Wide Nepal News आइतबार २३, भदौ २०८१ ०८:४९

कहिले खुल्लान् फिल्म हल?

Wide Nepal News
शुक्रबार, असोज ०९, २०७७
झन्डै ६ महिना लामो अवरोधपछि जीवन सामान्य लयमा फर्किंदैछ। सार्वजनिक क्षेत्र पुनः सञ्चालनमा आउन थालेपछि बजारमा चहलपहल सुरू भएको छ। धेरैजसो व्यवसाय चलमलाउँदा पनि फिल्म क्षेत्र अझै 'फ्रिज' छ। विगत ६ महिनादेखि फिल्म क्षेत्रमा लकडाउन जारी छ भन्दा फरक नपर्ला। यसले फिल्म हल र सिनेमा छायांकनका काम कहिलेदेखि फेरि सुरू होला भन्ने साझा जिज्ञासा र चिन्ता बढाएको छ। अहिलेकै अवस्थामा फिल्म क्षेत्रका गतिविधि पुरानै रूपमा चल्न अझै केही समय लाग्ने सरोकारवालाहरू बताउँछन्। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार अन्य व्यवसाय र फिल्म क्षेत्र चल्ने कुरा उस्तै होइन। फिल्म क्षेत्र सुरू गर्न निर्माता संघ, प्राविधिक संघदेखि चलचित्र संघ समेत तयार हुनपर्छ। अन्य क्षेत्र खुलिसके। फिल्म क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो, उनी भन्छन्। सरकारी मापदण्ड अनुरूप चल्नुपर्ने भएकाले फिल्म क्षेत्रको रमझम फेरि कहिलेदेखि सुरू होला भन्ने चाहिँ यकिन गर्न सक्ने स्थिति बनिनसकेको उनी बताउँछन्। चलचित्र विकास बोर्ड, सम्बन्धित निकाय र संघहरूबीच आन्तरिक फिल्म प्रदर्शनका लागि हल चलाउने विषयमा पटकपटक बैठक हुँदै आएको छ। उनीहरू हल सञ्चालनदेखि सुटिङका लागि अनुमति दिन सहमतिमा पुगेका छन्। यो सहमतिप्रति आन्तरिक सल्लाहमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेल पनि सकारात्मक रहेको दाहाल बताउँछन्। चलचित्र संघका महासचिव अशोक शर्मा भने सरकारी तहबाट अनुमति दिन ढिला भइरहेको संस्थागत गुनासो पोख्छन्। हल सञ्चालन तथा वितरकको साझा संस्था चलचित्र संघका महासचिव शर्मा भन्छन्, 'फिल्म हलमा भन्दा बढी मान्छेको चहलपहल हुने ठाउँ खुलिसके। अनि हल नखोल्नु कुनै औचित्य देखिन्न। हल सञ्चालनमा किन रोक लगाइरहेको भन्नेमा सरकारी नीति नै अस्पष्ट लाग्छ।' मान्छेको भिडभाडै हुने धेरै ठाउँको निषेध फुकुवा भए पनि फिल्म क्षेत्र ठप्प रहँदा यसमा आवद्ध कलाकार, व्यवसायी, कामदार मारमा परेका छन्। प्राविधिकदेखि हल व्यवसायसँग जोडिने अन्य व्यवसाय पनि धरापमा परेको उनीहरूको भनाइ छ। नेपालमा हाल १ सय ९३ वटा स्क्रिन चालु अवस्थामा रहेको शर्मा बताउँछन्। करिब ३० 'क्युएफएक्स' स्क्रिनमध्ये काठमाडौंमा १५ वटा सञ्चालनमा छन्। प्रायः हलले भाडा तिर्न लाखौं रकम खर्चिनु पर्छ। क्युएफएक्स सञ्चालक भास्कर ढुंगानाका अनुसार ६ महिनामा मात्रै हल व्यवसायीले करोडौं नोक्सान बेहोर्नुपरेको छ। 'हल नखुल्दा नहुँदा व्यावसायीसँगै सरसफाइ कर्मचारीदेखि हल बाहिरका खाद्यान्न व्यापार गर्ने सबैको उठिबास लाग्ने समय आइसक्यो। अब पनि सञ्चालन नभए फिल्म क्षेत्र उँभो लाग्न निकै समय लाग्ने निश्चित छ।' ढुंगानालाई सार्वजनिक क्षेत्र खोल्ने कुरामा नेपाल, भारतको अभ्यासबाट प्रभावित हो कि झैं लाग्छ। फिल्म हलका लागि पनि नेपालले भारतकै निर्णय कुरेजस्तो देखिएको टिप्पणी गर्छन्। 'भारतमा हल सञ्चालन भएपछि नेपालमा पनि अनुमति दिने हो कि 'उनले भने। स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छन्। उनीहरू स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालनको अनुमति दिन सरकारसँग अनुरोध गरिरहेका छन्। चलचित्र स‌ंघका महासचिव शर्मा भन्छन्, 'अनुमति जारी हुनेबित्तिकै हलहरू खुल्नेछन्। अहिले नै सुरू गरे पनि ह्वात्तै दर्शक नआउन सक्छन्। विस्तारै हल सुरक्षित छ भन्ने सन्देश जान पनि खोल्नु जरूरी छ। अब पनि नखोले लाखौं भाडा तिर्नुपर्ने हल बन्द हुन बेर लाग्दैन। यसले हजारौं जनशक्तिलाई थप मर्कामा पार्नेछ।' हल सञ्चालनमा लागिरहेको रोकसम्बन्धी मात्र होइन, फिल्म छायांकनको रोकप्रति पनि उनी असन्तुष्टि व्यक्त गर्छन्। पहिलो चरणको लकडाउनपछि थुप्रै म्युजिक भिडिओ छायांकन भए। यसका लागि सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर अनुमति दिएको थियो। उता क्युएफएक्स सञ्चालक ढुंगाना पनि विश्व स्वास्थ्य संगठन र दक्षिण एसियाली मुलुकले अपनाएका मापदण्ड अनुसार ५० प्रतिशत मात्र दर्शक राखेर फिल्म देखाउन आतुर रहेको बताउँछन्। मास्क अनिवार्य लगाउने र प्रत्येक 'शो' पछि हललाई किटाणुरहित बनाउने जस्ता सुरक्षित अभ्यास गरेर खोल्ने सकिने उनको भनाइ छ। म्युजिक भिडिओ र फिल्म छायांकनमा जाने 'क्रुु' संख्यामा धेरै ठूलो अन्तर हुँदैन। त्यसैले म्युजिक भिडिओ छायांकन गर्न मिल्ने तर फिल्म नमिल्ने कुरा व्यवहारिक नभएको भन्दै केहीले सरकारको आलोचना गरिरहेका छन्। लकडाउनपछि फिल्म क्षेत्र चलायमान राख्न केही निर्माताले डिजिटल माध्यमबाट फिल्म प्रदर्शन गर्ने प्रयास पनि गरे। तर आर्थिक हिसाबले लगानीमा घाटा हुने जोखिम रहेको भन्दै यो बहस धेरै अघि बढ्न सकेन। यो अवधिमा केही सानो ब्यानरका फिल्म अनलाइनबाट सार्वजनिक भए पनि ठूला ब्यानर र प्रोडक्सन हाउसका फिल्म अझै हलकै प्रतिक्षामा छन्। फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार हाल छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेका फिल्म ४० भन्दा बढी छन्। छायांकन क्रम रोकिएका र छायांकनमा जान नपाएका फिल्म ५० हाराहारी छन्। यी थन्केर बसेका फिल्म कहिले हलमा पुग्लान् तरु ठ्याक्कै मिति कसैलाई थाहा छैन। फिल्म व्यवसायीका लागि दसैंतिहार राम्रो समय हो। निर्माता संघ र चलचित्र संघ दसैंसम्म हल सञ्चालनमा आए आर्थिक हिसाबले नयाँ ऊर्जा बढ्ने सोचले पहल गरिरहेका छन्। पहलका बावजुद दसैंमा हल खुलिहाल्ने सम्भावना टरिरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव, प्रवक्ता तथा चलचित्र बोर्डका सदस्य समेत रहेका महेन्द्र प्रसाद साँखी हल चाँडै सञ्चालनमा आउने कुरामा आशावादी रहेको बताउँछन्। तर यो पटकको दसैं चाहिँ फिल्म क्षेत्रका लागि शून्य नै हुने बताउँछन्। 'परिस्थिति अनुकूल रहेमा दसैंपछि हल खुल्न सक्छ,' उनले भने।

प्रतिक्रिया