Wide Nepal News बिहिबार १५, चैत २०८० ०२:४७

प्रदीप गिरी : ढल्याे विचारको एउटा ‘विश्वविद्यालय’

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ ०५, २०७९
प्रदीप गिरी : ढल्याे विचारको एउटा ‘विश्वविद्यालय’

आफ्नो निरन्तरको अध्ययन र विद्धताले नेपाली समाजमा दार्शनिक छवि निर्माण गरेका नेपाली कांग्रेसका नेता प्रदीप गिरी कम्युनिष्टका समेत विचारक मानिन्थे । 

दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरी अब सधैँका लागि अस्ताएका छन् । तर नेपाली राजनीतिमा उनले छोडेका केही असामान्य यादहरुले भने उनलाई सम्झाइरहनेछन् ।

राजनीतिज्ञको मात्र होइन, नेपाली जनतामाझ प्रिय थिए । विचार र सिद्धान्तको विश्वविद्यालय नै हुन् गिरी ।

उनै नेता गिरी ७५ वर्षको उमेरमा हामी सबैलाई छोडेर गएका छन् । काँग्रेस प्रमुख सचेतक मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि गरेका छन् । शनिबार राति ९ बजेर ३० मिनेटमा गिरीको निधन भएको हो ।

नेपाली कांग्रेसका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । आजै गिरीको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली काँग्रेसले सचेतक विश्वकर्माले बताए । घाँटीमा घाउ भएपछि भारतमा पुगेर गिरीले घाँटीको सफल शल्यक्रिया गरेका थिए । शल्यक्रिया सफल भएपछि नेपाल आएका गिरीलाई घरमै निमोनियाले समात्यो । निमोनियाले समातेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरियो ।

प्रतिनिधिसभा सदस्य गिरीको दुई साताको उपचारपछि मेडिसिटी अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । नेता गिरी मूलतः विचारक थिए । सिद्धान्तमा अडिग थिए । उनी कम्युनिष्टलाई समेत समाजवादी चिन्तन पढाउन सक्ने थिए । उनको निधनले विचारको विश्वविद्यालय ढलेको अनुभूति भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ट्विटरमार्फत भनेकी छन्, ‘गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ ।’

शेरबहादुर देउवाले काँग्रेस नेता प्रदीप गिरीको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले नेपाली राजनीतिका समाजवादी चिन्तक गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस नेता प्रदीप गिरीको निधनबाट मर्माहत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीको निधनले स्तब्ध भएको बताएका छन् । उनले गिरीरिको निधनले नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको बताए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरीको निधनले नयाँ समाजवादी धारमा क्षति पुगेको बताउँछन् । उनी भन्छन्, ‘नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’

प्रदीप गिरी मार्क्सवादी अध्येता थिए । अहिलेको समाजवादी आन्दोलनका उच्च व्यक्ति थिए । बौद्धिकता, राजनीतिक सक्रियता र प्रतिबद्धतालाई एकैठाउँमा राखेर हेर्दा प्रदीप गिरी कद उच्च थियो । कहिल्यै सत्ताप्रति मोह नराख्ने, मनमौजी र समाजवादी आन्दोलनप्रति प्रतिबद्ध रहेका गिरीको निधनले समाजवादी आन्दोलनमा ठेस लागेको अनुभूति सबै नेताहरूमा भइरहेको छ ।

अथक योद्धा र महान् गुरु गुमाएको अनुभूति कम्युनिष्ट तथा काँग्रेस नेताहरूलाई भइरहेको छ । सिराहामा २००४ मा जन्मिएका गिरी स्वार्थ, सम्पत्ति, शक्तिको प्रलोभनमा कहिल्यै परेनन् । कहिल्यै उनलाई सत्ताको भोकले छोएन । सदैव बोले, लेखे र चिन्तन गरे, सबैलाई पाठ पढाए । आज उनको निधनले एउटा विश्वविद्यालय ढलेको अनुभूति नेताहरूलाई भइरहेको छ ।

२०२४ सालमै छात्र संघका उपाध्यक्ष निर्वाचित गिरीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । बहुदल आएपछि गिरि पटक-पटक सांसद भएका छन् । २०५१ मा उनी पहिलो पटक सांसद भएका हुन् । सिराहा-५ बाट निर्वाचित भएका गिरी त्यो बेला नै पहिलो पटक सांसद भएका हुन् ।

२०५६ मा उनी सिराहा ५ बाटै पराजित भए । २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा सिरहा-१ बाट सांसद निर्वाचित भएका थिए गिरी । उनी पटकपटक सांसद भए पनि कहिल्यै मन्त्री बनेनन्, उनी मन्त्रीको लालसामा लिप्त भएनन् ।

०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरीलाई जिताउन सिरहा पुगेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुला सभामै भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म उहाँलाई शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।’

तर, चुनाव नै हारेपछि गिरीको अनौठो प्रतिक्रिया चर्चित भएको थियो । त्यो बेला गिरीले भनेका थिए– ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो, म किसुनजीको आग्रह टार्न सक्दिनथेँ । तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाट मुक्त गरिदिए ।’

उनी भन्थे– ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफु सकिने डर हुन्छ ।’

चार पटक सम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए । तर, स्वीकारेनन् । खास उनी मन्त्री बन्नबाट भाग्नुको कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ ।

नेता गिरीसँग लामो सहकार्य र संवाद गरेका वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा नेता गिरी सत्ताको लोभ नगर्ने नेता हुन् । उसो त 'राजनीति' गिरीको प्राथमिक रुचि नै होइन ।

'प्रदीप दाइको प्राथमिक रुचि साहित्य हो । त्यसपछि उहाँको झुकाव अध्यात्ममा थियो । राजनीति त उहाँको तेस्रो रुचि हो,' गिरीसँगको वार्ताबारे नेपालले केही साताअघि लेखेका छन्- उहाँको चर्चा राजनीतिकै कारण बढी हुने गर्छ। राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर, प्रदीप दाइमा मैले सत्ताको लोभ देखेको छैन। त्यसबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्छ।'

२०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरी गएको मङ्सिरमा सम्पन्न  १४औँ महाधिवेशनमा बिरामीको कारणले सहभागी हुन् सकेनन् । 

प्रतिक्रिया