Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:५३

बैतडीमा गठबन्धन भत्किदा एमालेलाई सहज, आफू विजयी हुनेमा पाल आत्मविश्वासी

वि.सं. २०५४ सालमा कम्मान बहादुर पाललाई हराएका सुरेन्द्रलाई प्रदेश सभामा जीत निकाल्न कति सहज ?
सम्बाददाता सम्बाददाता
मङ्गलबार, कार्तिक १५, २०७९
बैतडीमा गठबन्धन भत्किदा एमालेलाई सहज, आफू विजयी हुनेमा पाल आत्मविश्वासी

संसदीय निर्वाचनको महासंग्राम आउन अब जम्मा १९ दिन मात्रै बाँकी छ । आगामी मंसिर ४ मा देशभर एकैसाथ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका दल र स्वतन्त्र उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा आफ्ना एजेण्डासहित मतदातामाझ मत मागिरहेका छन् । 

यस पटकको निर्वाचनमा देशभर एकातिर सत्तारुढ दलहरु नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र, एकिकृत समाजबादी लगायतका दलहरुबिच विशाल चुनावी गठबन्धन बनेको छ भने अर्कातिर नकेपा एमाले देशका केहि स्थानमा राप्रपा, जसपासित तालमेल गर्नु बाहेक अधिकांश निर्वाचन क्षेत्रमा एक्लै  प्रतिस्पर्धाको मैदानमा देखिएको छ । 

यसैबिच बैतडीमा पार्टी र जनतामाझ बलियो प्रभाव भएका जिल्लास्थित गठबन्धनका शिर्ष नेताहरु केन्द्रीय नेतृत्वले आफूहरुलाई अन्याय गरेको उल्लेख गर्दै पार्टीभित्र विद्रोह गरेर संघ तथा प्रदेशमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका छन् । उनीहरु अहिले आआफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आफ्नो पक्षमा मत मागिरहेका छन् ।  

निर्वाचन आयोगको तथ्यांक अनुसार बैतडीमा कूल १ लाख ४० हजार २ सय १ मतदाता रहेका छन् । जसमा ७० हजार ९ सय ६९ महिला, ६९ हजार २ सय ३० पुरुष र २ जना अन्य मतदाता रहेका छन् । 

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा माओवादी केन्द्रका नेता एवम् पूर्व संविधान सभा सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर) लाई टिकट दिएको थियो भने प्रदेश सभामा बैतडी १(१) बाट सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेशका नेता बिर बहादुर बिष्ट र १(२) बाट नेपाली कांग्रेश बैतडीका पूर्व जिल्ला सभापती शिवराज भट्टलाई टिकट दिएको छ । 

सत्तारुढ गठबन्धनका उम्मेदवारसित प्रतिनिधि सभामा आआफ्नो लगातार तेस्रो पटकको सफलता निकाल्ने दाउ सहित एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका एमाले उम्मेदवार दामोदर भण्डारी पनि चुनावी अभियानमा यताखेर जिल्ला दौडाहामा देखिन्छन् । प्रदेश सभामा बैतडी १(१) बाट एमाले जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर पाल पहिलोपटक तथा १(२) बाट लिलाधर भट्ट आफ्नो दोस्रो जीतका लागि चुनावी मैदानमा रहेका रहेका छन् । 

आफूहरुलाई पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेश, माओवादी केन्द्र र एकिकृत समाजवादी बिचको बाम गठबन्धनसित विद्रोह गरि बागी उम्मेदवारका रुपमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट भाग लिनेमा पूर्व राज्यमन्त्री तथा पाटन नगरपालिका पूर्व मेयर केशवबहादुर चन्द एक हुन् । उनी नेपाली कांग्रेश बैतडीका पूराना नेता हुन् भने यसपटक स्वतन्त्र उम्मेदवारी दिएका चन्द पुतली चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका छन् ।

यस्तै पार्टीले प्रदेश सभा सदस्यमा आफूलाई टिकट नदिएर अन्याय गरेको बताउदैं बैतडी १(१) बाट स्वतन्त्र उम्मेदवारी दिने नेपाली कांग्रेशका अर्का नेता हुन् हरीमोहन भण्डारी । नेपाली कांग्रेशका तर्फबाट वि.सं. २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा भण्डारी माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य) सित झिनो मतान्तरले पराजित भएका थिए । प्रदेश सभामा यसपटक बागी उम्मेदवारी दिएका उनी युवा पुस्तामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनको चुनाव चिन्ह पानीको धारा रहेको छ । यसपटक बागी उम्मेदवारी दिएका उनी आफूलाई जनमतले निर्वाचित गराउनेमा आशावादी रहेका छन् ।

सत्तारुढ गठबन्धनले बैतडीमा नेकपा (एकिकृत समाजवादी)लाई गठबन्धनमा नसमेटेपछि बैतडी १(१) बाट प्रदेश सभा निर्वाचनमा एकिकृत समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्टले पनि मित्रवत् प्रतिस्पर्धा गर्ने बताउदैं निर्वाचनमा भाग लिएका छन् । सुर्नया गाउँपालिका स्थायी घर भएका बिष्ट गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा एमालेका अम्मरबहादुर कुँवरसित जम्मा २६ मतको अन्तरले पराजित भएका थिए । 

बैतडीमा एमाले विजयी हुनेमा पाल आत्मबिश्वासी

जिल्लामा गठबन्धन भत्किदा एमाले उम्मेदवारलाई भने विजयी हुन केहि सहज हुने देखिएको छ । जिल्लास्थित गठबन्धनका नेताहहरुले पार्टीभित्र विद्रोह गरेर बागी उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएपछि उनीहरुबिच गठबन्धनका मत बाडिने तथा बैतडीबासी जनताले एमालेका उम्मेदवारलाई बहुमत दिएर जिताउनेमा आफू बिश्वस्त रहेको एमाले बैतडीका अध्यक्ष तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ का उम्मेदवार पालले बताए । 

यतिखेर पाल आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगि मतदाता भेटघाट गरिरहेका छन् । उनी आफू निर्वाचित भएपछि जनताका समस्यालाई समाधान गर्ने भरोसा मतदातामाझ व्यक्त गरिरहेका छन् । आफूलाई जनताको विश्वास र बलियो समर्थन रहेको उनको दाबी छ । बैतडी १(२) मा सत्तारुढ गठबन्धन भत्किनु, गठबन्धनबाट धेरैजना आकांक्षी देखिए पनि टिकट स्थानीय तहमा अध्यक्ष भएको समयमा चरम भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तीले टिकट पाउनु, भण्डारी लगायतका गठबन्धनका नेताले पार्टीभित्र विद्रोह गरेर बागी उम्मेदवारी दिनु, एकिकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्नु, आफू एकमात्र बलियो उम्मेदवारका रहेकाले पनि आफ्नो जीत सुनिश्चित  रहेको पालको भनाई रहेको छ । 

उनले मतदाता भेटघाटका क्रममा जनताबाट आफूप्रति सकारात्मक प्रतिक्रिया पाइरहेको तथा आफू  जनतासित निरन्तर संवादमा रहेको उल्लेख गरे । 

विक्रम संवत् २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिती अध्यक्षमा राष्ट्रिय पञ्चायत सदस्य समेत रहेका नेपाली कांग्रेशका कम्मान बहादुर पाललाई पराजित गरेपछि एमाले नेता सुरेन्द्र बहादुर पाल सबैमाझ परिचित भएका थिए ।

नेपाली कांग्रेसबाट प्रदेश सभा चुनावका लागि मैदानमा रहेका बिरबहादुर बिष्ट र एकीकृत समाजवादीका नरेन्द्र बिष्ट ५ बर्षपछि आम्नेसाम्ने भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुवै जना सुर्नया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यो बेला कांग्रेसका बिष्टले पालिका अध्यक्षमा जित हासिल गरेका थिए । एकै गाउँका दाजुभाइ समेत रहेका दुवै जना अहिले एकै पदका लागि चुनावी मैदानमा उत्रेका छन् । यसलाई संयोगका रुपमा मानिएको छ । 

बिरबहादुर बिष्ट नेपाली कांग्रेसबाट चुनावी मैदानमा रहेपनि कांग्रेसबाटै हरिमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनले बिष्टको मत काट्ने आँकलन गरिएको छ । तर बैतडी कांग्रेसले भने आफ्नो उम्मेदवार भन्दा बाहिर मत नजाने बताएको छ । यता एकीकृत समाजवादीबाट नरेन्द्र बिष्ट पनि प्रदेश सांसदका लागि चुनावी मैदानमा छन् । उनको उम्मेदवारीले पनि  गठबन्धन दलहरुलाई कमजोर बनाएको छ । 

बैतडीमा प्रदेश सभा क्षेत्र नम्बर १ बाट ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका बिरबहादुर बिष्ट, एमालेका सुरेन्द्रबहादुर पाल, एकीकृत समाजवादीका नरेन्द्र बिष्ट, राप्रपाका रणबहादुर बिष्ट, राप्रपा नेपालका कृष्णा पन्त र स्वतन्त्रबाट हरिमोहन भण्डारी चुनावी मैदानमा उत्रेका छन् ।

यद्यपी प्रतिनिधि सभामा १ तथा दुइवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा सत्तारुढ गठबन्धन, एमाले, नेकपा एस, राप्रपा वा स्वतन्त्र कसले बाजि मार्ने भन्ने जान्नका लागि भने मंसिर ४ पर्खिनै पर्छ । 

प्रतिक्रिया