Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१४

शैल्यशिखरका माहुरीपालक भट्ट मह बेचेरै लखपति

Wide Nepal News
सोमबार, फागुन ०३, २०७७
गोकुलेश्वर : तपाईको घरमा कति घार माहुरी छन ? एक घार, तीन घार, पाँच घार वा छदै छैनन् ? दार्चुलाका एकजना  किसानको घरमा १५० घार माहुरी छन भन्दा अधिकांसलाई पत्याउन गाह्रो हुन सक्छ । तर जिल्लाको शैल्यशिखर नगरपालिका, ०३ ओशपलेकका किसान मनिराज भट्टको घरमा १५० घार माहुरी रहेका छन । प्रति घारबाट बर्सेनि १० देखि १५ किलोग्रामका दरले आफ्ना सबै घारबाट वार्षिक सात क्विन्टल भन्दा बढी मह उत्पादन हुने गरेको किसान मनिराज भट्ट बताउँछन् । भट्टका अनुसार उनको आम्दानीको श्रोत नै यिनैले उत्पादन गरेको मह हुने गरेको छ । मह बेचेर उनले वार्षिक ८ देखि १० लाख सम्म आम्दानी गर्ने गरेका छन । "आफ्नो परिवारका लागि १ घारबाट उत्पादन भएको मह प्रशस्त हुने भएकाले बाकी घारबाट उत्पादन हुने मह बेच्नुपर्छ ।" भट्ट भन्छन, " सबै घारबाट उत्पादन हुने करिब ८ सय केजी मह बेच्छु र परिवारको खर्च चलाउछु।" सडकदेखि झन्डै ३ घन्टा उकालो हिडेर ओशपलेक पुगिन्छ । गाउँको बिचमा उनको दुईतले घर छ । घरको चारैतिर माहुरीका परम्परागत र आधुनिक घारहरू रहेका छन । दिनमा माहुरीहरू आउनेजाने क्रम चलिरहेको हुन्छ । कानमा माहुरीको भुनुनु..... आवाज घन्किरहन्छ । आफुलाई मह बेच्न थालेको १० बर्ष बितिसकेको किसान भट्टले हामीलाई सुनाए । मह बेचेको पैसा जम्मा गरेर उनले घरखर्च चलाउनछन । साथै यहिँ पेशा बाट उनले कंचनपुरको झलारीमा ३ कट्टा जमीन समेत जोडेका छन । यसैबाट आफ्ना छोराछोरीलाई समेत स्तरीय विद्यालयमा पढाउन सकेको उनको भनाइ रहेका छ । आफुलाई शुरु देखि नै माहुरी फापेको बताउदैं यहिँ पेशाबाट आफुले गुणस्तरीय जीवन निर्वाह गरिरहेको कुरा उनले सुनाए । उनी माहुरीको हेरचाहमा दिनभर जसो व्यस्त रहन्छन । माहुरीको हेरचाहमा दिनभर जसो व्यस्त देखिने उनले केहि वर्षयता तरकारी खेतीमा पनि रुचि देखाएका छन । साथै आफू बाख्रापालन पनि गरिरहेको मनिराजले हामीलाई बताए । माहुरी पालनका लागि थप प्राविधिक र विषयगत ज्ञान, सिप लिनका लागि दार्चुला देखि काठमाडौसम्म दर्जनौं तालिम लिइसकेका उनी विभिन्न पुरस्कारबाट समेत सम्मानित भइसकेका छन । यद्यपि प्रयाप्त स्रोतसाधनको अभाव र बजारभाउको अभावले सोचेजस्तो प्रगति गर्न नसकिएको उनको दुखेसो छ । अझैपनी घार थपेर माहुरीको संख्या बढाउने उनको इच्छा छ । एकदशक देखि गरिरहेको कामलाई अबका दिनमा पनि निरन्तरता दिने अठोट रहेको रहेको उनि बताउछन । मनिराज र उनीजस्ता उद्यमीहरू समाजका उदाहरणीय पात्र हुन । उनले समाजमा सकारात्मक उर्जा र सन्देश दिइरहेका छन । आफ्नै नियमित परिश्रमले समाजमा आफुलाई स्थापित गरिरहेका मनिराज र उनीजस्ता नचिनिएका किसानलाई राज्यसंयन्त्रले उचित सम्मान दिनु आजको आवस्यकता देखिन्छ ।

प्रतिक्रिया