Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५६

शैल्यशिखरमा पनि महिला सशक्तीकरणको आवश्यकता

Wide Nepal News
सोमबार, फागुन १७, २०७७
महिलालाई स्रोतसाधनमा पहुँच तथा क्षमता अभिवृद्धि गराउनु नै महिला सशक्तीकरण हो । महिला विरुद्धका सबै विभेद र हिंसाको अन्त्य गरि महिलाको हक तथा अधिकारको सुरक्षा र प्रबर्द्धनका लागि राज्यले अधिकारमा आधारित विकास अवधारणाको अवमूल्यन गरि नितिगत, कानुनी र संस्थागत सुधारका साथै महिला विकासका कार्यक्रमहरू संचालन गरि, विभेदकारी कानुन हटाइ हरेक क्षेत्रमा महिलालाई सहभागिता गराइ महिलाहरूमा रहेको अन्तरनिहित क्षमतालाई वृद्धि गर्नु नै महिला सशक्तीकरण हो ।
महिला सशक्तीकरणलाई विश्वभरिमा एउटा चर्चाको बिषय बनाइएको छ । यसै कुरालाई मध्यनजर गर्दै हाम्रो यस दार्चुलाको शैल्यशिखर नगरपालिका अन्तर्गतका महिलाहरूको अवस्था हेर्दा नगरपालिकाको कुल जनसंख्या २२ हजार ४ सय ६० रहेकोमा १२ हजार १ सय २९ जना महिला रहेको तथ्यांक छ । जनसंख्याको हिसाबमा यो संख्या पुरुषको तुलनामा बढी देखिएपनी यहाँका महिलाहरूलाई विकासका हरेक तहतप्कामा सशक्तीकरण गर्न नसकेको अवस्था विद्यमान छ । दार्चुला जस्तो दुर्गम र पिछडिएको जिल्लामा ९० प्रतिशत भन्दा धेरै महिलाहरूको अवस्था एकदमै दयनीय रहेको छ भन्नुमा दुइमत छैन । फलतः महिलाहरू सर्वाङ्गिण विकासका कुराहरूमा कैयौं गुणा पछाडी परिरहेको तितो यथार्थ हाम्रो सामु घाम जत्तिकै छर्लङ्ग छ ।
हाम्रो यस समाजमा सदियौदेखि विद्यमान रहेका अशिक्षा, गरिबी, अन्धविश्वास, चेतनाको कमी, बालविवाह, बहुविवाह, जुवातास, मदिरा सेवन जस्ता सामाजिक विकृति, विसङ्गतिको सिकार दिनप्रतिदिन महिलाहरू भइरहेका छन । फलस्वरूप महिलाहरू माथी हिंसाका खबरहरू सुन्न र देख्नमा आइरहन्छन् । युगौदेखि महिला तथा बालिकाहरू माथि कहिले संस्कारका नाममा, कहिले धर्मका नाममा त कहिले वंशको सान र मान जोगाउने नाममा हिंसा सहन बाध्य छन । घरपरिवार र समाजले दिने यातना र अपमानको बोझ थेग्न नसकी हाम्रै नगरपालिकाका, हाम्रै गाउँठाउँ र समाजका कैयौं छोरीचेलीहरूले आत्महत्या समेत गरिरहेको तितो यथार्थ हाम्रासामु रहेको छ । कति छोरीचेली आफ्नै घरपरिवारमा नर्कको जस्तो जिन्दगी बाच्न विवश छन ! अब धेरै ढिला भइसकेको छ महिला हिंसा अझै कति समयसम्म सहनुपर्ने ? अझैपनि कत्ती महिला आत्महत्याको सिकार भइराख्नुपर्छ रु अब ढिला नगरौ ! तपाईं-हामी जस्ता सचेत महिला एवं नागरिकहरू अझैपनी सजग नबनिदिने हो भने यी घटनाहरू बारम्बार दोहोरिरहन्छन । त्यसैले पनि अब ढिला नगरौं । महिला माथी गरिने हिंसा रोक्न र महिला सशक्तीकरणका लागि आफ्नो आवाज बुलन्द पार्नका लागि हामी-तपाईं हातेमालो गरौं । महिला हिंसा रोकौ । हाम्रो समाजका नारीहरूलाई आत्मसम्मानका साथ बाच्न सक्ने वातावरणको परिकल्पना गरौ । लेखक  : रजनी पाल (चन्द) महिला विकास अधिकृत शैल्यशिखर नगरपालिका, दार्चुला ।

प्रतिक्रिया