Wide Nepal News बिहिबार ०३, असोज २०८१ १०:३४

सहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानको चौथो साधारणसभा गोकुलेश्वरमा सम्पन्न

Wide Nepal News
शनिबार, असोज २३, २०७८
दार्चुला : शहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ गोकुलेश्वरमा सभा सम्पन्न भएको हो । सहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठानका अध्यक्ष नरेन्द्र हमालको सभापतित्व तथा दार्चुलाका नेता बिक्रम धामीको प्रमुख आथित्यतामा स्मृति प्रतिष्ठानको चौंथो साधारण सभा सम्पन्न भएको हो । शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिहं धामीको विशेष आथित्यता रहेको स्मृति प्रतिष्ठानको चौंथो साधारण सभामा नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाका सभापति मोहन सिहं साउँद, युवा नेता जगदिश बिष्ट, शिक्षक लगायत अन्य स्थानियहरुको सहभागिता रहेको थियो । स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा बोल्ने वक्ताहरुले व्यक्तिगत स्वार्थमा भन्दा सामाजिक योगदानका विषयमा यो प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा समेत गरेका थिए । को हुन त सहिद रामचन्द्र हमाल ? शहिद रामचन्द्र हमालको जन्म दार्चुलाको साविक गोकुलेश्वर गाउँ विकास समितिको गाँजरी-९, हाल शैल्यशिखर नगरपालिका–९ मा भएको थियो बिसं १९८५ मा। त्यो बडा दसैंको दिन थियो। पिता परमानन्द विष्ट र माता जानकीदेवीको कोखबाट जम्मिएका थिए सहिद रामचन्द्र हमाल। बुवा परमानन्द दार्चुलाको लेकम गर्खामा दिनदुःखी र गरिब जनताको सेवा गथेँ। उनको यस्ता कार्यलाई मन नपराउने ठालु महाजनले विरोध गथेँ। बुवामाथि राणा शासनकालमा मुद्धा लगाईयो। लामो समयसम्म उनका बुवाले राजधानी काठमाडौंमा बस्नु पर्यो। यसरी बुवामाथिको अत्याचार देखेर रामचन्द्र हमाललाई सह्य हुँदैनथ्यो। उनले १० कक्षासम्मको पढाई बस्तीमै गरे। माथि टाँक नभएको सर्ट र तल कछाड लगाउने रामचन्द्र हमालको स्वभाव भएको श्रीमति पार्वतीले बताइन। ‘आफूले खान लागेको खानासमेत गरिबलाई दिन्थेँ, कसैका साना छोराछोरी देख्ने बितिक्कै समातेर काखमा लिन्थे। दिनदुखीको सेवामा सधै समर्पित हुन्थेँ,’ उनकी श्रीमति पार्वतीले भनिन्, ‘आफू सधैं काममा लागि दत्तचित्त भएर लागिरहने, तर गाउँका ठालु महाजनलाई त्यो सह्य थिएन।’ त्यतिबेला गोकुलेश्वरमा शिक्षा–दीक्षाको अवस्था राम्रो थिएन। सहित रामचन्द्र हमालले गर्न लागेको काम प्रति रिस र डाह गर्नेहरुको कमी थिएन। तर पनि समाजसेवामा निरन्तर लागि रहे। बिसं २०१७ सालतिर गाउँ–गाउँमा श्रीकान्त दौडाहा आउँथ्यो। त्यो दौडाहाले गाउँमा योजना बाँडेर जान्थ्यो। हमालले पनि गाउँमा दौडाहा आएको थाहा पाए। तर उनले दौडाहा भन्दा पनि काठमाडौं गएर विद्यालय र हुलाक खोसेर ल्याएका थिए। विद्यालय र हुलाक स्थापना गर्दा समेत विरोध गरे। पञ्चायत विरोधी हमालले ल्याएको स्कुलमा नपढ् भन्दै त्यहाँका ठुलाबडाले विरोध गरेको उनकी धर्मपत्नी पार्वती हमाललाई अहिले पनि झल्झलि याद आउछ। ‘अहिले मेरो श्रीमानले स्थापना गरेको स्कुलमै पढेकाहरु ठुल्ठुला मान्छे भएका छन्। गोकुलेश्वर माध्यमिक विद्यालय स्थापना भएपछि पञ्चायती पक्षधरले गाउँमा विद्यालय कसले स्थापना गर्यो भनेर खोजी गर्न थाले,’ उनले भनिन्,‘ श्रीमानले ‘मैले स्थापना गरेको’ भन्दा उनीहरुले कान समाते।’ स्कुलको स्थापना गरेपछि गरिबका छोराछोरी पढेलेखेपछि टाठाबाठा हुन्छन् भन्ने सोचेर पञ्चायत समर्थन मान्छेले हमालको खेदो खनेका थिए। तर पञ्चायत पक्षधरहरुको अत्याचार र दमनविरुद्ध हमाल कहिल्यै पछि हटेनन्। दार्चुला र बैतडी जोड्ने चौलानी नदीमा पुल नहुँदा निकै समस्या थियो। साउने भेलमा नदी तर्दा कयौं मानिसहरुले ज्यान गुमाएको पार्वती सुनाउँछिन्। २०२८ सालमा घाटको वारिबाट हमाल र पारिबाट लोकेन्द्र बहादुर चन्दले तारका लडा समातेर पुल हालेका थिए। गाउँका निमुखा जनताको शोषण गरेको कुरा रामचन्द्रलाई पचदैनथ्यो। त्यतिबेला पञ्चायतका ‘मण्डलेहरु’ हमाललाई रुचाउँदैन थिए। बझांगी राजा रामजंगका छोरा ओमजंग पञ्चायतविरुद्धको मुख्य सैनिक कमान्डरको रुपमा थिए। हमाल सहायक सैनिक कमान्डर भएर अग्रपंक्तिमा खटिए। हमालको ससुराली पनि बझाङनै हो। ००७ सालमा हमाल नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताको रुपमा अगाडी बढे्। २०१८ सालमा पार्टीको निर्णयानुसार बझाङबाट पञ्चायतविरुद्ध सशस्त्र संघर्षको अगुवाई गरे। ‘बझाङ काण्ड’ मा ओमजंगलाई दार्चुलाको मार्मामा पञ्चायतका सैनिकहरुले गोली हानेर घाइते बनाए। ओमजंगलाई हामाल काँधमा बोकेर ल्याउँदै थिए। पछाडीबाट गोली फायर गरियो। हमाल त्यहाँबाट भाग्न सफल भए। गाउँलेले हमाल आएको देखेर ‘काँग्रेस आयो’ भनेपछि दार्चुलातर्फ लागे। शाही नेपाली सेना माथि डाँडामा ‘डिफेन्स’ लिएर बसिरहेका थिए। तल रामचन्द्र हमाल। ‘काँग्रेस आयो’ भन्दै सेनाले समात्न कासन दियो। हमालले चलाखी देखाए। ‘काकड र रतुवा (पञ्चायती सेना) आयो’ भनेर स्थानीयलाई माथि डाँडातर्फ देखाए। गाउँलेलाई माथि डाँडामा हतियारधारी सेना आएको थाहाँ थिएन। सवै गाउँले काकड मार्न भन्दै माथि गएपछि हमालले सैनिक पक्षको रक्षापंक्ति तोडे। साउन महिनाको महाकालीको विशाल भेलमा नाङ्गै हाम फाले। पानी भित्रभित्रै लुकेर भारततर्फ लागे। २०१८ सालमा दार्चुलाबाट विस्थापित भएर भारतको पिथौरागढमा बस्न बाध्य भए हमाल। यता दार्चुलाको घर जग्गा जमिन सबै सरकारले कव्जा गर्यो। पञ्चायतका विरुद्ध लडेको ‘एक साहसी नेपाली’ भनेर भारतको काँग्रेस पार्टीले कलकत्ताबाट रासनको व्यवस्था गरेको थियो। पिथौरागढमा विस्थापित भएर बस्दै आएका हमाललाई भेट्न इन्दिरा गान्धी, विश्वेश्वरप्रसाद कोइराला हेलिकोप्टरमार्फत आएको श्रीमति पार्वती हमाल बताउँछिन्। नेपालबाट भागेर आएको काँग्रेसी नेता हमाल बलियो यौद्धा र साहसी भनेर ती नेताहरुले सम्मान गरेको बताइन्। अन्य छोराछोरीको जन्म नेपालमा भएपनि मोहन चन्द्र हमाल भने पिथौरागढमा जम्मिए। पञ्चायतको दमन र अत्याचार विरुद्धमा आवाज उठाउँदा दार्चुलाको मार्मामा मारिएका ओम जंगका बुवा बझाङ्गी राजा रामजंग पनि हमाललाई भेट्न पिथौरागढ जाने गर्थे। त्यहाँ आफ्नो छोराको गोली हानी हत्या गरेकोप्रति हमालसँग विलौना गर्ने गरेको पार्वती सुनाउँछिन्। केही वर्ष पिथौरागढमा हमाल परिवार विस्थापित भएर बसेपनि रामचन्द्रकी श्रीमति पार्वतीले नेपाल फर्कने निधो गरिन्। श्रीमानसँग छोराछोरी लिएर घर फर्कन्छु भनिन् पार्वतीले। श्रीमानलाई त्यही छोडेर पिथौरागढबाट छोराछोरीका साथ नेपाल फर्किन्। घर जग्गा जमिन, भाडाकुँडा, हमालले लगाउने जुत्तासमेत सरकारले लिलाम गरिसकेको थियो। छोराछोरीलाई लिएर रामचन्द्र हमालका भाई भैरवचन्द्र हमालको घरमा बसिन्। ‘म पनि कम कहाँ थिए, गाउँकाले मलाई केही गर्न सकेनन्,’ उनले भनिन्। त्यतिबेला रामचन्द्र हमालको घरमा एक जना काम गर्ने हली थिए। पार्वती घर फर्किएपछि काम गर्ने हली कहिलेकाही पिथौरागढ पुग्थे हमाललाई भेट्न। नेपालबाट केही सामान लगिदिन्थे। उनलाई पनि पिथौरागढमा गएर काँग्रेसलाई सहयोग गर्यो भनेर बैतडीको जेलमा हाले। बिसं २०२५ मा राजा महेन्द्रले विदेशमा रहेकालाई स्वदेश फर्कन अनुरोध गरी आममाफि दिएपछि रामचन्द्र हमाल पनि फर्किए। दार्चुला र बैतडीमा हमाललाई हजारौं जनताले भव्य स्वागत गरे। त्यतिबेला विश्वेश्वर प्रसाद कोइरालाले मेलमिलाप नीति ल्याएका थिए। गाउँ फर्किएपछि हमाल पनि समाजसेवामा लागे। सधै प्रजातन्त्र, देशको निर्माण र गरिब जनताको पक्ष लिने भएकाले पञ्च सामन्तीहरु हमालका विरुद्ध फेरी एकजुट हुन थाले। उनले नेपालमा आएर पञ्चायतसँग काँग्रेसले चुनाव लड्ने वातावरण मिलाए। त्यही अवधीमा हमाल गोकुलेश्वरका प्रधानपञ्च भए। सरकारलाई आफू गाउँमा असुरक्षित छु सुरक्षा चाहियो’ भनेपछि बैतडी र दार्चुलाबाट १-१ जना गार्डको व्यवस्था गरियो। २०२८ मा फेरी हमालमाथि षड्यन्त्र भयो। त्यही वर्ष फागुनमा गोकुलेश्वरमा भब्य रुपमा शिवरात्री मेला लागेको थियो। उक्त मेलामा हमालको हत्या गर्ने योजना पञ्चायती शासकहरुको थियो। ‘घर नछोड्नु भन्दा अघि हमालले मलाई पानी देउ भनेका थिए, म बाहिर सरेको चार दिन भयो मैले दिन मिल्दैन भने, बझाङबाट आएका भाईलाई पानी दिन भनेकी थिए,’ पार्वतीले भनिन्,‘पानी ल्याएर कोठामा आउँदा कोही थिएन, लोटामा ल्याएको पानी पनि नपिएर त्यहाँबाट गायव हुनुभयो।’ शिवरात्री मेलाको बेलानै हमाल काठमाडौं गए। त्यहाँ काँग्रेसका नेता कृष्णप्रसाद भट्राई लगायत संग हमालले भेटघाट गरे। हमाललाई काठमाडौं बस्नका लागि आग्रह गरिएको थियो। हमाल विपी कोईराला, कृष्णप्रसाद भट्राई लगायत नेतासँग नजिक भएकाले २०२८ फागुन २८ गते काठमाडौंको न्यूरोड (पिपलबोट) मा नेताहरु जम्मा भए। भुगोल पार्कमा रामचन्द्र हमालले पञ्चायती व्यवस्थाका विरुद्धमा क्रान्तिकारी भाषण गरे। राजाका विरुद्ध भाषण गर्यो भनेर मुद्धा हालियो। प्रहरीले पक्राउ गरी हमाललाई २०२९ सालमा जेल हाल्यो। काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक सुरक्षा कानुन अन्तर्गत काठमाडौं सेन्ट्रल जेलमा राख्यो। जेलमा हमाललाई कष्ट दिई लामो समयसम्म गोलघरमा राखियो। हमालसँगै काँगेसका नेता कृष्णप्रसाद भट्राई लगायत अन्य नेता पनि जेलमै थिए। हमाललाई पूर्वका काँगेसका नेताहरुले रासन र खाना दिन्थे। हमाल कहिलेकाही जेलभित्रबाट घरमा चिठ्ठी पठाउथेँ। हमालले त्यतिबेला घरमा पठाएका चिठ्ठीका दस्तावेज पनि सुरक्षित राखेको छोरा मोहनचन्द्र हमालले बताए। ‘रामचन्द्रले गोकुलेश्वरमा विकास निर्माण देखि अन्य कार्यमा पनि सुधार गर्यो अव गोकुलेश्वर फटाहाले खान्छन्’ भनेर लोकेन्द्र बहादुर चन्दले भन्ने गर्थे,’ पार्वतीले बिगत सम्झिन। श्रीमान रामचन्द्र हमालले नख्खु जेलबाट पठाएको चिठ्ठीमा ‘मलाई पञ्चायतीहरुले अब यही हत्या गर्ने हुन्, म अव घर फर्किदैन, तिमीहरु अव आफ्नो व्यवस्थामा बस्नु’ भनेर पत्र पठाएको उनले बताइन्। हमाललाई सल्यानमा काँगेसका विद्यार्थी नेता छवि देवकोटाले जेलमा खानेकुरा दिने, पत्रपत्रिका किनिदिने गथेँ। त्यतिबेला छवि देवकोटालाई रामचन्द्र हमालले ‘मेरो बालबच्चा सानै छन्, मलाई जेलमा मार्ने षड्यन्त्र भैसक्यो, यिनले मलाई अव छोड्दैनन्, मलाई माफि माग भन्दै छन् तर म माफि माग्दैन, मलाई मारेपछि काजक्रिया पनि तैले गर्नु, तँ मेरो धर्मपुत्र छोरो भईस् भनेर छविलाई धर्मपुत्र बनाएका रहेछन् भनेर काठमाडौंको धुम्वाराहीमा बस्दै आएका छवि देवकोटा हमालका सन्तानलाई बताउँछन्। हमाललाई नख्खु जेलभित्रै विसं २०३१ असोज ९ गते राती यातनापूर्वक हत्या गरियो। जेलमा हत्या गरिएपछि शव व्यवस्थापका लागि चार जना काँग्रेसका नेता र तीन जना तत्कालीन नेकपा एमालेका नेता गएका थिए। राधाकृष्ण मैनाली, सिपी मैनाली, छवि देवकोटा लगायतका गएका थिए। उनीहरुले नख्खुको जंगलमा खाल्डो खनेर हमालको आफ्नै कम्मलमा शवलाई बेरेर गाढेका थिए। घरमा लाल चिठ्ठी (रातो मसी)ले रामचन्द्र हमालका जेठा छोरा नरेन्द्र हमालको नाम परिवर्तन गरि गणेश हमालको नाममा पत्र आयो। चिठ्ठीमा ‘हमालले आफैले फाँसी लगाएर मरेको’ भन्ने व्यहोरा लेखिएको थियो। त्यो चिठ्ठी रामचन्द्र हमालका छोराहरुले सुरक्षित राखेका थिए। तत्कालीन माओवादी द्धन्द्धकालका बेला घरमा आक्रमण गरेपछि सवै दस्तावेज हराए भने केही चिठ्ठी अझै सुरक्षित राखेका छन्। रामचन्द्रका जेठी छोरीको विवाह भईसकेको थियो भने चार छोरा, श्रीमति, भाउजु मात्र घरमा थिए। हमाल जेलभित्र हुँदा पार्वती भने ३५ वर्षकी थिइन्। काशीराम पन्त, गोपाल मुखिया, कम्मान पाल, लोकेन्द्र बहादुर चन्द, कर्णबहादुर चन्द हमालका सँगै खानपान गर्ने साथी हुन्। श्रीमान रामचन्द्र हमाललाई जेलमा अत्याचार गरी मारेको पीडा पार्वतीमा एकातिर थियो भने अर्कोतिर छोराछोरीको लालनपालन गर्न निकै समस्या भयो गाउँमा। ८७ वर्षीया पार्वती हमालले छोराछोरीले त्यतिबेला भोगेको पीडा ब्यक्त गर्दा गहभरि आँसु पारिन। बुवाबाट सहाराबिहीन भएपछि पार्वतीले केरा, गुड ९सख्खड० विक्री गरेर छोराछोरीलाई पढाईन्। ‘छोराछोरीलाई स्कुल जाँदा लगाउने कट्टु थिएन,’ उनले भनिन्,‘दुख कष्ट गरी मालिकार्जुन भगवानले छोराछोरी पालिदियो।’ त्यतिबेला रामचन्द्र हमालका जेठा छोरा नरेन्द्रप्रकाश हमाल ८ मा र कान्छो छोरो मोहनचन्द्र हमाल ३ कक्षामा पढ्दै थिए। श्रीमान रामचन्द्र हमाल काठमाडौंको सेन्ट्रल जेलमा मारिएको थाहाँ पाएपछि गाउँमा ठालु–महाजन भोजराज विष्ट लगायतले खसी काटेर भोज खाएको पार्वती हमाल बताउँछिन्। श्रीमानलाई मारेको खवर पाएपछि गाउँमा छोराहरुलाई ठालु महाजनले केही गर्छन् की भन्ने चिन्ता पार्वतीको मनमा लागि रहन्थ्यो। त्यही भएर पार्वतीले जेठो छोरा नरेन्द्रप्रकाश हमाललाई बझाङ मावली घरमै बसेर १० कक्षासम्मको पढाई पुरा गराइन। पार्वती र उनका माईलो छोरा भने दार्चुला घरमै बसे। त्यति बेलाका बैतडीका माननीय दुर्गादत्त जोशी र द्धारिकादेवी ठकुरानी पार्वती हमालका साथी हुन्। २०४६ मा नेपाली काँग्रेसको नेतृत्वमा तत्कालिन कम्युनिष्ट पार्टीहरुको संयुक्त बाममोर्चा बनाएर आन्दोलनमा उत्रियो। ५० दिनसम्म चलेको त्योे आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो। यही आन्दोलनको फलस्वरुप हमालको लिलाम गरिएको जमिन फिर्ता भयो। रामचन्द्रको सम्पूर्ण लिलाम भएको सामानवापत ८०-९० हजार रुपैया सरकारले सहयोग गरेको छ। कृष्ण प्रसाद भट्राईले जमिनको मुआब्जा भनेर एक लाख रुपैयाँ दिएको हमालका कान्छा छोरा मोहनचन्द्र बताउँछन्। २०७४ जेठ २३ गते काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएको समयमा रामचन्द्र हमाललाई सहिद घोषणा गरेका हुन्। २०५२ देखि चलेको सशस्त्र द्धन्द्धमा तत्कालिन माओवादीले पुनः हमालको घर जग्गा कव्जा गर्यो। हमालका जेठा छोरा नरेन्द्रप्रकाश हमाललाई अपहरण गर्यो। ०५८ मा अछाममा भएको घटनामा दाईले गोली हानि हत्या गरिएका व्यक्तिहरुको शव बोक्ने काम गरेको कान्छा छोरा मोहनचन्द्रले बताए। ‘दाई नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए, तत्कालिन माओवादीले जवरजस्ती लगे, दार्चुलाको न्यायाधीश समेत बनाएका थिए,’ उनले भने, ‘सशस्त्र द्धन्द्धको अन्त्य भएपछि फिर्ता आउनुभयो।’ २०४८ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि दार्चुलामा दुई क्षेत्र थिए। एउटा क्षेत्रबाट रामचन्द्रका साहिंला छोरा हरिशचन्द्र हमाललाई काँग्रेस पार्टीबाट टिकट दिएको भएपनि रातारात नाम काटेर अर्कालाई उम्मेदवार उठाएको मोहनचन्द्र हमालले बताए। पार्टीले अवमुल्यन गरेकै कारण बुवाको विडो थाम्ने साहिंला छोरा हरिशचन्द्र प्रति पार्टिले नै घात गरेपछि २०५२ मा अमेरिका पलायन भए। पार्टीबाट सहिद परिवारको अवमूल्यन भएको ठहर गर्दै गणेशदत्त पन्त लगायतको पहलमा २०७४ मा शहिद रामचन्द्र हमाल स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। शहिद रामचन्द्र हमालले गरेको पार्टी प्रतिको कदर गर्दै नेपाली काँग्रेसले अहिले जेष्ठ नागरिक सभामा सहिद हमालकी धर्मपत्नीलाई समेत छनोट गरेको छ। सहिद हमालका चार छोरा नरेन्द्रप्रकाश, देबेन्द्र प्रकाश, हरिशचन्द्र र मोहनचन्द्र आआफ्नै काममा सक्रिय छन्। हमालका जेठा छोरा दार्चुलामा बस्छन। माईला देबेन्द्रप्रकाशको मृत्यु भइसकेको छ भने साहिला हरिशचन्द्र अमेरिका र कान्छा मोहनचन्द्र धनगढी उपमहानगरपालिकामा बस्दै आएका छन्। रामचन्द्र हमाल छोरीहरु कौशल्यादेवी र राधिकादेवी पनि आफ्नै काममा सक्रिय छन्।

प्रतिक्रिया