Wide Nepal News आइतबार ०९, मङि्सर २०८१ ११:०१

यसरी गर्दैछ जोसियल नामक बिदेशी कम्पनीले नेपालमा ठगीधन्दा....

Wide Nepal News
मङ्गलबार, जेठ ११, २०७८
हरक सिंह धामी Office.jocial.com यो नामको वेवसाइट छ जसले प्रयोगकतालाई एउटा आइडि र पासवर्ड दिन्छ । यसको काम भनेको यसमा रहेका कुनै कम्पनीका सामानहरु जुन बजारमा सजिलै पाउन सकिन्छ तिनको विज्ञापन फेसबुकमा सेयर गर्ने र सेयर गरेको लिङ्क फेरी Jocial वेवसाइटमा पनि राखिदिने । जसवाफत प्रयोगकर्ता (जसलाई इन्फ्लुन्सर भनिन्छ) ले प्रति विज्ञापन १ डलरदेखि ६ डलरसम्म पाएको देखिन्छ । हप्तामा २ वटा विज्ञापन सेयर गर्न मिल्ने र महिनामा सबस्क्रिप्सन प्लान अनुसार ४० वा ६० डलर प्राप्त गर्न हकदार भएको देखाउँछ तर उक्त डलर बाफतको पैसा प्रयोगकर्ताले कुनै बैङ्कमा स्थानान्तरण गर्न पाउँदैन । विज्ञापन सेयर गर्नको लागि सबस्क्रिप्सन अनिवार्य गर्नुपर्छ । कुनै पनि कम्पनीको विज्ञापन गर्नको लागि सबस्क्रिप्सन गर्नुपर्ने वा शुल्क बुझाउनु पर्ने वा पाउने कुरा कारोबारकै रुपमा लिन सकिन्छ तर फेसबुकमा विज्ञापन राख्नको लागि एइडि बनाउँदा कुनै न कुनै पहिल्यै सदस्य बनिसकेको व्यक्ति (जसलाई अपनाइनर भनिने गरिन्छ) को रिफरल कोड चाहिन्छ । कसैले पनि यो वेवसाइटमा अपलाइनरविना अकाउण्ट खोल्न सक्दैन । यसरी हेर्दा यो नेटवर्क मार्केटिङमा आधारित कारोबार हो जुन यसभन्दा पहिले पनि कतिपयलाई नेपाल सरकारले बन्द गरिसहेको छ । यो पूर्ण रुपमा सोसल मिडियामा आधारित छ । यसभन्दा पूर्वका नेटवर्क मार्केटिङमा आमसर्वसाधारणलाई वस्तु खरिद गर्न लगाइन्थ्यो र कम साक्षरहरु बढी ठगिएका थिए भने यसपाली प्रविधिमा पहुँच भएकाहरुलाई लक्षित गरिएको छ र यसमा कतिपय कर्मचारी, शिक्षक, विभिन्न संघ संगठनका उच्च तहका व्यक्तिहरुलाई प्रभावित पारिएको छ । तर ति प्रभावित मध्ये कतिपय पहिल्यैदेखि नेटवर्क मार्केटिङमा संलग्न रहेका पाइएको छ । यो ठगीमा बढी सावधानी अपनाइएको देखिएको छ । यसमा समाजका प्रतिष्ठित व्यक्तिहरु पनि अल्मलिएर पसेको देखिएको छ जसले समाजमा सहजै प्रभाव पार्छन् त्यसैले यिनिहरुलाई इन्फ्लुन्सर भनिने गरिएको हो । यिनले भन्दा सबैले पत्याउने र सहजै जालमा पर्ने गरेको देखिन्छ । यो अनलाईन ठगीको एक स्वरुप हो । झट्ट हेर्दा यो फेसबुक फ्रेन्ड फ्रड जस्तो देखिन्छ किनभने यसमा फस्नेहरु फेसबुकमा जोडिएका साथीहरु मात्रै हुन्छन् भने अर्को तर्फ यसमा आबद्ध हुन पहिल्यै पैसा तिर्नुपर्छ त्यसैले यो सबस्क्रिप्सन ट्र्याप पनि हो । त्यसैले यो पूर्ण रुपमा सबस्क्रिप्सन र फेसबुक फ्रेन्ड फ्रडको सम्मिश्रणयुक्त अनलाईन ठगी हो जसलाई साइबर क्राइम भनिन्छ । यसले वस्तु कारोबार नभएर सेवाको कारोबार गरेको देखिन्छ । नेपालका कुनै पनि सरकारी निकायमा कुनै पनि नाममा व्यवसाय दर्ता गरिएको छैन न त कुनै सार्वजनिक माध्यमबाट यसको प्रचारप्रसार भएको छ । फेसबुक साथीहरुसँग म्यासेज मार्फत मात्रै कुरा गरिने र अनलाईन जुम मिटिङमा ब्रेनवास गर्ने काम गरिन्छ । अनलाईन मिटिङमा सदस्यहरुलाई मन्त्रमुग्ध पार्दै डलरको सपनामा डुबाउन सक्ने व्यवसायिक व्यक्तिहरु नै परिचालित हुन्छन् । यसको आधिकारिकताको कुराः
यो Jocial Advertise Pvt. को नामबाट 63-66 HATTON GAREN LONDON ENGLAND EC1N 8LE ठेगाना राखेर सन् २००८ मा स्थापना गरिएको भनिएको छ तर वेवसाइट भने २०२० मा मात्रै सुरु गरिएको देखिन्छ । फेसबुक भन्दा यसका संस्थापक मार्क जुकरबर्ग सम्झिन्छौ¸ युट्युब भन्दा ३ जनाको नाम सम्झिइन्छ तर यो Jocial स्थापना गर्ने व्यक्तिलाई Mr. Jamie March भनिएको छ तर यो नाम गरेको व्यक्तिको स्केच भेटिन्छ तर को हो भन्ने कतै स्पष्ट जानकारी छैन । फेसबुकमा Jamie March को नामबाट खोजि गर्दा केहि नामहरु भेटिए पनि यो कम्पनीसँग सम्बन्धीत कुनै पनि भेटिदैनन् ।
यो कम्पनी लण्डनमा दर्ता भए पनि नेपालमा कारोबार गर्न कुनै न कुनै रुपमा नेपालमा यसले अनुमती लिएको वा कुनै नामबाट दर्ता हुनुपर्ने हो तर त्यस्तो छैन । यहि वैशाख ५ गते एउटा अनलाईनमा यसले ठगिगरिरहेको भन्ने समाचार आयो तर न त यसको कुनै व्यक्ति न कुनै कम्पनीले खण्डन गर्‍यो बरु अनलाईन मिटिङमा अरुले त ठगिरहेकै छन् हामीले गरे के भो त भन्ने खालका कुरा गर्दै आफ्नो बचाउ गर्ने र आफूलाई बैध बताउने भन्दा पनि अरुले पनि ठगेकै छन् नि भन्ने कुरा गरेको पाइन्छ । प्रलोभन के छ र काम कसरी गर्छ? यसको वेवसाइटमा एउटा ६० डलरमा ३ महिनाको लागि र अर्को २४० डलर तिरेर १ वर्षको सब्स्क्रिब्सन खरिद गर्नुपर्ने हुन्छ । प्रत्येक महिना २ देखि ३ विज्ञापन फेसबुकमा सेयर गर्नुपर्ने हुन्छ जसबाफत महिनामा ४० देखि ६० डलर खातामा आएको देखाउँछ । आफुले आफु मातहत कुनै सदस्य थप गर्दा ३ डलर थप प्राप्त हुन्छ । ३ जना सदस्य थप गर्दा २०० डलर¸ ६ जना थप गर्दा १००० डलर¸ ९ जना थप गर्दा २००० डलर¸ १२ जना थप गर्दा ५००० डलर¸ १५ जना थप गर्दा १०००० डलर र १८ जना थप गर्दा २० हजार डलर प्राप्त हुने भनिएको छ । तर प्राप्त हुने डलर एकमुष्ट आउँदैन र कुनै पनि रकम झिक्न मिल्दैन । न त कुनै बैङ्क खातामा स्थानान्तरण गर्न मिल्छ । त्यसोभए पैसा कसरी कमाइन्छ त? नेपालको लागि कसलाई जिम्मा दिइएको छ त्यो त बुझिएको छैन तर एकजना महिला जो विगत २० वर्षदेखि नेटवर्क मार्केटिङ् गर्दै आएको मात्रै अनलाईन जुममा देखिएको छन् । तिनिहरुले भारत गएर नगद बुझाउने बुझिएको छ भने उनिहरुले आफु मातहत बनाएकाहरुबाट नगद प्राप्त गर्छन् भने माथि उल्लेख गरिए जस्तै ३¸६¸९¸१२¸१५ र १८ जना बनाए वाफत प्राप्त हुने डलरबाट तलका सदस्यहरुको सब्स्क्रिप्सन पैसा बुझाउने तर तलबाट प्राप्त नगद आफु राख्ने गर्छन् । त्यसैगरी तल्लोतह सम्मका दलालहरुले रकम संकलन गर्ने गर्दछन् । मातहत कुनै सदस्य बनाएका दलालहरुले नगद पैसा कमाउने गर्दछन् भने सबैभन्दा तल्लो तह जसले आफू मातहत कुनै सदस्य बनाएको हुँदैन उसले नगद पैसा कमाउनै सक्दैन । आफ्नो खातामा विज्ञापन सेयर गरेवाफत प्राप्त मासिक डलर पनि कुनै तरिकाले झिक्न मिल्दैन । २ जना वा कम सदस्य थप्न सक्ने सदस्यले एक पैसा पनि नगद कमाउन सक्दैन । उनीहरु ठगिएका मात्रै हुन्छन् । उनीहरुले जसरी पनि आफुलाई पैसा बुझाउने आफुभन्दा मुनि सदस्य थप्नैपर्छ । दिनमा ४-६ वटा अनलाईन मिटिङहरु गरेर नयाँ सदस्य थप्न युद्धस्तरमा लाग्न र कुनै पनि निकायबाट हामिलाई केहि हुँदैन हामी वैध हौं भनेर भनिने गरिएको छ । डलरको लालचमा लकडाउनको अवधिमा घरभित्र बसेका सबैजसोले यसमा आवद्ध हुन खोजिरहेको देखिएको छ । यसमा आवद्ध गर्नलाई जसरी पनि लोभ्याउने¸ कुनै राम्रो कमाएको दलाललाई आफ्ना अनुभव सुनाएर लठ्याउने गरिन्छ भने आबद्ध भइसकेपछि यो ठिक रहेनछ भनेर कुरा उठायो भने तिम्रो पैसा गयो जे गर्न सक्छौं गर¸ तिमि नभए अर्कोले डलर कमाउछ भनेर धम्की दिने गरिएको छ । विज्ञापन कसरी सेयर हुन्छन् फेसबुक र Jocial बिच लिङ्क कायम गर्नुपर्ने हुन्छ यो वेवसाइटमा राखिएका विज्ञापन सिधै सेयर गर्न मिल्दैन । विज्ञापनमा लेखिएको बाहेक आफुले कुनै शब्द अक्षर पथ गर्न मिल्दैन । फेसबुकमा Privacy सबै Public राख्नुपर्ने हुन्छ । यो वेवसाइट प्रयोग गरेर कमाएको पैसा कुन कानून अन्तरगत नेपाल बाहिर पठाइन्छ भन्ने कुनै स्पष्टता छैन । एकजना वा केन्द्रिय टिमले भारतमा लगेर बुझाउने गरिएको बुझिएको छ जुन हुण्डि अन्तरगत पनि पर्ने देखिन्छ । को को संलग्न छन्? कोहि अछुतो छैन । फेसबुक चलाउन जान्ने¸ अलिअलि इन्टरनेट चलाउन जान्नेहरुलाई हप्तौसम्म मिटिङमा राखिन्छ र तयार पारिन्छ । यसमा बहालवाला कर्मचारी¸ सेवानिवृत्त कर्मचारी¸ शिक्षक¸ विमा अभिकर्ता¸ सहकारीका नेतृत्व तहकै व्यक्तिहरु पनि संलग्न रहेको पाइएको छ। यि वर्गको समाजमा पकड राम्रो हुने हुनाले पनि यिनिहरुलाई जालमा पारिएको छ । केहिले राम्रै रकम जम्मा गरेको हुनाले नेटवर्क अझ विस्तार गर्न लागिपरेको देखिन्छ । के गर्ने त? यसको सबैभन्दा ठूलो र अन्तिम अस्त्र भनेको नेपाल सरकारले यो वेवसाइटलाई नेपाली पैसा अवैध रुपमा देश बाहिर पठाइरहेको कसुरमा बन्द गराउनु पर्छ । यो गर्ने वित्तिकै यसमा हजारौं डलर कमाएको भन्ने दलालहरुको डलर यत्तिकै शुन्य हुन्छ । र पैसा उठाउनेहरुबाट ठगिएकाहरुको पैसा फिर्ता गराउनु पर्छ । कोरोना कहरका बीच ३-४ महिनाको अवधिमा न त कसैलाई पक्राउ गर्न सकिने न त राज्यका निकायहरु पूर्ण रुपमा सुचारु भएको मौका छोपी अरबौं रुपैया ठगी गरेर भाग्ने उद्देश्य देखिएको छ । (म आफै पैसा बुझाएर यो नेटवर्कमा आबद्ध भएको हुँ र मेरो केहि पैसा डुबेर सम्पूर्ण नेपालभरीका नागरिक ठगि हुनबाट बचाउन सकिन्छ भने आवश्यक परेमा केहि दलालहरु र केन्द्रीय एकजना दलालको सम्पर्क दिन सक्छु)

प्रतिक्रिया