Wide Nepal News बुधबार ०५, बैशाख २०८१ ००:१६

बैतडीमा मानव–वन्यजन्तुबिच द्वन्द, वासस्थान नस्ट हुँदा बस्ती छिर्दै जनावर

सम्बाददाता सम्बाददाता
शनिबार, माघ २८, २०७९
बैतडीमा मानव–वन्यजन्तुबिच द्वन्द, वासस्थान नस्ट हुँदा बस्ती छिर्दै जनावर

बैतडीमा पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ । गएको एक दशकयता जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको हो । चितुवाले मानव बस्तीमै पसेर मानवीय क्षति गर्न थालेपछि पासो थापेर चितुवा मार्ने क्रम पनि बढ्दै गएको छ । 

२०६७ साल यता चितुवाको आक्रमणबाट जिल्लामा २६ जनाले ज्यान गुमाएका डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । यही अवधिमा १३ चितुवा पासोमा परेर मरेका छन् । बिहीबार मात्रै पाटनमा एक चितुवा मृत फेला पर्यो । चितुवाको घाँटीमा घाउ भएकाले पासोमा परेर चितुवा मरेको हुन सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने ‘चितुवा पासोमा परेर मरेको हुन सक्ने र त्यसपछि कसैले खोला किनारमा फालेको हुन सक्ने अनुमान गरेका छौं । यद्यपि पोष्टमार्टम रिपोट भने आउन सकेको छैन् ।’

चितुवाको बासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेको कँडेलले बताए । चितुवा ३१ देखि ४१ वर्गकिलोमिटर क्षेत्रफलमा हिँडडुल, आहार र अन्य क्रियाकलापका लागि यताउता जाने गर्दछ । तर बैतडीमा त्यस्तो किसिमको जंगल नष्ट हुँदै गएकाले चितुवा मानववस्तीमा पस्न थालेको कँडेलले बताए ।उनले भने ‘चितुवाका लागि आवश्यक पर्ने वनजंगलको क्षेत्रफल घट्दै गएको छ । त्यसैले चितुवा मानवबस्तीमा पस्ने गरेको छ ।’

चितुवाको बासस्थान नष्ट हुँदै गएपछि मानवबस्तीमा पसेको चितुवाले पनि क्षति पुर्याउने गरेको छ । चितुवाले क्षति पुर्याउँदा पासो थापेर मार्ने क्रम बढ्दै गएको छ । अहिले सम्म मरेका अधिकांश चितुवा पासोमै मरेका पाइएको कँडेलले बताए । उनले भने ‘चितुवाबाट हुने क्षति रोक्न पासो थाप्ने गरिएको छ । यसले गर्दा पासो परेर चितुवा मर्ने गरेका छन् ।’

पासो थाप्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसक्दा पासो थापेर चितुवा मार्ने क्रम बढ्दै गएको छ । अन्नबालीमा क्षति पुर्याउने वन्यजन्तुका लागि थापेको पासोमा परेर पनि चितुवा मारिने क्रम बढ्दै गएको छ । 

चितुवा संरक्षणका लागि सामुदायिक वनहरुले पनि खासै पहल नचाल्दा चितुवा मार्ने र मर्ने क्रम बढ्दै गएको छ । चितुवा मर्दै गएपछि जंगली बँदेल लगायतका वन्यजन्तुहरुको संख्या पनि बढ्दै गएको छ । 

चितुवा संरक्षणका लागि प्रभावकारी कदम चाल्न नसके चितुवाहरु मानवबस्तीमा पस्दै जाने र उनीहरुले क्षति पुर्याउने हुँदा मारिने क्रम पनि बढ्दै जाने देखिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द कम गर्नका लागि स्थानीय सरकारहरुले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए ।  

प्रतिक्रिया