दार्चुलाको मालिकार्जुन गाउँपालिका ४ का बालबालिका यतिखेर जिल्लाको गोकुलेश्वर-खलंगा सडकखण्ड अन्तर्गत ऐरिछाना आसपासमा काफल बेच्दै आएका छन् । गाउँकै लटिनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सेरसिंह धामी घरमा आर्थिक अभावका कारण पढाइ खर्च जुटाउन र घरव्यवहार चलाउने खर्चको जोहो गर्न सडकछेवैमा काफल बिक्री गर्दै आएको बताउछन् ।
सेरसिंह सङ्गै सन्देश धामी र कक्षा ३ मा अध्ययनरत शान्तिको ऐरिछानास्थित घरनजिकको जङ्गलमा काफलका थुप्रै बोट छन् । हाल काफलको सिजनमा दैनिक ५ सय देखि १ हजार रुपैयाँसम्मको काफल बिक्री गर्दै आएको उनको भनाइ छ । सन्देश भन्छन्, “काफल बेचेर घर पुग्दा घरमा आमा र दिदिले काफल टिपेर राखिदिएका हुन्छन्, त्यहीँ काफल बोकेर सडकछेवैमा बस्दै ओहोरदोहोर गर्ने गाडीलाई रोकेर बिक्री गर्ने गर्छौ । सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ काफल ।”
उमेरले जम्मा ८ वर्ष मात्रै पुगेकी शान्ती अहिले गाउँको विद्यालयमा ३ कक्षामा पढ्छिन । उनी पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेचिरहेको बताउछिन । “सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन् । मैले पनि अस्तितिर यसरी नै बाटोमा काफल बेचेर कापी, कलम र झोला किनिसके ।”
यो वर्ष काफल धेरै फलेको र अहिले काफल प्रतिमाना ५० रुपियाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए । गोकुलेश्वर-खलंगा सडखण्ड अन्तर्गत ऐरिछानाका बालबालिका, महिला तथा किसान यतिखेर काफल व्यापारप्रति आकर्षित बनेका छन् । गरिबीका कारण घर खर्चको जोहो गर्न मौसमी फलका रूपमा रहेको काफलको व्यापारप्रति आकर्षित भएको उनीहरूको भनाइ छ ।
सोही ठाँउका अन्य स्थानीय समेत छिमेकीले काफल बेचेको देखेर आफूहरू पनि काफल बिक्री गर्न थालेको र दुई वर्षदेखि वर्षभरिको नुन, तेल र घरखर्च काफलको आम्दानीबाटै जोहो गर्दै आइरहेको बताउछन् । राम्रो आम्दानी हुनु र उपभोक्ताको बढ्दो रुचिका कारण काफलको व्यापार गरिब कृषकका लागि गुजाराको माध्यम बनेको उनीहरूको ठम्याइ छ ।
पहिलापहिला जंगली फल भन्दै काफललाई बेवास्ता गरिएपनि राजमार्गमा ओहोदोहोर गर्ने यात्रुले रुचाएपछि आफूहरु यस पेसातर्फ आकर्षित भएको स्थानीय बताउँछन् । किसानहरूका अनुसार प्रत्येक वर्ष चैतदेखि जेठ महिनाको पहिलो हप्तासम्म काफलको सिजन हो । सिजनको सुरुमा काफल जिल्ला सदरमुकाम सहित नजिकका बजारमा ल्याउँदा बढी आम्दानी हुने गर्दछ ।
प्रतिक्रिया