Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३६

वर्ष २०७८ भर चर्चामा रहेका ८ खेलाडी

Wide Nepal News
बिहिबार, बैशाख ०१, २०७९
कोरोना महामारीका कारण वर्ष–२०७८ को सुरुवाती ६ महिना खेलकुद गतिविधि प्रायः ठप्प थिए । झण्डै दुई वर्षपछि खेलकुद चलायमान बन्दा वर्षको अन्त्यतिर सबै खेलका खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त रहे । नेपाली खेलकुद वर्ष २०७८ लाई सम्झनलायक बनाउन खेलाडीले पाएको समयको भरपूर उपयोग गरे । केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको नाम उँचो पारे । केही खेलाडी मैदान बाहिरका गतिविधिबाट चर्चित रहे । केही रेकर्ड बने, केही तोडिए । यो वर्ष अर्थात २०७८ मा चर्चामा रहेका ८ खेलाडी । प्रिन्स दाहाल, ब्याडमिन्टन यो वर्ष ब्याडमिन्टनका जुनियर खेलाडी प्रिन्स दाहाल र नेपाली खेलकुदकै लागि गर्वको क्षण आयो । सन् २०२२ को जनवरी (२०७८ पुस) मा विश्व ब्याडमिन्टनले जारी गरेको जुनियर वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लिए । एकल खेलकुदमा नेपाली खेलाडीले पाएको यो सबैभन्दा उच्च वरीयता र सफलता हो । १८ वर्षीय प्रिन्स सन् २०२१ मा तेस्रो नम्बरमा थिए । जुनियर विश्व नम्बर एक प्रिन्स सिनियरमा पनि नेपालमा आठौं स्थानमा पुगेका छन् । फागुनमा पुष्पलाल स्मृति वरीयताप्राप्त राष्ट्रिय ब्याडमिन्टन, जेष्ठ ब्याडमिन्टन प्रतियोगितालगायतका घरेलु प्रतियोगिताको उपाधि जिते । अन्तर्राष्ट्रियस्तर शीर्ष वरीयतामा पुगेपछि उनलाई ब्याडमिन्टन खेल सामग्री उत्पादन कम्पनी योनेक्स सनराइजले अहिलेसम्मकै सर्वाधिक प्रायोजन गरेको छ । सन्दीप लामिछाने, क्रिकेट नेपाली क्रिकेटको ग्लोवल एम्बासडरका रुपमा उदाएका सन्दीप लामिछाने पनि वर्षभरि चर्चामा रहेका खेलाडीमध्येका एक हुन् । सन्दीपको करिअरकै महत्वपूर्ण समय यो वर्ष आयो । उनी २१ वर्षको उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान भए । सन्दीपले यसै वर्ष टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरे । फागुनमा ओमान भएको चारदेशीय टी–२० श्रृंखलामा आयरल्यान्डविरुद्ध विकेट लिएसँगै उनले सो कोशेढुंगा पार गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको ७३ विकेट पुगिसकेको छ । चैतमा त्रिवि मैदानमा पपुवा न्युगिनीसँगको श्रृंखलाअन्तर्गत दोस्रो खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा पनि ५० विकेट पूरा गरेका हुन् । खेलाडी र क्यान विवादको परिणामबाट राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा जिम्मेबारी पाएयता उनी नेपालको टोलीमा कप्तानसहित शीर्ष बलरको भूमिकामा छन् । आईसीसी टी–२० विश्वकपको ग्लोवल क्वालिफायरको सेमिफाइनलमा पराजित हुनु सन्दीपको कप्तानी करिअरको सुरुवाती झड्का थियो । चैतमा सम्पन्न मलेसिया र पीएनजीसम्मिलित टी–२० श्रृंखलाको उपाधि कप्तानका रुपमा सन्दीपको पहिलो उपाधि हो । कुशल भुर्तेल, क्रिकेट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेकै वर्ष कुशल भुर्तेलले एकपछि अर्को कीर्तिमान बनाउँदै गए । वर्षभरि नै अन्तर्राष्ट्रिय टी–२० मा कुशलको प्रदर्शन एकरुपको रह्यो । टी–२० अन्तर्राष्ट्रियको इतिहासमै १२ इनिङ्समा ५०० रन पूरा गरेर उनले नयाँ कीर्तिमान बनाएका छन् । वैशाखमा नेदरल्याण्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक शृंखलामा डेब्यू गरेका कुशलले सोही श्रृंखलामा लगातार चार अर्धशतक बनाए । उनले अहिलेसम्म ५ अर्धशतक र एक शतक बनाएका छन् । ओमानमा भएको टी–२० विश्वकप छनोटको खेलमा उनले फिलिपिन्सविरुद्ध १०४ रनको अविजित पारी खेलेका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने पारस खड्का र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् । अरुणा शाही, भलिबल यो वर्ष नेपाललाई एसियन सेन्ट्रल जोन भलिबलमा लगातार दोस्रो उपाधि दिलाउन कप्तान अरुणा शाहीको भूमिका महत्वपूर्ण थियो । २६ वर्षीया सेटर अरुणाकै नेतृत्वमा नेपालले दुई वर्षअघि पहिलोपल्ट एसियालीस्तरको प्रतियोगिता जितेको थियो । उनको कप्तानीमा असोजमा सम्पन्न भएको एनभीए क्लब च्याम्पियनसिपको उपाधि न्यू डायमन्ड एकेडेमीले जितेको थियो । उनले मनोरञ्जन शर्मा अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड–२०७८ पाइन् । पुप्षा भण्डारी, एथलेटिक्स अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न ढाका म्याराथनमा स्वर्ण जितेकी सल्यानकी पुष्पा भण्डारीले सोही प्रतियोगिताको यो संस्करणमा कांस्य पदक जितिन् । अन्तर्राष्ट्रिय म्याराथनमा पहिलो स्वर्ण जित्ने कीर्तिमान बनाएकी पुष्पाले यसपल्ट टाइमिङ सुधार गरे पनि उपाधि रक्षा गर्न सकिनन् । म्याराथन दूरी दुई घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरेकी पुष्पा दुई वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा रजत पदकधारी हुन् । उनले त्यतिबेला २ घण्टा ५० मिनेट ११ सेकेण्ड टाइमिङसहित महिला म्याराथनमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । चैतमा आयोजित पल्सर स्पोर्टस अवार्डमा पुष्पाले पफर्मर अफ द इयरको रुपमा स्पेसल अवार्ड पाइन् । एपीएफ क्लबकी खेलाडी उनले घरेलु हाफ म्याराथनसहित मध्यम दूरीका प्रतियोगिताहरु उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । किरण चेम्जोङ, फुटबल नेपाली राष्ट्रिय टोली पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा किरण चेम्जोङको नेतृत्वदायी भूमिका र गोलरक्षण कौशलको खुवै चर्चा भयो । उनलाई नेपाली फुटबलको ‘ग्रेटवाल’ भन्ने गरिन्छ । उनको उत्कृष्ट गोलरक्षा क्षमताले नेपालमा मात्रै नभइ दक्षिण एसियाली क्षेत्रमै चर्चा हुनेगर्छ । उनकै कप्तानीमा नेपालले एसियन कप छनोट दोस्रो चरण पार गर्दै तेस्रो चरण प्रवेश गरेको छ । राष्ट्रिय टोलीका सफल कप्तान किरण क्लब फुटबलमा पनि उत्तिकै प्रभावशाली छन् । वैशाखमा आयोजित नेपाल सुपर लिगमा धनगढी एफसीलाई उपविजेता बनाउन पनि उनको भूमिका महत्वपूर्ण थियो । दिपेन्द्रसिंह ऐरी, क्रिकेट नेपाली क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० वरीयताको अलराउन्डरतर्फ १०औँ स्थानमा उक्लिएका छन् । आइसिसीले जारी गरेको नयाँ वरीयतामा टी–२० को अलराउन्डरतर्फ शीर्ष १० मा अटाएका हुन् । दिपेन्द्रले १५२ रेटिङ अकंका साथ नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट वरीयतामा परेका हुन् । आइसिसीको कुनैपनि वरीयतामा शीर्ष १० भित्र पर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । दिपेन्द्रले श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा, बंगलादेशका कप्तान महमुदुल्लाह र अष्ट्रेलियाका मिचेल मार्र्सलाई पछि पारेका छन् । हसरंगा ११औँ, मार्स १७औँ र महमुदुल्लाह २०औँ स्थानमा छन् । पलेशा गोबर्द्धन, पारा तेक्वान्दो पारा खेलकुदमा यस वर्ष तेक्वान्दोको प्रदर्शन उत्कृष्ट थियो । १९ वर्षीया पलेशा गोवर्धनले टोकियो पाराओलम्पिकमा पदक नजिक पुगेर चुकिन् । ओलम्पिक प्रतिस्पर्धामा दुई खेल जितेर कीर्तिमान बनाएकी उनी रिपिचेजअन्तर्गत कांस्य पदकका लागि भएको खेलमा चीनकी खेलाडीसँग पराजित भइन् । त्यसअघि उनले अमेरिकी र सर्वियाली खेलाडीलाई हराएकी थिइन् । ओलम्पिकबाट फर्केको दुई महिनापछि एसियन पारा युथ गेम्समा पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत स्वर्ण पदक जितिन् । एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडीले जितेको यो सबैभन्दा ठूलो पदक हो । पारा तेक्वान्दोमा कम्तिमा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने खेलाडीले के–४४ विधामा प्रतिस्पर्धा गर्छन् । ५७ केजीमुनी तौलसमूहमा पलेशाले इरानकी रोजा एब्राहिमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । विश्व वरीयताको नवौं स्थानमा रहेकी पलेशाले आसन्न एसियाली खेलकुदमा वरीयताका आधारमा प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ ।

प्रतिक्रिया