Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४३

हजारौं विद्यार्थीको सपना र भविष्य बुन्दै 'गास्क'

Wide Nepal News
सोमबार, फागुन १७, २०७७
गोकुलेश्वर : गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज विगत एक दशकदेखि हजारौं विद्यार्थीहरूको सपना र भविष्यसित जोडिएको कलेजको रूपमा मानिन्छ । जहाँ देशभरबाट बर्सेनि ४ दर्जन बढी विद्यार्थीहरू कृषि विषय अध्ययनका लागी आउने गरेका छन । छोटकरीमा (GAASC) को नामले परिचीत बैतडीको डिलासैनी गाउँपालिका ५, सेटिगाउँमा अवस्थित यस कलेजको स्थापना विक्रम संवत २०६७ सालमा भएको हो । कृषि र पशु विषयसङ्ग सम्बन्धित रहेर स्नातक तहको पठनपाठन हुने यस कलेजमा हाल चार फरकफरक सत्रान्तमा करिब १ सय ६२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन भने फरकफरक ब्याचका झण्डै २८० जना विद्यार्थीहरू कलेजबाट उत्तीर्ण भइ निस्किसकेको तथ्यांक कलेजसित रहेको छ । एक दशक लामो शैक्षिक इतिहास बोकेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको स्थापना गोकुलेश्वर क्षेत्रका शिक्षासेवीहरूको संलग्नतामा स्थापना गरिएको कलेज प्रशासनले बताएको छ । कलेज प्रशासनका अनुसार नेपाल कृषि प्रधान देश भनिए पनी दक्ष कृषि प्राविधिकहरू प्रयाप्त मात्रामा उपलब्ध नहुँदा कृषिमा परम्परागत शैली र साधनको प्रयोगले सोचेजस्तो उपलब्धि हुन नसकेको अवस्था थियो । नेपालमा कृषि प्राविधिक उत्पादन गर्ने खासै कलेजहरू पनि नभएकाले यसको आवस्यकता बोध गर्दै यस कलेजको स्थापना गरिएको हो । हाल कलेज प्रमुख समेत रहेका प्रमानन्द जोशीको नेतृत्व र नवराज पाण्डेयको अध्यक्षतामा संगठित टिमले उक्त कलेजको स्थापना गरेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका प्रशासन सहायक तथा संस्थापक सदस्य नरबहादुर मालले जानकारी गराए । "कृषि विषय अध्ययन गर्न अहिलेसम्म नेपालका लगभग सबै जिल्लाबाट विद्यार्थीहरू आएका छन । नेपालका धेरै कम जिल्लामा एग्रीकल्चर पढाइ हुने कलेज रहेका छन । शुरूमा चितवन, काठमाडौ, बैतडी, लमजुङ लगायतका सिमित जिल्लाहरूमा मात्रै यसको पढाइ हुन्थ्यो ।" उनले भने । उत्कृष्ट हावापानी, कृषि र पशुसम्बन्धि प्रयोगात्मक कक्षाका लागि प्रयाप्त मात्रामा आफ्नै खेतबारी रहेको बताउदै कृषि तथा पशुपालन क्षेत्रलाई प्रविधिमत्री बनाउदै विद्यार्थीको सुविधाको लागि कलेजले माछापालन, बाख्रापालन, कुखुरापालन, भैसीपालन लगायतको क्षेत्रमा काम गरिराखेको र निपुण प्राध्यापकहरूबाट पठनपाठन गरिने भएकाले पनि धेरैजसो विद्यार्थीहरूको रोजाइमा गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज पर्ने गरेको उनको जिकिर रहेको छ । उनले तत्कालीन गोकुलेश्वर गाउँ विकास समिति र डिलासैनी गाउँ विकास समितिका स्थानीय, बुद्धिजीवी, शिक्षासेवी, कर्मचारी र बैतडीका तत्कालीन जनप्रतिनिधिहरूको पहलमा स्थापित कृषि विषय अध्ययन हुने उक्त कलेज त्रिभुवन विश्वविद्यालयसित सम्बन्धन रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र सामुदायिक कलेज भएको बताए । मोफसलमा कृषि कलेजको स्थापनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यहाँका किसानहरूले समेत लाभ लिइरहेको कलेज प्रशासनले बिश्वास व्यक्त गरेको छ । गोकुलेश्वरमा व्यावसायिक रूपमा बाख्रापालन, माछापालन र कुखुरापालनको सर्वप्रथम आफुहरूले शुरूवात गरेको बताउदैँ अझैपनी यहाँको कृषि पेशालाई प्रविधिमैत्री बनाउन हरेक वर्ष किसानहरूसित अन्तरक्रियात्मक गोष्ठी गर्ने गरेको र कृषिमा उत्कृष्ट काम गर्ने स्थानीय किसानहरूलाई पुरस्कृत समेत गर्ने गरेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका कलेज प्रमुख प्रमानन्द जोशीले जानकारी दिए । हाल कलेजसित टाढाबाट अध्ययनका लागि आउने छात्रछात्राहरूका लागि अलगअलग पक्की छात्रावास रहेका छन भने कर्मचारीहरूका लागि समेत अलग्गै आवास गृह रहेको छ । यस्तै प्रशासन भवन र अध्ययनरअध्यापन भवन गरि ६ वटा संरचना रहेको र नयाँ संरचनाहरू बन्ने क्रम जारी रहेको कलेज प्रशासनले बताएको छ । उत्कृष्ट हावापानी, गुणस्तरीय शिक्षा, प्रयोगात्मक कक्षाहरूका लागि आफुहरूसित प्रयाप्त मात्रामा ल्याब, गार्डेन र आवस्यक स्रोतसाधनहरू रहेकाले पनि उक्त कलेज कृषि अध्ययन गर्न चाहने नेपालका धेरैजसो जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने गरेको कलेजका संस्थापक सदस्य मालको ठहर छ । उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरू पनि पढाइका साथै बाकी समयमा च्याउखेती, कुखुरापालन लगायतका सिर्जनशील काम गर्दै आएका छन । सोही कलेजमा पाचौं सत्रान्तमा अध्ययनरत प्रसाद बोहारा र उनका साथीहरू कृष्ण ठगुन्ना, रमेश चन्द, गायत्री मलासी, नरेन्द्र दाहाल, उमेशप्रशाद जोशी, हर्क बागको समूह मिलेर गत महिनामा मात्रै ६० हजार मुल्य बराबरको च्याउ उत्पादन गरेर बिक्री गरेको प्रसादले हामीलाई बताए । उनले भने, "पढाइसङ्गै आफुहरूको विषय कृषिमा आधारित भएकाले पढेको कुरालाई व्यवहारमा उतार्नका लागि यो हिउँदमा हामी केहि साथीहरू मिलेर च्याउ खेती गर्‍यौ, उत्पादन भएको च्याउलाई बजार र गाउँघरमा बेच्यौ । जसबाट केहि आम्दानी समेत भयो । कलेजमा पढ्ने अरूहरूले पनि यस्तै कृषिसित सम्बन्धित रहेर कामहरू गरिरहेका छन ।" यसैबीच गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका २ जना छात्राहरू चितवनकि कविता सुवेदी र हुम्लाकि रिता भण्डारीले यसअघि फरकफरक सत्रान्तमा देशभर मै उत्कृष्ट नतिजा लिइ नेपाल टप गरिसकेका छन । लगनशील विद्यार्थी र दक्ष प्राध्यापकहरूको बिचको सहकार्यले कलेजको गुणस्तरीयता मजबुत बनेको बताउदै विद्यार्थी, अभिभावक र कर्मचारीको त्रिपक्षीय सम्बन्धले नै अगाडि बढ्न सम्भव रहेको मालको तर्क रहेको छ । अबका दिनमा पनि विगतका कमीकमजोरीलाई सुधार गर्दै शिक्षाको क्षेत्रमा थप गुणस्तरीयता दिदैँ जाने कुरामा कलेज विश्वस्त देखिन्छ । हाल कलेजसित पूर्णकालिन, संस्थागत स्थायी र करार समेत गरि ३१ जना कर्मचारीहरू रहेका छन । अहिले कलेजमा दोस्रो, तेस्रो , पाचौं र सातौं सत्रान्तको अध्ययन संचालन भइरहेको छ । १ दशक लामो शैक्षिक इतिहास बोकेको यस कलेजका संस्थापक अध्यक्ष नवराज पाण्डेय रहेपनी हाल कलेज संचालन समितिको अध्यक्षमा सन्तोषप्रकाश जोशी रहेको कलेज प्रशासनले बताएको छ । वर्षेनि दक्ष कृषि प्राविधिक उत्पादन गरिरहेको यस गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजको उद्घाटन तत्कालीन समयमा पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन ।

प्रतिक्रिया