Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५६

कसरी सुरुवात गरियो गोकुलेश्वर मेला ?

Wide Nepal News
बुधबार, फागुन २६, २०७७
गोकुलेश्वर । बुधबार (भोलि) देखि दार्चुलाको शैल्यशिखर नगरपालिका ०९, गोकुलेश्वरमा महाशिवरात्री मेला शुरू हुँदैछ । ९ दशक लामो धार्मिक महत्त्व बोकेको गोकुलेश्वर शिवरात्री मेला व्यापारीक दृष्टिले पनि उत्तिकै अगाडि छ । यतिबेला गोकुलेश्वर बजारका व्यापारी, व्यवसायीहरू आआफ्नो पसलका लागि चाहिने सामानहरू जोहो गर्नमा व्यस्त देखिन्छन्, मिष्ठानजन्य तथा अन्य सामानका अस्थायी पसलहरू थाप्न इन्डियाबाट समेत व्यापारीहरू आइसकेका छन, बजारमा नयाँ लत्ताकपडा र अन्य सरसामान किन्न आउने ग्राहकहरूको संख्या बढेको छ । यतिखेर गोकुलेश्वर बजार टाढाबाट सरसामल किनमेल गर्न आउनेहरूको भिडले व्यस्त रहेको देख्न सकिन्छ । शिवरात्री मेलाको लागि बजारमा चहलपहल थपिएकाले हिजोअस्तिका दिनहरु भन्दा माहोल फरक देखिएको छ ।

गोकुलेश्वर शिवरात्री मेलामा पछिल्लो समय रका लागि घअत्यावश्यक सामानहरुको खरिदबिक्री हुदैँ आएको छ ।रका लागि चाहिने स्थानीयस्तरमा उत्पादित बस्तुहरु जस्तै निगाँलोका डोको, मट्टा, सप्पाा, चाटकीहरुको खरिदबिक्री बिक्री हुँदै आएको छ भने मेलामा हँसिया, बन्चरो, कोदालीहरु समेत पाइन्छन । यस्तै व्याँसी शौका समुदाय र तिब्बती मूलका व्यापारीहरु समेत गोकुलेश्वर मेलामा उनबाट बनेका लत्ताकपडाहरुको व्यापार गर्न आउने गरेका छन, शिवरात्रीको अवसर पारेर भारतका विभिन्न ठाँउबाट समेत व्यापारीहरु व्याखपारका लागि आउने गरेका छन भने घुसा तथा खण्डेश्वरीका व्यापारीहरुले यस मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गर्ने गदर्छन । । केहि वर्षयता शिवरात्री मेलाको अवसर पारि सांस्कृतिक एवं प्रयटकीय महोत्सव लाग्दै आएपनि यसबर्ष भने कोरोना जोखिमका कारण लाग्न नसकेको जानकारहरुले बताएका छन ।

हरेक वर्ष फागुन महिनामा शिवरात्रीको अवसर पारेर लाग्ने गोकुलेश्वर मेला यस वर्ष भने यहीँ फागुन २७ गतेबाट शुरू हुँदैछ । यो वर्षको गोकुलेश्वर महाशिवरात्री मेला गणनाको हिसाबमा ८१ औं वर्षको मेला हो ।
धार्मिक, पर्यटकीय र व्यापारिक महत्वले अगाडि देखिएको गोकुलेश्वर मेला शिवरात्रीको दिन शुरू भएर कमसेकम ५ दिनसम्म लाग्ने गर्दछ । दार्चुलासहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा र इन्डियाका केहि ठाँउबाट समेत गरि दसौं हजारको भिडले गोकुलेश्वर शिवरात्री मेलालाई अवलोकन गर्दै आइरहे पनि यसको शुरूवात कसले ?, कहिले ?, किन ? र कसरी ? गरेका हुन भन्ने कुरा भने सायदै मानिसलाई मात्र अवगत भएको पाइन्छ । वर्षौंदेखि गोकुलेश्वर मेलाको अवलोकन गर्ने र व्यापार, व्यवसाय गर्दै आएका अधिकांस मानिसहरू समेत यस मेलाको इतिहासबारे अनभिज्ञ रहेका छन । शिवरात्री पर्वको अवसर पार्दै फराकिलो नेपाल साप्ताहिकले आजको अंकमा झण्डै ९ दशक लामो धार्मिक, पर्यटकीय र व्यापारिक दृष्टिले ऐतिहासिक महत्व बोकेको यस गोकुलेश्वरमा लाग्ने शिवरात्री मेलाको इतिहासबारे यहाँका जानकारहरू सित साक्षात्कार गरि यसको शुरूवात कसले ?, कहिले ?, किन ? र कसरी गरेका रहेछन भन्नेबारे जान्ने र आफ्ना पाठकवर्गलाई समेत जानकारी दिने जमर्को गरेको छ । आफ्नो बेग्लै पहिचान, मर्म, महत्व र अस्तित्व बोकेको गोकुलेश्वर शिवरात्री मेलाबारे नयाँ पुस्तालाई जानकारी गराउनु अहिलेको आवस्यकता समेत रहेको देखिन्छ । गोकुलेश्वर महाशिवरात्री मेलाको सर्वप्रथम विक्रम संवत १९९७ सालमा गोकुलेश्वर क्षेत्रका तत्कालीन समाजसेवी स्व. लक्ष्मण विष्टले शुरूवात गरेको पाइएको छ । डिलासैनी गाउँपालिका ६, चौसेरा घर भएका वृद्ध बहादुर नाथका अनुसार बिष्टले गोकुलेश्वरको जगतपुरीधामको मुन्तिरको बगरमा उतिबेलाका स्थानीयलाई निम्तो दिई मेला हेर्न आउनेलाई भोज खुवाएको र आफुले पनि त्यहीँ भोज खाएको सम्झना रहेको बताउछन । आफ्नो यकिन उमेर कति हो भन्ने थाहा नरहेपनी आफुलाई सय वर्षभन्दा बढी उमेर भएको र गोकुलेश्वरको पहिलो मेला हेरेको सम्झिदै उहाँले स्व. लक्ष्मण बिष्टले नै यस गोकुलेश्वर मेलाको शुरूवात गरेको सम्झिए ।
नाथ भन्छन, "वि. सं. १९९७ साल भन्दा पहिले गोकुलेश्वरमा बजार थिएन । त्यहाँ रूखहरू थिए, जङ्गल जस्तो थियो त्यो ठाउँ, त्यहाँ महिलाहरू घाँसपात गर्न जान्थे उतिबेला, शिवरात्रीमा मेला लाग्न थालेपछि बिस्तारै पसलहरू राख्न थाले मान्छेहरू, शिवरात्री मेला लगाएको शुरूको वर्ष जम्मा ५०/६० जना मात्रै मेला हेर्न आएका थिए । बिस्तारै मानिसहरूको भिड बढ्न थाल्यो, पछि अहिलेको बजार भएको ठाउँमा मेला सर्‍यो र मेला हेर्न आउनेहरूको संख्या बढ्दै गयो । अहिले त ठूलो बजार बनिसकेको छ गोकुलेश्वर ।" यद्यपि मेला शुरूवात भएको पछिसम्म पनि अहिलेको गोकुलेश्वर बजार बनि नसकेको उनको सम्झना छ । मेला हेर्न आउने मानिसहरूले सरसामान पनि किनबेच गर्न थालेपछी बिस्तारै भिड बढेको र पसलहरू राखिन थालेको उनले सुनाए ।
बहादुर नाथ वि. सं. १९९७ सालमा गोकुलेश्वरको पहिलो मेला हेर्ने व्यक्ति हुन । साथै गोकुलेश्वर मेलाको जानकारी उनको स्मरणमा अझै ताजा छ । गोकुलेश्वर मेलाको शुरूवात गर्ने र पहिलो मेला हेर्ने धेरैजसो मानिसहरू यो संसारमा नरहेको सम्झिदै उनले उतिबेलाको र अहिले ८१ वर्ष पछिको मेलामा धेरै नै भिन्नता रहेको नियाले । उमेरले १ शताब्दी पूरा गरि अझै जीवनको उकाली चढिरहेका उनमा मेला उही पुरानै भएपनी त्यो बेलाको बगर देखि अहिलेको बजारसम्मको मेलाको अनुभव रहेको छ । यसैबीच मेलासम्बन्धि अर्का जानकार पिताम्बर बिष्टका अनुसार गोकुलेश्वर मेलाका शुरूवातकर्ता स्व। लक्ष्मण बिष्टले उतिबेला काठमाडौको पशुपतिबाट बालुवा लिइ जगतपुरीधामको बगरमा छर्किएको र स्थानीयहरूलाई निम्तो दिइ यज्ञसमेत लगाएर शिवरात्री मेलाको शुरूवात गरिएको जानकारी आफुलाई रहेको बताएका छन । उनले अहिलेको गोकुलेश्वर बजारको विकास हुनुमा स्व. लक्ष्मण बिस्ट कै देन रहेको बताउदै धार्मिक, व्यापारिक, सांस्कृतिक र प्रयटकिय दृष्टिले अगाडि रहेको गोकुलेश्वर मेला संचालनमा आउदा यहाँका स्थानीयले गोकुलेश्वरमा व्यापार व्यवसाय शुरू गरेको औल्याए। शुरूवाती वर्षहरूमा बयरको किनबेच गरि स्थापना गरिएको यस मेलामा विगत ३०/४० वर्षदेखि करोडौंको कारोबार भइरहेको बताउदै बिष्टले यस मेलाको अस्तित्व रक्षाका लागि अहिलेको पुस्तालाई यसको इतिहासबारे सचेत गराउनु आवस्यक रहेको बताएका छन । ८१ वर्ष पुरानो इतिहास बोकेको गोकुलेश्वर शिवरात्री मेला गोकुलेश्वरसहित अन्य ठाउँका व्यक्तिहरूका लागि समेत धार्मिक रूपमा आस्थाको केन्द्र बन्दै गएको छ भने व्यापारिक तवरले पनि यस क्षेत्रमा अगाडि रहेको पाइएको छ । पुर्खाले शुरूवात गरेको यस ऐतिहासिक पर्वको संरक्षण र अस्तित्व रक्षाका लागि सबै समुदायले चासो दिनुपर्ने आवस्यकता अहिलेको पुस्ताको रहेको छ ।

प्रतिक्रिया