दार्चुला : नेपाली भूमि गुञ्जीमा भारतले आफ्नो देशको झण्डा राख्ने तयारी गरेको छ । गुञ्जीमा भारतले ४५ लाखको लगानीमा १ सय फिट अग्लो झण्डा राख्ने तयारी गरेको हो ।
‘समुन्द्री सतहबाट करिब ३ हजार २ सय मिटरको उचाइमा रहेको नेपाल–भारत सीमानामा रहेको गुञ्जीमा झण्डा फहराइनेछ,’ भारतीय सञ्चार माध्यम अमर उजालाले लेखेको छ,‘यसका लागि तयारी पूरा भएको छ । छिट्टै जिल्ला प्रशासनले करिब ४५ लाखको लागतमा जिल्ला योजनामा तिरंगा जडान गर्ने भएको छ ।’
भारतले नेपाली भूमि गुञ्जीमा झण्डा राख्ने तयारी गरेपनि यसबारे दार्चुला प्रशासनलाई जानकारी छैन् । ‘भारतले आफ्नै भूमिमा झण्डा राख्न लागेको होला,’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने, ‘गुञ्जी सीमावर्ती क्षेत्र हो, हाम्रो भूमिमा झण्डा राख्न दिदैनौं ।’
२०७७ जेठ ७ गते नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा भारतले अतिक्रमण गरेको नाभी, कुटी र गुञ्जी गाउँ समेत समेटिएको छ ।
सुगौली सन्धिलगायत अन्य विभिन्न तथ्य र प्रमाणका आधारमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी भएको थियो । अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको दुई वर्ष पुग्नै लाग्दा पनि नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कुटनीतिक पहल गरेको छैन् ।
चुच्चे नक्सा जारी गर्न नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री ओली अहिले सरकार बाहिर छन् । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपा सहितको गठबन्धन सरकार छ ।
यद्यपी भारतको कब्जामा रहेको भूमिमा नेपालले उपस्थिती देखाउन सकेको छैन् । कालापानी, लिपुलेक, लिम्पियाधुरा नक्सामा मात्रै सिमित छ । त्यस क्षेत्रका नाभी, कुटी र गुञ्जी गाउँमा भारतले निरन्तर आफ्ना गतिविधि गर्दै आएको छ । ती तीन गाउँमा भारत सरकारले निशुल्क रुपमा स्वास्थ्य, शिक्षा, रासन, रोजगार दिदै आएको छ ।
भारतले उक्त क्षेत्रमा पाँच वटा सैनिक ब्यारेक र हेलिप्याड निर्माण गरेको छ । इतिहासविद्हरूका अनुसार भारत सरकारले २०३५ सालदेखि नाभी, कुटी र गुञ्जीलाई अतिक्रमण गरी गाउँबासीहरूलाई विभिन्न् किसिमका सेवा र सुविधा दिई भोगचलन गर्न सुरु गरेको थियो ।
गुञ्जी, नाभी र कुटी गाउँका बासिन्दाहरूले २०३५ सालसम्म नेपाल सरकारलाई बाली बुझाउँदै आएका थिए । नापी विभागका अनुसार नाभी, कुटी र गुञ्जी गाउँमा ३ सय हेक्टर कृषि योग्य जमिन छ । यसैगरी १ हजार ५ सय हेक्टर जंगल र करिब ६ सय हेक्टर ताल–तलैया, नदीलगायत जलक्षेत्र छ ।
बसोबास क्षेत्र भने करिब ३ हेक्टर मात्र छ । विक्रम संवत् २००९÷०११ मा गरिएको जनगणनामा नाभी, कुटी र गुञ्जी गाउँको जनसंख्या १ हजार ८ सय १६ रहेको थियो । ती तीन गाउँमा २०१८ सालमा पनि जनगणना गरिएको जानकारहरु बताउँछन् ।
इतिहासविद्का अनुसार सन् १९५५ देखि भारत सरकारले कालपानी क्षेत्रमा सैनिक उपस्थिति गराएको देखिन्छ । सन् १९६२ देखि सैनिक उपस्थितिलाई अझ बलियो बनाएको इतिहासकारहरू बताउँछन् ।
द्वारिकानाथ ढुंगेल दार्चुलामा प्रमुख जिल्ला अधिकारी भएको बेला २०३८ साल साउनमा गुञ्जी गाउँमा पुगेका थिए । कुराकानीको क्रममा ढुँगेलसँग गुञ्जीबासीले आफूहरूसँग नेपाली नागरिकता रहेको सुनाएका थिए ।
- सीमारेखा डटकम बाट साभार
प्रतिक्रिया