काठमाडौं महानगरपालिकाले ई-स्पोर्ट्सका लागि एक करोड बजेट बिनियोजन गरेको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
कतिपय मिडियाले बजेटको विषयलाई फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’सँग जोडेर समाचार प्रकाशित गरेका छन्। रूटिन अफ नेपाल बन्दले उक्त समाचार खण्डन छ।
काठमाडौं महानगपालिकाका मेयर बालेन शाहका स्वकिय सचिव भुपदेव शाहले पनि कुनै निश्चित कम्पनीका लागि बजेट नछुट्याइएको बताए।
उनका अनुसार काठमाडौं महानगरले अन्तर्राष्ट्रिय स्तरको ई-स्पोर्ट्स प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो।
‘ई-स्पोर्ट्सको सञ्जाल बढिरहेको छ। धेरैले यसमा करिअर समेत बनाइरहेका छन्। व्यवसायिक रूपमा खेल्न थालिएको छ। मानिसहरू परम्परागत खेलबाट ई-स्पोर्ट्समा सिफ्ट भइरहेका छन्। यो विषयमा अध्ययन गरेपछि ई-स्पोर्ट्स प्रतियोगिताका लागि बजेट छुट्याएको हो,’ शाहले भने।
उनले प्रतियोगिताको आयोजक महानगरपालिका हुने बताए। प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने संस्थासँग समन्वय गरिने उनको भनाइ छ।
मेयर बालेन शाहले चुनाव अघि आफ्नो घोषणापत्रमै ई-स्पोर्ट्सका लागि काम गर्ने उल्लेख गरेका थिए।
बजेट छुट्याउनुअघि बालेनले अन्य देशका ई-स्पोर्ट्स टिम कसरी नेपाल ल्याउन सकिन्छ भनेर परामर्श गरेका थिए। भारतका चर्चित गेमरको खेलाडीको लाइभ स्ट्रिमिङमै एक लाख बढी भ्यू हुने र उनीहरूलाई ल्याएर खेलाउन सकिए भारतमा काठमाडौंबारे सकारात्मक सन्देश जाने महानगरको योजना छ।
नेपालमा ई-स्पोर्ट्स खेल्ने दर्ता भएका दुई दर्जन बढी टिम छन्। उनीहरूले काठमाडौं महानगरले आयोजना प्रतियोगितामा भाग लिन सक्नेछन्।
‘द रियल सोल्जर्स’ (डिआरएस) गेमिङ वैधानिक रूपमा दर्ता भएको पहिलो ई-स्पोर्ट्स टिम हो। २०७६ मा दर्ता भएको डिआरएसले २०७७ को चैतमा आफ्नो टिममा पाँच खेलाडी आबद्ध गर्दै नेपालमा ई-स्पोर्ट्सको व्यवसायिक सुरुवात गरेको थियो।
डिआरएस गेमिङका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल हुन्। पौडेल ‘रूटिन अफ नेपाल बन्द’ का सञ्चालकसमेत हुन्।
पछिल्लो समय ई-स्पोर्ट्सका विभिन्न खेलमा युवाको आकर्षण बढिरहेको छ। अझ यसबाट लाखौं आम्दानी समेत गर्न सकिने भएकाले व्यवासियक रूपमा अघि बढ्नु पर्ने नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) अध्यक्ष सुरज डंगोलले बताउँछन्।
‘महानगरले ई-स्पोर्ट्सका लागि बजेट छुट्याउनु सकारात्मक कुरा हो। तर यो बजेट पारदर्शी किसिमले खर्च गर्नुपर्छ,’ डंगोलले भने।
खेलकुद ऐनका कारण राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुन नसकेको नेसालाई नेपाल ओलम्पिक कमिटीको भने मान्यता छ।
एसियाली देशहरूका लागि ओलम्पिकपछिको प्रतिष्ठित खेलकुद प्रतियोगिता एसियाली खेलकुदको १९औं संस्करणमा दुई खेलमा पहिलो पटक प्रतिस्पर्धा हुनेछ।
चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा ई-स्पोर्ट्स र ब्रेक-डान्सिङमा पहिलो पटक प्रतिस्पर्धा हुँदैछ। यसअघि भदौ २५ देखि असोज ९ सम्म हुने तय भएको एसियाली खेलकुद कोभिड-१९ का कारण स्थगित गरिएको थियो। प्रतियोगिताको नयाँ मिति चाडै सार्वजनिक गर्ने आयोजकको भनाइ छ।
एसियाली खेलकुद पहिलोपटक प्रतिस्पर्धा हुन लागेको ई-स्पोर्ट्सलाई इन्डोनेसियामा सन् २०१८ मा भएको एसियाडमा प्रदर्शनी खेलको रूपमा राखिएको थियो।
यसपटक भने ई-स्पोट्सलाई आधिकारीक खेलको मान्यता दिइएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) ले इस्पोर्ट्सलाई माइन्ड स्पोर्ट्स विधामा राखेको छ। माइन्ड स्पोर्ट्समा इस्पोर्ट्सहित चेससहितका खेल छन्।
कम्प्युटर/मोबाइलको सहायताले भर्चुअल रूपमा खेलिने ई-स्पोर्ट्सको ८ खेलमा एसियाली खेलकुदमा प्रतिस्पर्धा हुनेछ। जसमा नेपालले ६ खेलमा खेल्ने प्रयास गर्नेछ।
त्यसका लागि नेपालले राष्ट्रिय छनोट सम्पन्न गरिसकेको छ। नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) का अनुसार राष्ट्रिय छनोट पार गरेका खेलाडीले दक्षिण एसियाली छनोटमा भाग लिनेछन्। छनोटको नयाँ तालिका छिटै सार्वजनिक हुने नेसाका अध्यक्ष सुरज डंगोलले बताए।
नेपालले पब्जी मोबाइल, डोटा-२, हर्थस्टोन, ईए स्पोर्ट्स फिफा ब्रान्डेड सोकर गेम्स, एरेना अफ भालोर र ड्रिम अफ थ्री किङडम्स-२ का लागि एसियाली खेलकुदका लागि छनोट खेल्नेछ। फिफा र हर्थस्टोनमा एक जना खेलाडी हुनेछन् भने बाँकी चार खेल समूहगत खेल हो।
ओलम्पिक काउन्सिल अफ एसियाले अन्य खेलका लागि नेपाललाई कोटा दिने भए पनि ई-स्पोर्ट्स खेल्नका लागि भने छनोट पार गर्नुपर्ने नियम बनाएको छ।
त्यहीअनुसार छनोट भएका ई-स्पोर्ट्सका खेलाडीले आगामी जुन-जुलाईमा हुने क्षेत्रीय छनोटमा नेपालको झन्डामा भर्चुअल युद्ध लड्नेछन्।
क्षेत्रीय छनोटबाट नेपालले एसियाड खेल्न पाउने वा नपाउने पक्का हुनेछ।
इलोक्ट्रोनिक मध्यमबाट खेलिने भएकाले ‘ई-स्पोर्ट्स’ नाम दिइएको हो। यी खेल मोबाइल र कम्प्टुरमा खेल्न सकिन्छ। दुवै डिभिजनका लागि छुट्टा छुट्टै गेम हुन्छन्।
ई-स्पोर्ट्सबाट प्रतिस्पर्धा र सामजिक सञ्जालमा आफूले खेलेको प्रत्यक्ष प्रशासण गरेर पैसा कमाउन सकिन्छ। विश्वका कतिपय चर्चित खेलाडीले खेलेको प्रत्यक्ष प्रशारण एकै पटक लाख भन्दा बढीले हेर्ने गरेका छन्। यस्तै प्रायोजन र विभिन्न टिममा आबद्ध भएर पनि पैसा कमाउन सकिन्छ।
कतिपय देशले ई-स्पोर्ट्सलाई अरू परम्परागत खेल जतिकै मान्यता दिइसकेका छन्।
ई-स्पोर्ट्सलाई नेपालमा बुझाउन गाह्रो भएको अध्यक्ष डंगोलले बताए। उनले कुनै कुरामा बढी लाग्न नहुने बताउँदै ई-स्पोर्ट्स लत नबनाई निश्चित समय दिएर खेल्नु पर्ने बताए।
प्रतिक्रिया