Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:५७

दार्चुलासहित देशभर मतदान सुरु, मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान

Wide Nepal News
शुक्रबार, बैशाख ३०, २०७९
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । देशभर एकै चरणमा निर्वाचन सुरु भएको हो । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दार्चुलाका सबै मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल देखिएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता बिहानबाटै लाइनमा लागेका छन् । निर्वाचन आयोगका अनुसार, स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् । दार्चुला घर भएका वर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र पूर्व सभासद लक्ष्मण दत्त जोशीले महाकाली नगरपालिका वडा नम्बर ५ मा एउटै मतदानस्थलबाट मतदान गर्दैछन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणनाका लागि दार्चुलाका सबै मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगले मतगणनास्थलमा सिसीटिभी क्यामेरा अनिवार्य गरेकाले जिल्लाका नौँ वटै मतगणना स्थलमा सिसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । महाकाली नगरपालिकाको नगरपालिकाको हलमा मतगणना गर्ने तयारी छ । व्यास गाउँपालिकाको मतगणना वडा नम्वर ४ को कार्यालयमा गरिने छ । दुहुँ गाउँपालिकामा गौरिलमाण्डौ मावि हिकिलामा मतगणना गर्ने तयारी छ । मालिकार्जुन गाउँपालिमा शंकरपुर मावि पस्तीमा मतगणना गरिनेछ । लेकम गाउँपालिकाको हुनैनाथ मावि रातामाटामा मतगणना स्थल राखेर आवश्यक व्यवस्थापन गरिएको छ । शैल्यशिखर नगरपालिमा गोकुलेश्वर बहुमुखी क्याम्पसमा मतगणना स्थल राखिएको छ । मार्मा, अपिहिमाल र नौगाड गाउँपालिकामा पनि मतगणना स्थलमा सिसीटिभी जडान र तारजाली लगाएर व्यवस्थीत बनाइएको छ । विधुत नभएको ठाउँमा जेनेरेटर र सौर्य उर्जाको व्यवस्था गरिएको छ । दार्चुलामा सात वटा गाउँपालिका र दुईवटा नगरपालिमा गरी कुल ६१ वडा छन् । ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरि ८८ हजार २८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा ११० मतदान स्थल र १३९ मतदान केन्द्र रहेका छन । सबै मतदान केन्द्रमा आवश्यक पुर्वाधार निर्माण गरेर तयारी पूरा गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदिपसिहं धामीले बताउनुभयो । सबै निर्वाचन केन्द्रबाट मतदाता परिचयपत्र समेत वितरण गरिएको छ। भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकका दुई गाउँ व्यास गाउँपालिका वडा नम्बर १ छाङरू र तिङ्करमा पनि मतदान सुरु भएको छ । छाङरूको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ र तिङ्करको मोती महिला सङ्घ आधारभूत विद्यालयको केन्द्रमा २३१ मतदाता छन्। पूर्ववर्ती सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो। नक्सामा समेटिएको भूगोलभित्र नावी, गुञ्जी र कुटी गाउँ पर्छ। राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा ६०० को हाराहारीमा जनसङ्ख्या रहेको बताइएको छ। तर यस क्षेत्रका नागरिक नेपालको मतदाता नामावलीमा नसमेटिएका कारण यो पटक निर्वाचनमा सहभागी हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृत प्रदीपसिंह धामीले बताउनुभयो । यसैगरी, मतदाताहरुले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाउने, कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने, कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने जस्ता व्यवस्थाहरु गरिएका छन । यसर्थ, स्थानीय तह सदस्य निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सबै मतदानस्थल तथा मतदानकेन्द्रहरुमा उपरोक्त अनुसारको व्यवस्था कडाईसाथ कार्यान्वयन गर्न गराउन सबै मतदान अधिकृत लगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोगले हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया