Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ ०३:१७

दार्चुलामा बाढी पहिरो प्रभावित क्षेत्रमा मेयरदेखि मन्त्री सम्मले श्रमदान गर्दै

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ २६, २०७९
दार्चुलामा बाढी पहिरो प्रभावित क्षेत्रमा मेयरदेखि मन्त्री सम्मले श्रमदान गर्दै

दार्चुलाको बाढी प्रभावित क्षेत्र लास्कुमा खोला तथा नदीको कटान रोक्न मन्त्री, सासंद, मेयर र नेताहरु खटिएर काम गरिरहेका छन् । 

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली शनिबार बेलुकी सदरमुकाम खलङ्गा पुगेको थियो । 

दार्चुला पुगेपछि मन्त्रीद्धय बडू र धामी बाढी प्रभावित क्षेत्रमा आफै खटिनुभएको छ ।

शनिबार विहानैदेखि सुरक्षाकर्मीसंगै प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीर, उपप्रमुख दुर्गा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना, नेकपा (एमाले) दार्चुलाका उपाध्यक्ष चरनसिंह बुढाथोकी, सचिव शेरसिंह धामी, अनेरास्ववियु दार्चुलाका नेताहरु, नेपाल रेडक्रसका मन्त्री दिपक अवस्थी, स्वयमसेवक युवाहरु, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय लगायतले बाढी पीडित र प्रभावितको उद्धार कार्यमा निरन्तर काम गरिरहनुभएको छ । 

उद्धार र राहत कार्यका लागि स्थानीय प्रशासनका साथै मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, मन्त्री मानबहादुर धामी लगायत नेताहरुले उच्चस्तरमा पहल गरेपछि हेलिकप्टरबाट घाइतेको उद्धारका साथै राहत सामाग्री ढुवानीको व्यवस्थापन भएको थियो । 

बाढीपहिरो प्रभावित महाकाली नगरपालिका र नौगाड गाउँपालिकाले कार्यपालिका निर्णय अनुसार खर्च गर्नेगरी बाढीपहिरो पीडितलाई राहत प्रदान गरिने जनाएका छन् ।

प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा मृतकका परिवारलाई संघ सरकारले दुई लाख र प्रदेश सरकारले एक लाख राहत रकम उपलब्ध गराउने व्यवस्था छ । 

सोहि अनुसार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरिसक्नुभएको छ । 

राहत सामाग्रीसहित दार्चुला पुग्नुभएका मन्त्री रावलले सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मृतकको परिवारलाई जनही एक लाख र बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल सरकारले दार्चुलाका बाढी पहिरो पीडितलाई आर्थिक राहत दिनेबारे अहिलेसम्म बोकेको छैन । यद्धपी नेपाल सरकारले २०७७ सालदेखि मापदण्ड बनाएर विपद्को घटनामा परि कुनै परिवारमा १ जनाको मृत्यु भएमा २ लाख राहत प्रशासन कार्यालयमार्फ प्रदान गर्ने गरेको छ । 

सोहि परिवारमा अरुको मृत्यु भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने मापदण्ड छ । तत्काल गुजाराका लागि ५ जना परिवारका लागि रू १५ हजार र ५ भन्दा बढि परिवार सदस्य भए रू २० हजार राहत सम्भव भए तत्काल उपलब्ध गराउने व्यवस्था छ । 

अर्को स्थानमा बसोबास गर्ने घर नभएको अवस्थामा सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा नया घर निर्माण गर्नु पर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरि प्रति परिवार रू १ लाख उपलब्ध गराउन सकिने व्यवस्था छ ।

राहत वितरणमा ढिलाइ हुनेगरेकोले तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गरिदिन पीडित परिवारले सरकारसंग माग गरिरहेका छन् ।

दार्चुलामा बाढी पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर ताल बनेको थियो । हिजो बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । 

त्यहाँ दुहुँ र महाकाली नगरपालिका जोड्ने झोलुंगे र मोटरेबल पक्की पुल बाढीले बगाएको छ । महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन् । त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ ।

दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ । बाढी पहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ । 

घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताउनुभयो । घाइते तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । 

महाकाली नदी थुनिएपछि जोखिममा परेका स्थानीय बासिन्दाले हिजो तत्काल उद्धार गर्न प्रशासनसँग माग राखेका थिए । नदीको कटान रोक्न पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ । खानेपानी लाइनमा बाढीपहिरोले क्षति पुर्याएपछि खलंगामा पानी आउन छोडेको छ । लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएर वा ग्रेगान बहाव भइ कटानले ठूलो बाढीको रुप लिएको हुनसक्ने अनुमान छ । 

यस्तो घटनाको पूर्वानुमान गर्न कठिन हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री बोकेर सेनाको हेलिकप्टर आएको छ ।

प्रतिक्रिया