कार्तिक १८ गते (शुक्रबार) पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला आए । आसन्न संसदीय निर्वाचनलाई लक्षित गरेर एमालेको देशव्यापी चुनावी अभियानको उद्घाटन गर्न दार्चुला पुगेका ओलीले दार्चुलामा एमाले उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरे ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगडीबाट सिम्रिक एअरको हेलिकप्टर मार्फत् दार्चुला पुगेका ओलीले सदरमुकाम खलंगास्थित खुलामञ्चमा करिब आधा घण्टासम्म एमालेको विशाल आम सभालाई सम्बोधन गरेका थिए ।
आफू प्रधानमन्त्री भएका बेला ओलीले वि.सं. २०७७ साल जेठ ७ गते दार्चुलाको व्यास गाउँपालिकामा पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेयता पहिलोपटक दार्चुला पुगेका ओली त्रीदेशिय सीमानाका जोडिएको दार्चुलाको सीमा समस्या र आफूले गरेका कामबारे बढि केन्द्रित देखिन्थे ।
उनले भारतले अतिक्रमण गरेको नेपाली भूमी समेटेर नक्सा जारी गरिएको तथा मिचिएको उक्त भूमिलाई छिट्टै फिर्ता ल्याउने उल्लेख गरेका थिए । ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रको ३ सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेका थिए ।
उनले सम्बोधन गर्ने क्रममा प्रस्तुत गरेको ॐ पर्वत यतिबेला चर्चामा रहेको छ । ओलीले सभालाई सम्बोधन गर्ने क्रममा "दार्चुलालाई अहिले विश्वले चिन्ने भएको छ । कालापानी भनेपछि विश्वले दार्चुलालाई चिन्छ । दार्चुलामा चरिचरन प्रशस्त छन्, यहाँ प्रशस्त जडूबुटी रहेका छन्, यीनलाई बजारीकरण गर्नुपर्छ । भेडा र चौरी पालनको प्रशस्त सम्भावना रहेको छ । यहाँ व्यास हिमाल, ॐ हिमाल छन् । व्यास हिमालका फेदको, ॐ हिमालका फेदको छुर्पी भनेपछि नचपाउने को होला ?..... " तर्क प्रस्तुत गरेका थिए ।
ओम पर्वतको बिषयलाई लिएर ओलीले आफ्नो धारणा राखेपछि यतिबेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम तातेको छ । कतिपयले ॐ पर्वत दार्चुलामा पर्छ भन्ने बारेमा आजसम्म थाहा नभएको त कतिपयले ओम पर्वतका बारेमा ओलीको टिप्पणीलाई लिएर उनलाई उडाइरहेका छन् ।
ओलीले सम्बोधनका क्रममा उल्लेख गरेको ॐ पर्वत हाल भारतको नियन्त्रणमा रहेको छ । गूगल म्याप र विकीपेडियाले ओम पर्वत भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको देखाउने गरेको छ । उक्त क्षेत्र नेपालबाट भारतले अतिक्रमण गरेको तथा नेपाली भूभागमा पर्ने तथ्यसहित उक्त क्षेत्रहरु आफू प्रधानमन्त्री हुदाँ ओलीले नयाँ नक्सामा समेटेकाले पनि ओम पर्वत नेपालको दार्चुलामा रहेको उल्लेख गरिएको दार्चुलाका स्थानीय भरतसिंह धामी बताउछन् ।
ॐ पर्वत नेपाली भूमिमा रहेको उल्लेख गर्दै दार्चुलाका पत्रकार एवम् दार्चुला १(१) बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले पनि ॐ पर्वतअंकित तस्विर आफ्नो प्रचारप्रसार सामग्रीमा राखेर प्रचारप्रसार गरिरहेका छन् ।
ओम पर्वतबारे के भन्छन् त जानकार ? खिमानन्द जोशीले तयार पारेको यस सामग्रीलाई अध्ययन गरौं:
भारतद्धारा अतिक्रममित भूमिमा अवस्थित महत्त्वपूर्ण क्षेत्र हो ॐ पर्वत, लिपुलेक क्षेत्रमा पर्ने यो अद्भुत पर्वत नेपाल-चीन सिमा नजिकै रहेको छ । यसको उचाई ६,१९१ मीटर रहेको छ । ॐ पर्वत गुराँस हिमशृङ्खला अन्तर्गत पर्दछ । यस पर्वत रहेको ॐ आकृतिलाई पश्चिमतिर पर्ने गुन्जी गाउँवाट स्पष्ट रुपमा देख्न सकिन्छ । यो कैलाश पर्वत र आदि कैलाशका बिचमा पर्दछ ।
धार्मिक मान्यता अनुसार हिमालय क्षेत्रमा कुल ८ ठाउँमा प्राकृतिक रुपमा ॐ आकृति रहेको मानिए ता पनि हालसम्म यो पर्वत मात्रै पत्ता लागेको छ । यस पर्वतबाट ॐ को प्रतिध्वनी गुन्जिने गर्दछ ।
यो पर्वतले हिन्दु, बौद्ध एवम् जैन धर्मावलम्वीहरुका लागि विशेष धार्मिक महत्व राख्दछ। पछिल्लो समय लिपुलेकलाई नक्सामा देखाईसकेपछि ईन्डियाले ॐ पर्वतको आधा क्षेत्र समेत दाबी गरिरहेको छ । वर्षेनी कैलाश मानसरोवर यात्रामा जाने हजारौं तिर्थालुहरुले यस पर्वतको दर्शन गर्ने गर्दछ्न् । यस पर्वत बाट कैलाश मानसरोवरको दुरी लगभग ६३ किलोमीटर रहेको छ ।
सन् १९५४ देखि नै भारतीय सुरक्षाकर्मीले यस क्षेत्रमा नेपालीहरुलाई प्रवेशमा कडाई गरेको पाईन्छ । सन् १९६२ को भारत—चीन युद्धपछि ईन्डो तिब्बतयन बोर्डर पुलिस फोर्सले यस क्षेत्रमा व्यारेक बनाएर बसेपछि नेपालीहरुले प्रयोग गर्ने परम्परागत बाटो नै बन्द गरिदिएको छ । आफ्नै देशको सिमानाभित्र यति महत्त्वपूर्ण क्षेत्र भएर पनि सो क्षेत्रमा प्रवेश गर्न इन्डियाको अनुमती लिनुपर्ने र अनुमती माग्दा पनि नपाईनु दुखद कुरा हो ।
हालै नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरेर सह्रानिय कार्य गरेको छ । अब यस अति पवित्र नेपाली भूमिबाट ईन्डियन आर्मी सौहार्दपुर्ण ढङ्गबाट फिर्ता जानुपर्छ । कुटनीतिक तवरबाटै यो समस्याको समाधान हुनेछ भन्ने विश्वास छ । पवित्र आदि कैलाश एवम् ॐ पर्वत नेपालको थियो छ र रहिरहनेछ ।
हिमालय क्षेत्रमा रहेका पन्च कैलाश मध्ये मुख्य कैलाश (कैलाश मानसरोवर) चीन तिब्बतमा, आदि कैलाश नेपालको दार्चुलामा (अतिक्रमीत क्षेत्र), श्रीखण्ड कैलाश, किन्नर कैलाश र मणि महेश कैलाश भारतको हिमान्चल प्रदेशमा पर्दछन् । प्रत्येक बर्ष पन्च कैलाश यात्राका लागि लाखौं तिर्थयात्रीहरु यी पवित्र स्थलहरुमा पुग्ने गर्दछन । आदि कैलाशलाई बाबा कैलाश, शिव कैलाश, छोटा कैलाश एवम् जोलिङ्गकाङ्ग नामले पुकारिन्छ ।
भगवान शिवले देवी पार्वतीसङ्ग बिवाह गरेपछि यस क्षेत्रमा निवास गरेको र पछि परिवार वृद्धि भएपछि मुख्य कैलाश (कैलाश मानसरोवर) मा बसोबास गर्न गएको धार्मिक मान्यता यस क्षेत्रमा प्रचलित छ । आदि कैलाश अतिक्रमीत कुटी गाउँबाट १४ किलोमीटर उत्तर पुर्वमा पर्दछ।
समुद्री सतहबाट ६ हजार ३१० मीटर ऊचाईमा अवस्थित आदि कैलाशलाई कैलाश मानसरोवरकै प्रतिकृतिको रुपमा लिईन्छ । यहाँ पनि कैलाश मानसरोवर जस्तै आदि कैलाशको अग्रभागमा पार्वती कुण्ड रहेको छ । जसलाई पार्वती सरोवर पनि भन्ने गरिन्छ । यस सरोवरमा आदि कैलाशको आकृती देखिन्छ । सरोवरको किनारमा शिवपार्वतीको मन्दिर रहेको छ ।
साधु सन्तहरुले यस क्षेत्रको तिर्थयात्रा प्राचीन समय देखि नै गर्दै आए पनि सर्वसाधारण भने सन् १९६२ मा ईन्डिया-चीन युद्धपछि कैलाश मानसरोवर यात्रा बन्द भएपछी यस क्षेत्रमा जान थालेका हुन् । साधु सन्तले आदि कैलाशको महिमाबारे जानकारी दिने र आदि कैलाश यात्रा गर्न प्रेरित गरेका कारण ठूलो संख्यामा श्रद्धालु यस क्षेत्रमा पुगेको पाईन्छ ।
सन् १९९४ भन्दा पहिले के कतिले यस क्षेत्रको यात्रा गरे भन्ने तथ्यांक पाईदैन । सन् १९९४ ईन्डियाले सरकारी स्तरबाटै कुमाउँ मण्डल विकास निगम मार्फत (आदि कैलाश यात्रा) सुरु गरेपछि विगत २५ वर्षमा जम्मा ३ हजार ९५३ जना श्रद्धालुहरुले आदि कैलास यात्रा गरेका थिए ।
पछिल्लो समय भारतले मानसरोवर जाने सड्क निर्माण गर्नुको साथै उक्त क्षेत्रमा होटेल एवम् होमस्टेहरुको निर्माण भैरहेका कारण आउँदा दिनमा तिर्थयात्रीहरुको संख्यामा उल्लेख वृद्धि हुने देखिन्छ ।
प्रतिक्रिया