Wide Nepal News बिहिबार १३, बैशाख २०८१ ०३:५२

दार्चुला–टिंकर सडकखण्ड निर्माण गरिरहेको नेपाली सेनाद्वारा लक्ष्य भन्दा बढी सडक निर्माण

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ १५, २०७९
दार्चुला–टिंकर सडकखण्ड निर्माण गरिरहेको नेपाली सेनाद्वारा लक्ष्य भन्दा बढी सडक निर्माण

दार्चुला–टिंकर सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । 

सेनाले आर्थिक वर्ष २०७८÷७९ मा व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको ८ दशमलव ४ किलोमिटर सडक निर्माण गरेको छ ।

गतवर्ष सेनाले ७ किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको थियो । ३ देखि ४ मिटर चौडाइको ३ किलोमिटर सडक र ४ देखि ६ मिटर चौडाइको ४ किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजनाले जनाएको छ । 

गतवर्ष लक्ष्यभन्दा बढी भौतिक प्रगति भएको व्यास गाउँपालिकाको सुन्सेरास्थित सेनाको सडक आयोजना कार्यालयले जनाएको छ ।

आठ मिटर चौडाइको ४ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको छ । ३ देखि ७ मिटर चौडाइको ४ दशमलव ४ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । चट्टानी भूभाग र भिरालो ठाउँ भएका कारण करिब डेढ किलोमिटर लामो क्षेत्रमा ३ मिटर चौडाइको ट्रयाक निर्माण गरिएको आयोजनाले जनाएको छ ।

सेनाले ट्रयाक खोलेपछि बर्खायामपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना छ । ३ मिटर चौडाइ रहेको क्षेत्रमा सडक चौडा बनाइने सेनाको दार्चुला–टिंकर सडक आयोजना प्रमुख एवं प्रमुख सेनानी हरिवहादुर बोहराले जानकारी दिए ।

गत आर्थिक वर्षदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको हो । नेपाल सरकारले २०७७ वैशाख १४ गते दार्चुला टिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । 

आर्थिक वर्ष २०७६÷७७ को अन्तिम अर्थात २०७७ असार महिनामा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा दार्चुला–टिंकर सडकको विस्तृत आयोजना प्रतिवेदन परामर्शदातामार्फत संसोधन गरिएको छ । 

उक्त वर्ष सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो ।

गत वैशाख महिनाको दोस्रो साता सेनाको हेलिकोप्टरमार्फत राप्लाको माल र दुम्लिङमा स्काइभेटर र कम्प्रेसर मेसिनहरु ढुवानी गरिएका छन् । त्यसभन्दा पहिला श्रमिकहरुबाट हातेऔजार प्रयोग गरी सडक खनिदै आएको थियो ।

तुषारपानीदेखि दुम्लिङसम्मको साढे ८ किलोमिटर लामो सडक निर्माण कार्यमा दैनिक ३ सयदेखि साढे ४ सय जनासम्म श्रमिक परिचालन गरिएको आयोजनाले जनाएको छ । सडक निर्माणमा प्रयोग गरिएका जनशक्तिमध्ये ७० प्रतिशत दार्चुलाका स्थानीय रहेका आयोजना प्रमुख बोहराले बताए।

फतङगाड, कोठधार, माल, सगनाडी, दुम्लिङ लगायतका स्थानमा श्रमिकहरुको क्याम्प राखेर सडक निर्माण गरिएको छ । ‘कोठधारदेखि सगनाडीसम्मको क्षेत्रमा सडकको चौडाइ ३ मिटर छ, यो वर्ष त्यसक्षेत्रको सडक चौडा बनाइन्छ’ नेपाली सेनाका सडक आयोजना प्रमुख बोहराले बताए ।

सडक निर्माणका लागि सुन्सेराबाट भरिया र खच्चरमार्फत पेट्रोलियम पदार्थ ढुवानी गरिएको छ । सडक निर्माण भइरहेको स्थानहरुमा स्काइभेटर र कम्प्रेसर मेसिनहरु चलाउन पेट्रोलियम पदार्थ ढुवानी गरिएको आयोजनाको भनाई छ ।

गतवर्ष सरकारले टिंकर सडक निर्माणका लागि नेपाली सेनालाई १५ करोड ८० लाख बजेट उपलब्ध गराएको थियो । सडक निर्माण आयोजनाले ९१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । 

गतवर्ष विनियोजित बजेटमध्ये १४ करोड ३८ लाख रुपैयाँ सडक निर्माणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया