Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३३

दार्चुलामा रोपाइ शुरु, जिल्लामा यस वर्ष धान उत्पादन १० प्रतिशतले बढने अनुमान

Wide Nepal News
सोमबार, असार ०७, २०७८
दार्चुृला : यस वर्ष दार्चुलामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएको र मौसमले समेत साथ दिएकाले यो वर्ष विगतका वर्षहरुमा भन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको हो । गत वर्ष भन्दा किसानहरुले यस वर्ष अनुकूल मौसममै धान रोप्न पाएको र समयमै पानी परेकाले धान उत्पादन बढ्ने कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । यस वर्ष किसानले कलिलै बेर्ना रोप्न पाउनु, प्राकृतिक प्रकोप र रोग किरा जस्ता समस्या नदेखिनुले यो वर्ष धानको उत्पादनमा बृद्धि हुने बताइएको छ ।जिल्लामा धान खेती गर्ने भू–भाग नबढ्ने गरेको भएपनि विभिन्न कृषि कार्यक्रमको सहयोगमा धान उत्पादन बढ्न सक्ने आकलन गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । बिचमा लामो समयसम्म पानी नपरेको बेला धान उत्पादन घट्छकी भन्ने आशंका लागेपनि अहिले लगातार पानी परेपछि धानमा रामै्र बाला लाग्ने अनुमान गरिएको ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले बताए । करिब ४हजार ४सय ८० हेक्टर जमिनमा धान खेती हुने दार्चुलामा गत गर्ष ११ हजार २ सय मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष यो परिमाण भन्दा पनि बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । जिल्लामा धानको उत्पादन बढाउनका गत वर्षदेखि बृहत्तर धान उत्पादन कार्यक्रम लागू गरिएकाले धान उत्पादन बढ्ने सम्भावना धेरै भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । यो वर्ष धान उत्पादनमा १० देखि १५ प्रतिशतले बृद्धि हुने आकंलन गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका सुचना अधिकारी चन्द ठगुन्नाले जानकारी दिए । जमिनलाई बढाउन नसकिएपनि बढ्दो जनसंख्या र परिवर्तित समयसंगै खाद्य उत्पादन बढाउन विभिन्न किसिमका कृषि कार्यक्रम र प्रविधिहरुको प्रयोग बढिरहेकाले दार्चुलामा धान उत्पादनमा बृद्धि हुने उनले बताए । जिल्लामा अहिले वैशाख सुरुमा धानको वेर्ना राखेका जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश क्षेत्रहरुमा रोपाई सुरु भइसकेको छ । खोलामा पनि भएका क्षेत्रहरुमा रोपाई गर्न लागिएको बताइएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा सिंचाई सुविधा अझै पुगेको छैन, आकाशे पानीमा निर्भर किसानहरु भने मनसुन पछि रोपाई लगाउन सुरु गरिहरेका छन । अहिले खास गरी महाकाली नदी किनारका उकु बाकु क्षेत्रमा बढी गर्मी हुने तटीय क्षेत्रमा किसानहरु धमाधम रोपाई गरिरहेका छन । दार्चुलाका किसानहरुले असार महिना भरी रोपाई गर्ने गरेका छन । दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा मार्मा गाउँपालिकामा अधिकांश रोपाइ हुने गरेको छ । गोकलेश्वर सहित जिल्लाका अधिकांश ठाँउमा यस वर्ष रोपाइ शुरु भइसकेको छ । जिल्लामा २९ हजार ५ सय ५४ हेक्टर खेती योग्य जमिनमध्ये २० प्रतिशतमा मात्रै सिंचाईको सुविधा पुगेको छ भने बाकीमा आकाशे पानीको भरमा खेतीपाती गर्नु पर्ने किसानहरुको बाध्यता रहेको छ । नब्बे प्रतिशत महिला कृषिमा दार्चुलामा व्यावसायिक कृषि पेशा अँगाल्ने मध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको सङ्ख्या अधिक देखिएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिएका छन । सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवद्र्धनमा महिलाहरु विश्वसनीय देखिएको पन्तले बताए । कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकाले जिल्लाको कृषि क्षेत्र सुधारोन्मुख दिशातर्फ जाँदै गरेको कार्यालय प्रमुख पन्तको भनाई रहेको छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय गरेका महिलाले व्यवसायबाट मुनाफा गरी समयमै सावाँ तथा व्याजसमेत चुक्ता गर्दै आएको बैंक तथा वित्तीय संस्थाले बताएका छन् । दार्चुलामा ८० प्रतिशत खेतीयोग्य जमिन सिचाई विहिन कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङ्क अनुसार जिल्लमा कुल खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिन अझै सिचाई विहिन रहेको देखाएको छ । जिल्लामा २९ हजार ५ सय ५४ हेक्टर खेती योग्य जमिनमध्ये २० प्रतिशतमा मात्रै सिंचाईको सुविधा पुगेको छ भने बाकीमा आकाशे पानीको भरमा खेतीपाती गर्नु पर्ने किसानहरुको बाध्यता रहेको छ । सिञ्चाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको र बाली उत्पादनमा पनि समस्या हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । सुदुरपश्चिमका अन्य जिल्लाभन्दा दार्चुलामा सिञ्चाइको समस्याका कारणले थोरै जमिनमा खेती गरिएको पाइएको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन भए पनि सिञ्चाइको अभावका कारण बाँकी जमिन खेतीविहीन बन्नपुगेका हुन । सिचाईको समस्याका कारण जिल्लाको धेरैजसो खेतीयोग्य जमिनमा बाली लाग्न सक्दैन,’ जिल्ला कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले भने ‘सबै खेतीयोग्य जमिनमा बाली लागेको भए यहाँ खाद्यान्न अभाव हुने थिएन । यदि जिल्लामा खाद्यान्न अभाव हुनुमा सिचाइको समस्या नै प्रमुख रहेको बताइएको छ । ‘सिञ्चाइको व्यवस्था हुने हो भने दार्चुला कहिल्यै खाद्य असुरक्षित जिल्ला हुँदैन।’ जिल्लामा बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रै महिना तरकारी उत्पादन हुने गरेको छ । यस्तै जिल्लामा ४हजार ४सय ८० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । दार्चुलामा हरेक वर्ष ५ हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा मकै खेति हुदै आएको छ । उत्पादनको हिसाबले बर्सेनि दार्चुला जिल्लामा ९ हजार ४ सय १ मेट्रिक टन मकै उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । दार्चुलामा भएको कुल जनसंख्याको आधारमा २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेको छ । तर दार्चुलामा धान, गहु, मक्कै, जौ र कोदोको जम्मा उत्पादन भने १८ हजार ९ सय ६६ मेट्रिक टन मात्रै रहेको छ । यो आधारमा दार्चुला जिल्ला खाद्य संकट भएको जिल्लाको सूचीमा रहेको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये १२.२९ प्रतिशत जग्गा मात्रै खेति योग्य रहेको छ । त्यसमा पनि ६ हजार ७ सय १९ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन बाँझो रहेको ज्ञानकेन्द्र दार्चुलाको तथ्यांक रहेको छ ।

प्रतिक्रिया