Wide Nepal News बिहिबार २०, बैशाख २०८१ १२:५८

बरदान माग्न खप्तड, मनमोहक तर यात्रा कठिन

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ ०९, २०८०
बरदान माग्न खप्तड, मनमोहक तर यात्रा कठिन

पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरूले तपस्या गरेको क्षेत्र हो खप्तड। खप्तडलाई ‘खेचरी’ पर्वतका रूपमा समेत वर्णन गरिएको छ। यस क्षेत्रमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरूले चौध वर्ष वनबास बस्ने क्रममा केही समय खप्तडमा बिताएको किंवदन्ती समेत छ।

खप्तडका फाँटहरूको छेउछाउमा भएका झोतीहरू दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का (झोती) बनेका हुन् भन्ने बुझाइ छ। २००२ सालमा बझांगी राजा रामजंग सिंहको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरेको र त्यसपछि खप्तडलाई देवभूमिका रूपमा रहको बताउँदै देशविदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचारप्रसार गरेपछि सो ठाउँको सुन्दरताले चर्चा पाउँदै आएको बुझिन्छ।

आँखाले नभ्याउने विशाल फाँटहरू, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीबिरंगी फूलले छपक्कै छोपेका मैदानहरू। हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगेझैं अनुभूति हुन्छ। २२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरू भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको आश्रम, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन्। यी क्षेत्र तथा स्थानहरूको आ–आफ्नै महत्व छ।

गंगादशहरा मेलाका दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, आफूले मागेको कुरा पूरा हुने बिश्वास समेत छ। प्रत्येक वर्षको एक पटक खप्तडमा गंगा दशहरा मेला र ईन्द्रजात्रा मेला लाग्ने गर्छ। जेठ/असार महिनामा गंगा दशहरा र साउन÷भदौमा खापर दहमा ठूलो मेला लाग्ने गर्छ। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। सुदूरपहाडको देउडाले रातभर मेला नै गुञ्जायमान हुन्छ।

२०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि प्रचारप्रसारका साथ खप्तडले पर्यटक तानिरहेको छ। दुई सयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बदेल, डाँफेजस्ता जंगली जनावरहरूको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरिएको हो। हाल प्रमुख सेनानी (गणपति)को नेतृत्वमा करिब तीन सय नेपाली सेनाले सुरक्षा दिइरहेका छन्।

खप्तडमा खाने, बस्ने व्यवस्था छ। तर पनि पाल, स्लिपिङ ब्याग, ड्राइ फुड, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायत न्यानो हुने कपडाहरू लैजानुपर्छ। बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डीप्लास्ट पनि बोकेर जानुपर्छ। खप्तडमा पानी पर्दा भने निकै जाडो हुन्छ। क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ। पानी पर्दा फाँटहरू एकैछिनमा जलाशयमा परिणत हुन्छन्।

प्रतिक्रिया