Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ १२:१२

दार्चुलामा प्राकृतिक प्रकोप : ५ जनाको ज्यान गयो, १० अझै बेपत्ता, ४२ घरमा पूर्ण क्षती

सम्बाददाता सम्बाददाता
शनिबार, भदौ २५, २०७९
दार्चुलामा प्राकृतिक प्रकोप : ५ जनाको ज्यान गयो, १० अझै बेपत्ता, ४२ घरमा पूर्ण क्षती

दार्चुलामा गएराति आएको विध्वंसक बाढी पहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन् । 

अविरल बर्षाका कारण शुक्रबार जिल्लाका दुई स्थानमा आएको बाढी पहिरोले महाकाली नगरपालिकाका दुई र नौगाड गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गाका रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अहिलेसम्म ४२ घरमा पूर्ण क्षती भएको छ, ९ घरमा आंशिक क्षती भएको छ भने ४० घर उच्च जोखिममा रहेका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीका ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

यता पहिरोमा परेर  नौगाड–४ का  रामसिँह ठगुन्ना,  विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् ।

उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए । 

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् ।

बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

केहिबेमा राहत सामग्री बोकेर नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी (सन्तोष) हेलिकप्टर मार्फत दार्चुला आउने तयारी रहेको बताइएको छ । 

गएरातिको अविरल बर्षाका कारण महाकाली नदीमा बाढी आएको हो । दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । 

वि.सं. २०७० साल असार २ गते आएको विनाशकारी बाढीको ९ बर्षपछि हिजो आएको खलंगा क्षेत्रमा ठूलो धनजनको क्षती पुर्याएको महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन् । लास्कुखोलामा आएको बाढीले दर्जन बढी घरहरु बगाएको छ ।

बाढीको त्रासले तटिय क्षेत्रका मानिसहरु सबै रातीदेखि नै घरबाहिर निस्किएका छन् । बाढीले बंगाबगड क्षेत्रका घर र पुल बगाएको तथा उद्धार कार्य जारी रहेकोले क्षतिको एकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

नौगाड गाउँपालिका वडा नम्बर १ नागुमा चट्याङ लागेर दुई सय भेडाबाख्रा मरेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डुमुण्डुमा दुई वटा आरसीसी पुल र दुई घट्ट तथा वडा नम्बर ४ होपरीमा दुई वटा झोलुंगे पुल बाढीले बगाएको छ । नौगाडमा पहिरोमा परि केही मानिस घाइते भएका छन ।

महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धन सिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका छन् । खोजि कार्य भइरहेको स्थानीय उदय बोहराले बताए ।

यता दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

बाढी पहिरोमा परी ७ जना बेपत्ता रहेका र उद्धार तथा खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरु बगेको स्थानीयले बताएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला-टिंकर सडक अवरुद्ध भएको छ ।

दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ । नदी तटिय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखि नै घरबाहिर रहेका छन् । दार्चुलामा बर्षेनी बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षती पुर्याउदै आएको छ ।

दार्चुला घर भएका उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाँणलाई बिहानै भेटेर  उद्धार कार्यका लागि अनुरोध गरेका छन् । उद्धारका लागि पहल भइरहेको संघ, प्रदेश र स्थानीयस्तरका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

स्थानीयहरु समेत उद्धारकार्यमा खटिएका छन् । नदी, खोलाहरुले अहिलेपनि खटान गरिरहेका छन् । दार्चुलामा बाढी, पहिरोले बितण्डा मच्चाएपछि जनधनको ठूलो क्षती भएको छ ।

प्रतिक्रिया