Wide Nepal News शुक्रबार ०७, मङि्सर २०८१ १०:४२

व्यासबासीको पिडा : आफ्नै घर जान भारतको बाटो

Wide Nepal News
बुधबार, साउन १३, २०७८
दार्चुृला :  भारतसँगको सीमावर्ती गाउँ व्यासको पुरानो दुःख यसपालिको वर्षाले बल्झाइदिएको छ । आफ्नै घर जान छिमेकी देशको बाटो हिँड्नुपर्ने समस्या केही वर्षयता घोडेटोले हटाइदिएको थियो । तर, भारतीय पक्षले लिपुलेक जाने बाटो बनाउँदा महाकाली पुरिएपछि नदीले एक जुगमा एक पटक बनेको त्यही घोडेटो पनि भत्काइदिएको दुई महिना भइसक्यो । यसले गर्दा व्यासको जिल्लासँगको सम्पर्क टुटेको छ ।जेठ २५ मा भारतले सीमा नदी महाकालीको किनारै–किनार लिपुलेक जोड्ने सडकको चट्टान फुटाउन विस्फोट गराउँदा ढुंगा खसेर दुम्लिङ–कल्जु क्षेत्रको घोडेटो भत्किएको थियो । त्यसैमाथि अहिले व्यास गाउँपालिका–२ दुम्लिङदेखि माथिको बाटोमा बाढीपहिरो र महाकालीको कटानले क्षतविक्षत भएको छ ।असारको सुरुमै भएको वर्षाले नदीको सतह बढ्दा घोडेटो पनि कटानमा पर्न थालेपछि अहिले व्यास जाने घोडेटो पूरै बन्द भएको हो । बाटै नभएपछि गाउँ जान नसकिएको व्यास–१ का अस्पाल बुढाथोकीको गुनासो छ । दुम्लिङदेखि घाँटीबगड र दोपखेसम्मको क्षेत्रमा धेरै ठाउँमा पहिरो र कटानले बाटो अवरुद्ध भएको छ । नेपालतर्फको बाटो अवरुद्ध भएपछि भारतीय बाटो हुँदै उनी हालै सदरमुकाम आइपुगेका थिए । खलंगादेखि व्यास गाउँको बीचमा पर्ने सदरदुम्लिङ, कल्जु, तम्बाकु, थिकोभिर, घाँटीबगर, दोपखेलगायतका १५ ठाउँमा पहिरो खसेको छ । त्यसमाथि महाकालीले ठाउँ–ठाउँमा बाटो बगाएको छ,’ उनी भन्छन्, ‘यस्तोमा अब घर जाने बाटो भारतकै प्रयोग नगरी धर छैन ।’ जहाँ जहाँ भारतले सडक खन्दा महाकाली नदी छोएको छ, त्यहाँ त्यहाँ नेपाली जमिन बढी मात्रामा पहिरो गएको देखिएको उनले बताए । सडक बनाउँदा ठूल्ठूला ढुंगा किनारमा फाल्दा नदी नेपालतिर सरेर बाटो बगाएको हो ।व्यासको घोडेटो बर्सेनि जेठ–असारमा मर्मत गर्ने गरिएको थियो । मर्मत गरेको एक महिना पनि उक्त बाटो हिँड्न पाइँदैन । असार महिना लागेपछि काम गर्ने बानी परेका निकायहरूको काम असार–साउनको महाकालीको भेल बगाउँदा विगत चार÷पाँच वर्षदेखि स्वदेशबाट व्यास आवतजावत गर्न अप्ठ्यारो भइरहेको बुढाथोकीले बताए ।व्यासी शौका समुदायको बसाइँ सर्ने बेला पछिल्लो समय भारतीय बाटोको भर पर्नुपरेको छ । ‘तीन वर्ष अगाडिसम्म नेपालको घोडेटो बाटो हुँदै टिंकरसम्म जाने गरेको थिएँ,’ उनले भने, ‘तीन वर्षयता हामी भारतीय बाटो प्रयोग गर्न बाध्य छौं ।’ अन्य समुदायका मानिसहरू हिउँदमा व्यासबाट सदरमुकाम झरे पनि अस्पालको परिवार व्यास–२ थि भन्ने ठाउँमै बस्दै आएको छ । महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको तवाघाट–लिपुलेक सडकले नेपालको व्यास जोड्ने घोडेटो बाटो तहसनहस बनाएको हो । दुम्लिङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतिर धेरै क्षति भएको छ । ठूल्ठूला ढुंगाहरू नदी किनारमा खसेर ठाउँ–ठाउँमा नदी थुनिएको छ । व्यासको घोडेटो बाटो नेपालले बनाउने र बर्सेनि नदीको कटानले भत्किने तथा क्षति हुने गरेको छ । ढुंगा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेर नेपाली भूभाग कटान भइरहेको स्थानीय बताउँछन् ।सबैभन्दा अप्ठ्यारो मानिएको घाँटीबगरमा गत वर्ष नेपाली सेनाले एक करोडभन्दा बढी खर्च गरेर घोडेटो बाटो निर्माण भएको थियो । तर त्यो बाटो व्यासीहरूको घोडा, खच्चड हिँड्न लायक नभएको स्थानीय बताउँछन् । तम्बाकु भीरमा पनि उस्तै अवस्था छ । व्यासको बुदीसम्म बाटो ठाउँ–ठाउँमा जानै नसकिने गरी भत्केको छ । प्रदेश सरकारले गत वर्ष मात्रै ३० लाख बढी खर्च गरेर बाटो मर्मत ग¥यो । तर त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीय बताउँछन् ।सडक निर्माणमै भएको ढिलाइले व्यासीहरूले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेला–बेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपरेको छ । भारतीय शौका समुदायको सहजीकरणले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको व्यासका स्थानीय बताउँछन् । वडा र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भारतीय एसडीएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरूले वैधानिक रूपमा भारतीय बाटोको प्रयोगका लागि अनुमति पाउने गरेका छन् । गत वर्षबाट व्यासमा नेपाली सुरक्षाकर्मीको उपस्थिति बढ्दै गएको छ । व्यास–१ मा छाङरुमा सशस्त्र प्रहरी गुल्म र नेपाल प्रहरीको चौकी तथा टिंकरमा सीमा चौकी छन् । उक्त गुल्म र चौकीका सुरक्षाकर्मी पनि खलंगा आउनुपरे भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । बाटो नभएकै कारण सीमामा गस्ती जान नसकेको प्रहरी बताउँछन् । भारत र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाका व्यासी शौका समुदाय बर्सेनि ६ महिना खलंगा र ६ महिना व्यासको छाङरु–टिंकर बस्छन् । मंसिरतिर हिउँ पर्न थालेपछि उनीहरू खलंगा झर्छन् । खलंगाबाट २८ कोस उत्तरमा पर्ने हिमाली क्षेत्र टिंकर र छाङरु पर्दछ । दार्चुलामा मात्र बसोबास रहेको शौका समुदायको व्यासको छाङरु गाउँमा १ सय २० तथा टिंकरमा करिब ७० परिवार छन् ।

प्रतिक्रिया