Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ १०:०३

जसले अवकाशपछि दार्चुलामा वृद्धाश्रम बनाए.....

Wide Nepal News
बिहिबार, बैशाख ३०, २०७८
गोकुलेश्वर : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९, जगतपुरीमा अवस्थित ॐ शान्ती वृद्धाश्रम दार्चुला र छिमेकी जिल्ला बैतडीको पहिलो र एकमात्र वृद्धाश्रम हो । ॐ शान्ती वृद्धाश्रम वि.सं. २०६८ सालमा निर्माण कार्य शुरू भएर वि.सं. २०७१ साल बाट संचालनमा आएको हो । हाल उक्त वृद्धाश्रममा ६० वर्ष देखि ८५ वर्ष उमेर समुहका वृद्धवृद्धाहरू बसिरहेका छन । आश्रममा बस्न आउने अधिकांस वृद्धवृद्धा घरमा छोराबुहारीको हेला सहन नसकेर, धेरैजसो बुढेसकालको सहारा नपाएर, आफ्नो बुढ्यौली जीवनसित विरक्त भएर त कोहि गरिबीले गर्दा घरमा बस्न अप्ठ्यारो भएर आश्रमको सहारा लिन पुग्छन । कोहि भने जीवनको बाकी समय आश्रममा व्यतीत गर्न स्वैच्छिक रूपमा आउने गरेको आश्रमका संस्थापक तथा आश्रमका संचालक उत्तमबहादुर साउँद बताउँछन । जिल्लाको दोस्रो ठुलो बजार गोकुलेश्वरबाट करिब ५ सय मिटर पश्चिम दिशामा अवस्थित ॐ शान्ती वृद्धाश्रम जगतपुरी शिवधाम तिर्थस्थल र गोकुलेश्वर आर्यघाट नजिक रहेको छ । गोकुलेश्वरका प्रतिष्ठित समाजसेवी उत्तमबहादुर साउँदको नेतृत्वमा निर्माण भएको उक्त वृद्धाश्रमले विगत ७ वर्ष देखि निरन्तर सेवा दिइरहेको छ भने अहिलेसम्म ६५ जना वृद्धवृद्धाले सेवा लिएको वृद्धाश्रमका संचालक साउँदले सुनाउछन । ऊनी भन्छन, “अहिलेसम्म आश्रम बाट दार्चुला र छिमेकी जिल्ला बैतडीका विभिन्न ठाउँका गरि ६५ जनाले सेवा लिएको तथ्यांक हामीसित रहेको छ । हाल वृद्धाश्रममा ५ जना स्थायी रूपमा बसेपनी वृद्धवृद्धाहरू आउनेजाने क्रम चलिरहेकै हुन्छ ।“ उनले आश्रममा बस्न आउने वृद्धवृद्धाहरूलाई आश्रमको शरण लिन पुग्नुको कारण सोध्दछन । परिवारसित समझदारी गरेर घर फर्काउन सकिने वृद्धवृद्धालाई घर मै फर्किन र आफ्ना परिवारका सदस्यहरू सित मिलेर बस्न आग्रह गर्ने गरेका छन । साउँद थप्छन, “दार्चुला र बैतडीको संगमस्थल रहेको गोकुलेश्वर क्षेत्रमा लामो समयदेखी वृद्धाआश्रमको आवस्यकता रहेको आफुलाई बोध भएर नै यसको निर्माण र संचालनमा जुटेको थिए ।” दार्चुला र बैतडी जस्ता दुर्गम जिल्लाहरूमा पनि बुढेसकालमा यसरी कतिपय बुढापाकाहरू आआफ्नै समस्याहरू बाट असहज जीवन बिताइरहेका खबर सुन्दा दुःख लागेको तथा तिनको व्यवस्थापन र तिनीहरुका लागि उचित वासस्थानको प्रबन्ध हुनुपर्छ भन्ने मान्यता राखेर गोकुलेश्वरमा आश्रमको परिकल्पना गरेको बताए । लटिनाथ माध्यमिक विद्यालय बस्कोटका पूर्व प्रधानाध्यापक समेत रहेका साउँद शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्नो जीवन सक्रिय रूपमा सामाजिक सेवामा समर्पित गरिरहेका छन । त्यसैले पनि उनलाई चिन्ने धेरजसोले उनलाई (उत्तम सर) भनेर चिन्दछन । आफू शिक्षण पेशामा रहदा समेत आफ्नो गाउँ, समाजका लागि गर्न सकिने सकारात्मक काममा सरिक हुनुपर्छ भन्ने सिद्धान्त पहिल्यै देखि अंगाल्थे । यद्यपि जागिरको कारण खुलेर लाग्न नसकेपनी अवकाश पछि शेष रहेको जीवन समाजका लागि समर्पण गरेको उनको भनाइ छ । गोकुलेश्वरमा वृद्धाश्रम संचालनमा ल्याउनुपर्ने कुरा आफुले अघि सारेपछि स्थानीय देखि अरू थुप्रैले समेत आफुलाई साथ दिएको उनको तर्क छ । झण्डै ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त वृद्धाश्रम बनाउने सपना आफ्नो, विभिन्न सहयोगी दाताहरू र नेपाल सरकारका विभिन्न निकायहरूको साथ र सहयोगले मात्रै यथार्थमा परिणत भएको साउँदको जिकिर रहेको छ । विगत सात वर्षदेखि सेवा दिदै आइरहेको आश्रममा अझैपनी शुभेच्छुकहरूको निरन्तर साथले संचालनमा कुनै कठिनाइ नआएको आश्रमका संचालक उनले बताए । ऊनी थप्छन, “निर्माण सम्पन्न भैसकेपश्चात शुरूमा आश्रममा बस्न आउनेहरूलाई खुवाउन र बसाल्न निकै धौधौ पर्थ्यो । निर्माणपश्चात शुरूमा आर्थिक पाटो कमजोर भएकाले अन्य समस्याहरू पनि थपिए । बिस्तारै ती समस्या टर्दै गएका छन । साउँद भन्छन, “आश्रममा कहिलेकाही विभिन्न ठाउँ र संस्थाहरूबाट शुभेच्छुकहरू भेट्न आइरहन्छन् भने कोहिकोहि जन्मदिनको अवसरमा आएर आश्रमलाई सहयोग गरेर मनाउँछन । उनीहरू रित्तो हात कहिले पनि आउनुहुन्न, केही न केही आफ्नो गच्छेअनुसारको कोसेली दिएर जानुहुन्छ, आउदा दिनमा पनि सक्दो सहयोग गर्ने बाचा छोडेर जानुहुन्छ । त्योभन्दा अरू के चाहियो र हामीलाई अगाडि बढ्नमा” । उमेरले ७५ वर्ष पूरा गरिसकेका उक्त आश्रमका संचालक उत्तमबहादुर साउँदले शुभेच्छुक बाट प्राप्त हुने माया र हौसलाले नै आफुलाई थप मजबुत बनाउनमा सघाएको बताउने गरेका छन । आफू आश्रमको निरन्तर सेवामा लागिराख्ने र शुभेच्छुकको यस्तै साथ र हौसला सदैव मिल्ने कुरामा आफू बिस्वस्त रहेको उनले सुनाए । अहिले भान्छा र हलसहित ३ कोठा गरि वृद्धाश्रमको एकतले भवन रहेकाले थप एकतला थप्ने तयारी रहेको उनले सुनाए । उनले भने, “आश्रममा कुनैकुनै दिन बस्न आउनेहरूको संख्या बढी हुन्छ । यसरी ठाउँको अभाव हुने गर्छ । त्यसैले एकतला बढाउनुपर्ने आवस्यकता देखेको छु । यतिबेला आफू स्रोत जुटाउन गृहकार्य गरिरहेको छु ।” आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरूको स्याहारसुसार र खानपिनको प्रबन्ध मिलाउनका लागि गत वर्षदेखि जिल्लाको शैल्यशिखर नगरपालिकाले एकजना सुसारेको व्यवस्था गरिदिएको छ । यद्यपि यस ठाउँमा जनस्तर बाट आश्रम संचालन गर्दा अरू ठाउँ भन्दा चुनौती रहेका छन । धेरै कम स्थानीयहरू बाट मात्रै अपेक्षा राखेजस्तो आर्थिक एवं नैतिक सहयोग मिल्नु, स्रोतसाधन समयमा जुट्न नसक्नु, जिल्लाको पहिलो आश्रम भएकाले पनि व्यक्ति र सरकारी निकायहरूले आफुलाई नपत्याउनु लगायतका समस्याहरूको पहाड आफ्ना सामु रहदासमेत आफू आफ्नो कामबाट बिचलित नभइ निरन्तरको प्रयासले मात्रै लक्ष्य प्राप्तिमा पुग्न सफल भइएको उनको अनुभव रहेको छ । दार्चुला र बैतडीको पहिलो र एकमात्र वृद्धाश्रमका रूपमा मानिने ॐ शान्ती वृद्धाश्रम र सो का संस्थापक तथा संचालकका यिनै तितामिठा अनुभवहरू सङ्गाल्दै बनेका आफ्नै कथा र व्यथाहरू रहेका छन । अझै घरबार छोडेर विभिन्न समस्याहरूको डोको बोकि आश्रममा बस्न आएका वृद्धवृद्धाका आआफ्नै कथा र व्यथा नेपथ्यमा लुकेर बसेका छन । आश्रममा कोहि छोराबुहारीले दिएको पीडा सहन नसकेर, कोहि बुढेसकालको सहारा बन्ने छोराछोरीहरू नै नभएर, कोहि बुढ्यौलीको जीवन सित विरक्त भएर त कोहिकोहि भने आफुखुसी शेष रहेको जीवन बिताउन आश्रम आइरहेका हुन्छन ।

प्रतिक्रिया