालिकाको प्रशासकीय भवन कार्य बन्यो । २०७९ सालमा आएका जनप्रतिनिधिले प्रशासकीय भवन निर्माण पहिलो संकल्प गरेर काम अघि बढाएको नगर प्रमुख विजयसिह धामीले बताए । ‘सधैं भाडाका भवनमा बसेर लाखौं रकम खर्च गर्नुभन्दा दीर्घकालिन समयसम्म प्रयोग गर्न सकिने भन्दै प्रशासकीय भवन निर्माण प्राथमिकतामा राख्यौं । जसअनुसार मेरै कार्यकालमा प्रशासकीय भवन निर्माण भएको छ ।’ दार्चुला सदरमुकाम खलंगापछि दोस्रो बन्दै गरेको बजार गोकुलेश्वर हो । दार्चुलाको प्रवेशद्धार समेत भएको कारण यो क्षेत्रमा बजारीकरण बढ्दै गएको छ । अहिले भाडाको भवनमा कर्मचारीलाई कहाँ बसेर सेवा दिने भन्ने सकस छ । सडकमै भएको कारण कर्मचारीलाई निकै चूनौति पनि थियो । धामीका अनुसार भवन निर्माणपछि दुई वटा सुविधासपम्पन्न सभाहलसहित सुविधायुक्त कार्यालय बन्ने छ । कृषि तथा पशु शाखाको लागि अलग्गै भवन निर्माण भइसकेको छ । अरु शाखाहरुको लागि नयाँ प्रशासकीय भवन प्रयाप्त हुने धामीको भनाई छ । चार वडा कार्यालय भवन निर्माण ९ ओटा वडा रहेका नगरपालिकाका चार ओटा वडाहरुमा वडा कार्यालय भवन निर्माण भएको छ । तीन वर्षको अवधिमा वडा भवन नभएका वडा नम्बर ३, ५, ७ र ८ मा वडा कार्यालय भवन निर्माण भएको हो । पाँच वटा ओडा कार्यालयहरु साविकका गाउँ विकास भवनमा सञ्चालन भएका छन् । अहिले नगरपालिकामा निर्माण भएका चार वटा ओडा कार्यालयमध्ये तीन वटा ओडा कार्यालय भवन सञ्चालनमा आइसकेको छ । वडा नम्बर ५, ७ र ८ ले नयाँ भवनबाट सेवा सुचारु भएको नगर प्रमुख विजयसिह धामीले जानकारी दिए । वडा नम्बर ३ को भवन निर्माण पूरा भएको भए पनि कार्यालय सञ्चालनमा आउन बाकी छ । भवन नहुँदा व्यक्तिगत घर भाडामा लिएर सेवा दिनुपर्दा सेवाग्राहीलाई समेत सास्ती खेप्दै आएको अहिले आफ्नै भवन हुँदा सेवामा प्रवामा सहजता आएको वडा नम्बर ५ का वडा अध्यक्ष जनकसिह डागाले बताए । नगरभित्रका सबै वडा कार्यालयका आफ्नै कार्यालय भवन बनाउने उद्देश्यसहित काम भएको हो । जसअनुसार वडा नम्बर ९ को तत्कालिन गाविस भवनमा नगरपालिका भवन निर्माण गरिएको छ । ९ नम्बर वडा कार्यालय भवन अहिले भाडाको भवनमा सञ्चालनमा छ । यो वडालाई पनि सरकारी भवनमा सार्ने तयारी गरिएको विष्टको भनाई छ ।

प्रतिक्रिया