Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५६

'गरे सकिन्छ शृङ्खला !' आफैंले बनाएका जुत्ता बेच्छन गोकुलेश्वरका गोपाल

Wide Nepal News
बुधबार, फागुन १९, २०७७
गोकुलेश्वर । सार्की, चमार, मिझार वा चर्मकार ! यी शब्दावली छाला सम्बन्धि काम गर्ने कुनै खास समुदाय र जातिका लागि सम्बोधन गरिन्छ । सम्बोधन गर्दा अलगअलग शब्दले सम्बोधन गरिएपनी शदिअाैं देखि छालाबाट निर्मित बस्तुहरूको काम गर्ने भएकाले यस समुदायका मानिसहरू सार्की समुदायको रूपमा परिचित छन । सार्की अथवा चमार समुदायका मानिसहरू नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छन । यसै समुदाय मध्येका एक हुन गोपाल । दार्चुलाको लेकम गाउँपालिका ०६, गणेत घर भएका गोपाल सार्की १ दशकदेखि छालाबाट निर्मित जुत्ता, चप्पल बनाउदै आएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका ०९, गोकुलेश्वरमा आफुले विगत १२ वर्षदेखि पसल थापेर आफैले तयार पारेका जुत्ता, चप्पल बेचिरहेको उनले बताए । उनका अनुसार छालासम्बन्धी काम गर्नु आफुहरूको परम्परित पेशा हो । त्यसैले पनि आफुले यहीँ पेशा अंगालेको बताए । उनले तयार पारेका जुत्ता, चप्पल गोकुलेश्वरसहित आसपासका विद्यार्थी, कर्मचारी र अरूले समेत लगाउने गरेका छन । गोपालले पनि ग्राहकको माग अनुसार भनेजस्तो डिजाइनमा जुत्ता, चप्पलहरू तयार गर्ने गरेका छन । उनले बनाएका जुत्ता रेडिमेड जुत्ताको तुलनामा टिकाउ एवं स्तरीय हुने गरेको गोकुलेश्वरका केहि विद्यार्थीहरूले बताए । कम मुल्यमा सस्तो, गुणस्तरीय र आफुले रोजेजस्तो जुत्ता उनको पसलमा पाइने भएकाले पनि आफूलाई मनपर्ने जुत्ता अर्डर गरि उनकै पसलबाट किन्ने गरेको ती विद्यार्थीले सुनाए । आफुसित उपलब्ध भएको कच्चापदार्थ र मेसिनबाट मिहिनेतका साथ आफैले जुत्ता, चप्पल बनाउने गरेको गोपालले बताए । "कच्चापदार्थको रूपमा मुख्यतः छाला आवस्यक पर्छ । जुन सम्भव भएसम्म आफै तयार गर्छु । यता सम्भव भएन भने धनगढीबाट मगाउछु ।" उनले भने, " जुत्ता बनाउन मरेका भैंसी, गोरू लगायतका जीवहरूको काचो छाला आवस्यक पर्छ । यिनलाई विशेष किसिमबाट जुत्ता, चप्पल र छालाबाट निर्मित अन्य सामानहरू बनाउन तयार गर्ने गरिन्छ ।" छालासम्बन्धी आफुले लामो समयदेखि बटुलेको अनुभवले आधुनिक प्रविधिको प्रयोग नगरेको बताउदै सार्कीले परम्परागत मेसिन कै प्रयोगले पनि स्तरीय तथा राम्रो क्वालिटी दिन सकिरहेको औंल्याए । "आफूसित जेजस्तो सामान उपलब्ध छ तिनकै उपयोग गर्छु, प्रायजसो जुत्ता बनाउने काम ग्राहकको मागअनुसार गर्छु, केही जोर जुत्ता चाहिँ फुर्सदको समयमा तयार गर्छु ।" गोकुलेश्वर बजारबाट करिब ५ किलोमिटर उत्तर-पश्चिममा गणेत नाम गरिएको गाउँमा उनको घर छ । बिहान सबेरै उनी बजार आउछन, बजार पुगेर आफ्नो जुत्ता, चप्पलको पसल खोल्छ्न, उनी दिनभर जसो उनको त्यहीँ सानो पसलमा व्यस्त रहन्छन, उनको पसलमा कोहि नयाँ जुत्ता किन्न आउछन्, कोहि भने पुराना च्यातिएका जुत्ता, चप्पल सिउन आउने गर्छन, यसरी नै उनको दिनचर्या बित्छ, साझपख बजारबाट घरका लागि चाहिने सरसामल किन्छन र आफ्नो घरतिर फर्किन्छन । उनले तयार पारेका जुत्ताहरूको मुल्य जुत्तामा प्रयोग हुने कच्चापदार्थको गुणस्तर र लागेको मिहिनेतमा भर पर्ने गरेको उनी बताउछन् । उनले १ हजार देखि ५ हजार नेपाली मूल्य बराबरको जुत्ता तयार गर्ने गरेको बताए । बजारमा उपलब्ध रेडिमेड जुत्ताहरू कमसल खालको कम टिक्ने रहेको बताउदै एकपटक आफुले तयार गरेको जुत्ताको प्रयोग गरि यसको गुणस्तरीयता जाच गर्न सार्कीले नयाँ आउने ग्राहकहरूलाई आग्रह समेत गरेका छन । खोदाइनाथ जुत्ता, चप्पल  सेन्टर नाम गरिएको उनको सानो जुत्ता पसल गोकुलेश्वर बजारबाट भित्र, क्याम्पसरोड तिर जाने गल्ली भित्र रहेको छ ।

प्रतिक्रिया