Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०५:०४

सुदूरपश्चिममा भुइँचालोको शृङ्खला, ठुलो भूकम्पको जोखिम कति?

सम्बाददाता सम्बाददाता
बुधबार, फागुन १०, २०७९
सुदूरपश्चिममा भुइँचालोको शृङ्खला, ठुलो भूकम्पको जोखिम कति?

आज दिउँसो बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।

पछिल्लोपटक नेपालको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्दो छ। बाजुरामा गएको भूकम्प नेपाल र भारतका विभिन्न ठाउँमा महसुस गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीमा पनि महसुस भएको थियो। माघ महिनामा बाजुरामा केन्द्रबिन्दु भएका दुईवटा भूकम्प मापन भएका थिए। तीमध्ये माघ १० गतेको भूकम्पको स्थानीय म्याग्निट्यूड ५.९ को थियो।

त्यसअघि कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६.६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो।

सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख गणेश चन्दले भूकम्पबाट बाजुराको हिमाली गाउँपालिकामा एउटा बालविकास केन्द्रको भवनमा क्षति पुगेको बताए। तर अन्य स्थानमा कस्तो क्षति पुग्यो भन्ने विवरण आइसकेको छैन।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले अहिलेसम्म भूकम्पको क्षतिको थप विवरण नआए पनि आफूले प्रहरीलाई चनाखो रहन र सूचनाहरू सङ्कलन गर्न निर्देशन दिएको बताए। ‘भूकम्पको केन्द्रबिन्दु बिच्छ्या भन्ने ठाउँमा रहेको कुरा आएको छ। त्यहाँ रहेको प्रहरी टोलीलाई पनि जानकारी पठाउन भनेका छौँ।’

जिल्ला प्रशासन कार्यालयस्थित विपद् सम्पर्क व्यक्ति नैन रावलले भूकम्पको धक्का सदरमुकाम मार्तडीमा पनि महसुस गरिएको बताए। उनले भने, ‘भूकम्पको धक्का महसुस गरेपछि हामी सबै कार्यालयबाट बाहिर निस्कियौँ।’ भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको बताइएको छ। गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले सातदेखि आठ वटा घरहरूमा पनि क्षति पुगेको जानकारी दिए।

आफूहरूले विस्तृत विवरण सङ्कलनको काम जारी रहेको उनले बताए। बाजुरामा गत महिना गएको भूकम्पमा केही घरहरू पूर्ण रूपमा भत्किएका र केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। भूकम्पका कारण एक जनाको मृत्यु भएको थियो। स्थानीय म्याग्निट्यूडमा ५ दशमलव ९ मापन गरिएको सो भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल र हिमाली गाउँपालिका, खप्तड क्षेत्र तथा बडिमालिका नगरपालिकामा धनजनको क्षति भएको थियो।


पश्चिम नेपालमा भूकम्पको जोखिम कति ठूलो?

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। तर उनका अनुसार बाजुराको भूकम्प ‘परकम्प नभई छुट्टै भूकम्प’ थियो।

पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ। झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो। (बीबीसीको सहयोगमा)

 

प्रतिक्रिया