Wide Nepal News शनिबार ०५, जेठ २०८१ १२:४९

३१ बर्षको अवधिमा छैठौं पटक उम्मेदवार बन्ने दाउमा बडु, 'टुरिस्ट' नेताको आरोप

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ ०५, २०७९
३१ बर्षको अवधिमा छैठौं पटक उम्मेदवार बन्ने दाउमा बडु, 'टुरिस्ट' नेताको आरोप

दार्चुला : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेपाली कांग्रेशका केन्द्रिय सदस्य समेत रहेका ६८  वर्षीय दिलेन्द्रप्रसाद बडु पुन: दार्चुलाबाट प्रतिनिधी सभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिने कसरतमा छन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा सदस्य पदका लागि मन्त्री बडुले उम्मेदवार भएमा यो उनको दार्चुलाबाट छैठौं पटकको उम्मेदवारी हुनेछ । यसअघि ५ वटा निर्वाचनमा भाग लिइसकेका बडु दुइपटकको निर्वाचनमा मात्रै सफल भएका छन् । यद्यपी आसन्न प्रतिनिधी सभाको निर्वाचनमा भाग लिने बडुको व्यक्तिगत इच्छा देखिएपनि 'कन्फर्म' भइ नसकेको स्रोतले बताएको छ । 

वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा एमाले नेता गणेशसिंह ठगुन्नासित केहि मतान्तरले पराजित भएका नेपाली कांग्रेश दार्चुलाका नेता विक्रमसिंह धामी नै पुन: दोहोरिनुपर्ने भन्दै दार्चुला कांग्रेशसित आबद्ध कतिपय  कार्यकर्ता र शुभेच्छुकले सामाजिक सन्जालमा लेखिरहेका छन्, भने कतिपयले संघीय निर्वाचनमा यसपटक भने बडू उम्मेदवार हुनुपर्ने तर्क लेखिरहेका छन् । जिल्लामा बडू र धामी पक्षधर दुबै नेताको समर्थन र बिरोधमा सामाजिक संजालतिर  'डिबेट' नै चलाइरहेका छन् ।

यता एमाले सांसद ठगुन्ना आफ्नो लगातार तेस्रो पटकको जित निकाल्ने दाउसहित दार्चुलामा एमालेभित्र निर्विकल्प उम्मेदवारका रुपमा देखिएका छन् । यो संगै दार्चुलामा अबको निर्वाचनमा कसले बाजी मार्छ त भन्नेबारे राजनितिक बजारमा अनेक अड्कलबाजी लाग्न थालेका छन् । 

बडु सर्वप्रथम विक्रम संवत् २०४८ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेशका तर्फबाट सांसद पदमा उम्मेदवारी दिएका थिए । आफू उम्मेदवार रहेको पहिलो निर्वाचनमा दार्चुलाबाट बडू निर्वाचित हुन् सफल समेत भएका थिए । त्यसयता उनी नेपाल सरकारका विभिन्न मन्त्रालयमा मन्त्रीका रुपमा काम गर्दै आएका छन् । 

राष्ट्रिय राजनितीमा 'हेभी वेट' नेताको छवि बनाएका बडु यसअघिका ५ वटा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहेकामा २ पटक मात्रै सफल भएका छन् । उनी वि.सं. २०४८ सालपछि २०५६ सालमा दार्चुलाबाट प्रतिनिधी सभामा निर्वाचित भएका छन्, भने वि.सं. २०५१, २०६४ र २०७० सालमा  सम्पन्न भएका निर्वाचनमा दार्चुलाबाटै पराजित भएका थिए । 

वि.सं. २०५१ सालपछि वि.सं. २०६४ सालमा भएको निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार लक्ष्मणदत्त जोशी र २०७० सालमा नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नासित पराजित भएपछि अहिले जिल्लामा 'बडु क्रेज' घटेको कतिपयको बुझाइ छ । 

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न लागेका बडु निर्वाचनका मुखैमा नेकपा एमाले र माओवादीको विशाल गठबन्धन बनेपछि अर्का कांग्रेश नेता विक्रमसिंह धामीलाई अघि सारेर आफू समानुपातिक तर्फ भागेको आरोप बडुलाई लाग्ने गरेको छ । हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका बडु नेपाली कांग्रेशको समानुपातिक तर्फको कोटाबाट संसद भवन छिरेका हुन् । 

अहिले सत्ता साझेदार दलहरु बिच दार्चुलासहित देशैभर गठबन्धन गरेर जाने सहमती बनेपछि बडुले प्रतिकूलतामा अरुलाई अघि सारेर अनुकूलतामा आफू अघि सर्ने चलाखी गरिरहेका दार्चुला कांग्रेशका एक नेताले आरोप लगाए । बडु वि.सं. २०४८ सालदेखि नै पटकपटक विभिन्न मन्त्रालयमा मन्त्री रहे पनि जिल्लाको लागि चित्तबुझ्दो काम नगरेको एकथरीको बुझाइ रहेको छ । 

यस्तै कांग्रेश दार्चुलाका नेता विक्रमसिंह धामी समर्थक एक समूहले बडु लामो समयदेखि दार्चुलाबाट बसाइँ सरि काठमाडौंमा बसिरहेका र उनी टुरिस्ट नेताका रुपमा निर्वाचनका समयमा मात्रै दार्चुला आउने गरेको बताउदैँ यसपटक पनि नेपाली कांग्रेशले धामीलाई नै उम्मेदवार उठाउनु पर्ने जिकिर गरिरहेका छन् । 

प्रतिनिधी सभाको निर्वाचन आगामी मसिंर ४ मा हुने भएको छ । देशैभर राजनितिक सरगर्मी बढिरहेका बेला दार्चुलामा कोको उम्मेदवार हुने ?, निर्वाचनको परिणाम कस्तो रहने दार्चुलाबासिका लागि चासोको विषय बनेको छ ।

प्रतिक्रिया