Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०४:५२

भ्रष्टाचार गर्दिन, जनतामाझ गरेका बाचा इमानदारीपूर्वक पूरा गर्छु : अध्यक्ष, नौगाड गाउँपालिका

सम्बाददाता सम्बाददाता
बिहिबार, असोज ०६, २०७९
भ्रष्टाचार गर्दिन, जनतामाझ गरेका बाचा इमानदारीपूर्वक पूरा गर्छु : अध्यक्ष, नौगाड गाउँपालिका

गत बैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै दार्चुलासहित देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको १ सय २५ दिन भन्दा बढि भएको छ । 

आफूले निर्वाचित भए गाउँ, समाजमा विकास, निर्माणले कायापलट गर्ने सम्मका प्रतिबद्धताका साथ स्थानीय तह निर्वाचन जितेका जनप्रतिनिधी जिम्मेवारी सम्हालेयता विभिन्न गतिविधीमा व्यस्त देखिन्छन् । 

जनतासित समृद्धिका अनेक सपनासहित शिक्षा, स्वास्थ्य, विद्युत, सडकको बिस्तार गर्नेदेखि युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने सम्मका सपना बाडेका जनप्रतिनिधीले आफू निर्वाचित स्थानीय तहको विकासका लागि केकस्ता कामहरु गरिरहेका छन् त ?

यसै सेरोफेरोमा केन्द्रीत रहेर हामीले दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिंह धामीसित  'पाँच प्रश्न' सोधेका छौ । प्रस्तुत छ उहाँसित 'वाइड नेपाल न्युज डटकम'ले गरेका सवाल-जवाफ को सम्पादित अंश :

 

स्थानीय तहको निर्वाचनमा नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर तपाईंले कार्यभार सम्हाल्नु भएको १ सय २० दिन पूरा भएको छ । यी १ सय २० दिन केकस्ता कार्यमा व्यस्त रहनुभयो । 

स्थानीय तह निर्वाचनमा मलाई नौगाड गाउँपालिकाबासिले अध्यक्षका रूपमा निर्वाचित गरेको आज १ सय २४ दिन पूरा भयो । यसबिचमा असार मसान्तअघि दिगो रुपमा प्रभावकारी रहने किसिमले गाउँपालिकाको निति, तथा कार्यक्रम बनायौ केहिदिन अघिमात्रै १ सय दिनको समिक्षा गरेका थियौ । तत्पश्चात् तिनै कार्यक्रमहरुलाई कार्यविधि बनाएर निरन्तरता दिने क्रममा व्यस्त छौ । यसबिचमा दु:खद घटना भयो । गत भदौ २४ गते गाउँपालिकामा आएको पहिरोमा परि जनधनको क्षती भएको छ । जसमा ३ जनाले ज्यान गुमाउनुुभयो, घर भत्किए, ६९ जना उक्त पहिरोबाट प्रभावित हुनुहुन्छ । अहिले उहाँहरुकै लागि राहत सामग्रीको व्यवस्थापन गर्नतर्फ हामी केन्द्रीत भएका छौ । 

यतिखेर तपाईं आगामी पाँच बर्षका लागि नौगाड गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित हुनुभएको छ । स्थानीय तहको निर्वाचनताका उम्मेदवारका रुपमा जनतामाझ जाने क्रममा केकस्ता प्रतिबद्धताहरु लिएर जानुभएको थियो ? 

स्थानीय तह निर्वाचनका क्रममा मैले नौगाडबासि आम दाजुभाइ तथा दिदीबहिनी माझ मुख्यत ३ वटा बाचा गरेको थिए । पहिलो कुरा मूलुकले संविधान प्राप्त गरेपछि संघीय संरचनामा स्थानीय सरकार जुन छ, यो सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । जनताका पीर, मार्का, समस्या र अभावहरुलाई नजिकबाट देख्ने सरकार पनि हो । त्यसैले पनि हामीहरु कुनै पार्टी विशेषको मात्रै संकिर्णतामा नअल्झेर सबै जनताको सेवाभावका साथ काम गर्ने प्रतिबद्धता गरेको थिए । अहिले सोही कुरालाई 'फलो' गरिराखेको छु । 

अर्को कुरा नौगाड गाउँपालिकालाई सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने कुरालाई मैले पहिलो प्राथमिकतामा राखेको थिए । भ्रष्टाचार भन्ने यो शब्द जुन छ नितिगत भ्रष्टाचारका कुराहरु छन्, साच्चिकैँ भएका भ्रष्टाचारका विषयहरु छन्, यसलाई जरैदेखि निर्मूल गर्ने कुरामा मैले जोड दिएको छु । आफू भ्रष्टाचार गर्दिन, नौगाड गाउँपालिका अध्यक्षका रुपमा सपथ ग्रहण गरिरहदाँ मैले जुन सपथ लिएको छु, सोही बमोजिम काम गर्नेछु । 

यस्तै महालेखा परिक्षकको कार्यालयले नौगाड गाउँपालिकामा अघिल्लो सरकारका पालामा आएको करोडौं बेरुजुका कुराहरु हाम्रा सामु छन् । हामी कार्य सम्पादन-मुल्यांकनका आधारमा स्थानीय तहहरुलाई अंक दिने 'लीजा'को मार्किङ्गमा पनि विगतमा भएका कमी, कमजोरीलाई सुधार गर्दैं यसमा कसरी शत् प्रतिशत अंक प्राप्त गर्न सक्छौ भन्नेतर्फ केन्द्रीत छौ । 

लामो समय शिक्षण पेशामा आबद्द रहनुभयो, वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा सो पेशाबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचनमा भाग लिनुभयो, तथापी पहिलो प्रयासमा सफल हुन सक्नु भएन्, अहिले पाँच बर्षपछि जनताले तपाईलाई विश्वास गरेका छन् । यसबिचमा जनतासित बाडेका यीनै सपनाहरुलाई, यहीँ विश्वासलाई कायम तथा कार्यान्वयन गर्न सक्छु भन्ने कत्तिको लागेको छ ? 

राजनितीमा झटा बोल्छन् नेताहरु भन्ने छ जनतालाई । तथापी मैले झुटा बोल्दिन । मैले आफ्नो कार्यकालमा पूरा गर्न सकिने बाचा मात्रै गरेको छु । हो, मैले विगतमा २१ बर्ष यहीँ ठाउँका विभिन्न विद्यालयहरुमा शिक्षण पेशामा आबद्द रहे । त्यसपछी मेरा अग्रज एवम् साथीहरुले स्थानीय तह निर्वाचनमा आउनुपर्छ भन्ने सल्लाह गरेपछि यसतर्फ होमिए । उबेला परिणाम मेरो अनुकूल आएन । 

मसित जनतासंगै रहेर लामो समय काम गरेको अनुभव पनि छ । असम्भव कुराहरु केहि पनि बोलेको छैन् । आफ्नै कार्यकालमा मैले नौगाडमा कृषि, बाटोेघाटो, बिजुलीबत्ती, शिक्षा, स्वास्थको विकासका सवालमा म सचेत छु । 

विगतका सरकारहरुले पनि जनतालाई विकासका अनेक सपना त देखाए । यद्यपी आशातीत उपलब्धी आधा समेत नगरि बिदा भएका उदाहरण हाम्रा सामु विद्यमान छन् । कृषि, बाटोेघाटो, बिजुलीबत्ती, शिक्षा, स्वास्थको अवस्था ज्यू का त्यू छन् । भौगोलिक रुपमा दुर्गम स्थानीय तह मध्येको एक हो नौगाड, अहिले त संकटग्रस्त क्षेत्रको सूचिमा पनि राखिएको छ नौगाडलाई । यहाँका जनताका आवस्यकताहरु पूर्ति गर्ने सवालमा कसरी काम गर्नुहुन्छ ? 

काम गर्नलाई विधी, पद्धती र इमानदारिता हुनुपर्छ नेतृत्वमा । समाजका लागि राम्रो गर्न सकेमा आखिर जस पाउने नेतृत्वले नै हो । विगतको सरकारका पालामा फेसबूकमा मात्रै विकास भएको देखियो । वास्तविकतामा अवस्था जहाँको त्यहीँ छ ।  दुइ,चार जना कर्मचारीका रुपमा रहेका कार्यकर्ताले मात्रै पालिका कब्जा गर्ने, सरकारी दरबन्दीका कर्मचारीलाई जिम्मेवारीविहीन राख्ने परिपाटी रह्यो । सुझाव राख्ने क्रममा अनुशरण गर्नुको साटो प्रतिवादमा उत्रने कार्य भयो । अब त्यहीँ अवस्था दोहोरिने छैन् भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । नेतृत्वले इमानदारिताका साथ सुशासन कायम राख्न सकेमा विकास गर्न सकिन्छ । 

हामीले यस वर्षको निति तथा कार्यक्रममा तपाईंले माथि उठाएका विकासका पूर्वाधारका कुराहरुलाई विशेष प्राथमिकताका साथ अघि सारेका छौ । आगामी पाँच बर्षमा समृद्ध नोगाड निर्माणको सपना पुरा गर्नेमा हामी प्रतिबद्ध छौ ।

अन्त्यमा, नौगाड आफ्नो बेग्लै किसिमको संस्कृति, भाषा, भेषभुषा, पर्यटनमा पनि सम्पन्न रहेको छ । सिप्टी, दल्लेख लगायतका क्षेत्रहरु पर्यटन हबका रुपमा विकास गर्न सकिन्छ होलान् नि । यीनको प्रबद्र्धन एवम् विकास गर्नका लागि केहि योजना बनाउनु भएको छ ?

पक्कै पनि । हाम्रो यस नौगाड गाउँपालिका आफ्नो बेग्लै खालको संस्कृति, भाषा, पर्यटन लगायत सांस्कृतिक र प्राकृतिक क्षेत्रमा सम्पन्न रहेको छ । यहाँको पर्यटनको विकास गर्ने सवालमा अहिले यसका लागि भौतिक संरचना र पूर्वाधारहरु बनिसकेका छैनन् । अहिले दल्लेखमा डाइभर्सिटी पार्क निमार्णको काम भइरहेको छ । 

यो हाम्रा लागि पहिलो बर्ष भएर पनि हामीले पर्यटनमा धेरै कामहरु गर्न सकेका छैनौ । तथापी अर्को बर्षदेखि हामी यहाँको संस्कृति र पर्यटनको विकासलाई विशेष महत्वका साथ निति तथा कार्यक्रममै समावेश गरेर अघि बढाउछौं । 

यहाँ प्रत्येक नयाँ बर्षको दिन लाग्ने बिशु पर्वलाई अझ प्रबद्र्धन गर्न सकियो भने मात्रै पनि साँच्चिकै यसले महत्व राख्दछ । बिशु पर्व संगै यहाँका बाजागाजा, देउडा, छलिया नाच, फाग, सगुन, विवाहको रौनकता अझ खास छ । रुढीबादी कुराहरु छन् भने तिनलाई कसरी सम्भव हुन्छ परिस्कृत गर्दै लैजाने छौ भने हाम्रो मौलिक पहिचान बोकेका यीनै परम्पराको जगेर्ना गर्न विविध कार्यक्रमहरु गर्दै जानेछौ । 

प्रतिक्रिया