Wide Nepal News आइतबार १८, कार्तिक २०८१ ११:२५

बिबिसीका ग्लोबल रिपोर्टर नवीनसिंह खड्कासँग मैले जे सिकेँ

सम्बाददाता सम्बाददाता
आइतबार, कार्तिक ११, २०८१
बिबिसीका ग्लोबल रिपोर्टर नवीनसिंह खड्कासँग मैले जे सिकेँ

म सिक्छु, म लेख्छु

मैले कतै पढेको हुँ वा कसैले मलाई भनेको हो — मान्छेले आफ्नो काममा सधैं 'अपडेटेड' रहनुपर्छ; जो अपडेटेड रहँदैन, ऊ 'आउटडेटेड' हुन्छ।

मलाई 'आउटडेटेड' हुनु छैन।

एक पत्रकारका रूपमा हाम्रो सिकाइको मुख्य स्रोत बढीभन्दा बढी पढ्ने, बढीभन्दा बढी सुन्ने र बढीभन्दा बढी लेख्ने नै हो।

सिकाइका यी संघर्ष जारी छन्।

व्यक्तिगत रूपमा म अग्रज पत्रकारहरूदेखि सहकर्मी तथा समकालीन साथीहरू र नयाँ पुस्ताका पत्रकारले लेखेका स्टोरीलाई नै सिकाइको मूल मान्छु। किताब पढूँ या नपढूँ; हरेक दिन अनलाइन वा अखबारमा छापिएका स्टोरी पढेकै हुन्छु — सूचनाको निम्ति मात्र होइन, रचनाको निम्ति पनि।

कसले कुन स्टोरी कसरी लेखे, कुन विषय कसरी उठाए, स्थलगत रिपोर्टिङ कसरी गरे, कुन मुद्दामा कस्तो न्यारेटिभ बनाए — यस्ता विषय जान्न र सिक्न म हरेकदिन पाएसम्मका स्टोरी मोटामोटी पढ्छु। मिहिनेत गरेर लेखिएको लामो फिचर त कसैगरी छुटाउँदिनँ।

मेरो पठनको सिलसिला अमेरिकी अखबारहरू 'न्यूयोर्क टाइम्स' देखि 'न्यूयोर्कर' र भारतीय अनलाइनहरू 'स्क्रोल' देखि 'द वायर' सम्म तन्किएको छ। बेलायतको 'द गार्डियन' होस् या सिंगापुरको 'स्ट्रेट्स टाइम्स', मलेसियाको 'मलेसियाकिनी' या हङकङको 'साउथ चाइना मर्निङ पोस्ट'; म सबै रूचिपूर्वक पढ्छु। यसको कारण त्यहाँका खबरमा अचाक्ली चाख भएर पक्कै होइन; मुख्य कारण उनीहरूको पत्रकारिता कस्तो छ, लेखाइ कस्तो छ, लेखनमा कस्तो–कस्तो शैली विकास भइरहेको छ भनेर जान्न र सिक्न हो।

पछिल्लो समय मलाई एउटा प्रश्नले घच्घच्याइरहेको छ — अन्तर्राष्ट्रिय मिडियाले कसरी काम गर्छ? त्यहाँका पत्रकार कसरी रिपोर्टिङ गर्छन्? कसरी लेख्छन्? विषयवस्तु कसरी उठाउँछन्? सूचनामा रचना कसरी भर्छन्?

यो कौतूहल यस कारण पनि जाग्यो, किनभने मलाई नेपालका न्यूजरूम कसरी चल्छन्, हामी नेपाली पत्रकारहरू कसरी काम गर्छौं, कसको लेखन कस्तो छ भन्ने मोटामोटी थाहा छँदैछ। तर यो थाहा छैन — बिबिसी वा सिएनएनले कसरी काम गर्छन्? न्यूयोर्क टाइम्स वा न्यूयोर्करले जसरी लेख्छन्, त्यस्तो कसरी लेख्छन्?

मलाई यो पनि थाहा छैन — त्यहाँका पत्रकार कसरी सूचना संकलन गर्छन्? र, सूचनामा रचना कसरी भर्छन्?

मेरो यही सिकाइ संघर्ष र काममा 'अपडेटेड' रहने क्रमकै निरन्तरता हो, यो शृंखला।

यसमा म अन्तर्राष्ट्रिय मिडियामा काम गरिरहेका नेपाली वा विदेशी पत्रकारसँग अनलाइन (मौका मिले प्रत्यक्ष भेटेर पनि) वार्ता गर्नेछु र उनीहरूको अनुभवबाट नयाँ कुरा सिक्ने प्रयत्न गर्नेछु। समाचार लेखनको नयाँ ट्रेन्ड के हो? फिचर लेख्ने नयाँ तरिका के–के हुन सक्छन्? सूचना पस्कन के–कस्ता नयाँ शैली अपनाउन थालिएको छ? पत्रकारिता र लेखनसँग जोडिएका यस्ता विभिन्न विषयमा म अन्तर्राष्ट्रिय पत्रकारहरूसँग कुरा गर्नेछु।

अरूको पत्रकारिता र लेखनबाट नै हाम्रो पत्रकारिता र लेखन सिसाकलमझैं तिखारिन्छ भन्ने मेरो बुझाइ छ। त्यसैले यो शृंखलालाई मैले आफ्नो पत्रकारिता सिकाइको नयाँ कक्षाका रूपमा लिएको छु।

म सिक्छु; अनि जे सिक्छु, त्यो लेख्छु।

NavinSinghKhadka2-1727949007.jpg

शृंखलाको पहिलो अध्यायमा म कुरा गर्दैछु नवीनसिंह खड्कासँग, जो बिबिसी लन्डनमा वातावरण/जलवायु विशेषज्ञका रूपमा काम गरिरहेका छन्।

हिमालको हावापानी होस् या अमेजन जंगलको आगलागी, वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करी या कार्बन उत्सर्जनको अन्तर्राष्ट्रिय मुद्दा; नवीनसिंह खड्का बिबिसी लन्डनको विश्वसेवादेखि क्षेत्रीय भाषाका सेवाहरूमा समाचार/फिचर लेख्छन् र आफ्नो विशेषज्ञ टिप्पणी दिन्छन्।

मैले यो शृंखलाका लागि उनीसँग ह्वाट्स–एपमा दुई घन्टा कुरा गरेको थिएँ। पटक–पटक मेसेज पठाएर आफ्नो खुल्दुली मेटेको थिएँ। कतिचोटि उनले आफ्नो बेफुर्सदीका कारण मेरो जिज्ञासाको जबाफ अडिओ रेकर्डिङ गरेर पठाइदिएका थिए।

नवीनसँगको कुराकानीबाट मैले मुख्यगरी चारवटा कुरा सिकेँ —

पहिलो, जुन विषयमा लेख्न खोजेको हो, त्यसबारे आफ्ना सिनियर वा सम्पादकसँग कसरी कुरा गर्ने?

दोस्रो, सामाजिक सञ्जालको बढ्दो प्रयोग र पाठकहरूको बेफुर्सदीबीच हामीले लेख्ने स्टोरीमा सूचना मात्र पर्याप्त हुन्छ कि रचनाको पनि उत्तिकै महत्त्व हुन्छ?

तेस्रो, आज पाठकहरूको हात–हातमा मोबाइल छ, नयाँ पुस्ता अक्षर पढ्नभन्दा दृश्य हेर्न र आवाज सुन्न चाहन्छन्। यस्तो बेला पत्रकारहरूले लेखेर मात्र सूचना प्रवाह गर्न सक्छन्?

चौथो, इन्टरनेटको दुनियाँमा 'अल्गोरिदम' र 'सर्च–एनालिटिक्स' को दबदबाबीच स्टोरीलाई धेरै पाठकसम्म पुर्‍याउने तकनिक के हो?

यसबाहेक विषयगत रिपोर्टिङमा विशेषज्ञता कसरी बढाउने, अन्तर्राष्ट्रिय मिडियाका पत्रकारको काम गर्ने तौरतरिका र न्यूजरूममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोगबारे पनि मैले बिबिसी पत्रकार नवीनसिंह खड्कासँग कुरा गरेँ।

मेरो सिकाइ साझा गर्नुअघि नवीनसिंहको पत्रकारिता यात्राबारे संक्षिप्त जानकारी दिऊँ —

प्रेस इन्स्टिच्युटमा पत्रकारिता तालिम लिएका नवीन 'काठमाडौं पोस्ट' बाट करिअर सुरू गर्न चाहन्थे। उनले काठमाडौं पोस्टमा एउटा लेख पनि पठाए, जुन दसैं बेला गुञ्जिने मालश्री धुनको मर्मबारे थियो। लेख त छापियो, तर उनको पत्रकारिता करिअर सन् १९९४ मा 'स्पटलाइट' पत्रिकाबाट सुरू भयो।

स्पटलाइटमा पाँच वर्ष काम गरेपछि उनी 'राइजिङ नेपाल' गए।

'राइजिङ नेपालमा रहँदा डेस्कदेखि रिपोर्टिङसम्म सबै काम गर्नुपर्थ्यो,' उनले भने, 'मलाई डेस्कमा कहिल्यै रूचि लागेन। म रिपोर्टिङमै रमाएँ र सुरूदेखि आखिरीसम्म रिपोर्टिङ नै गरेँ।'

उनी जलस्रोत, वातावरण, जलवायु परिवर्तन, वन्यजन्तु, नागरिक उड्डयन लगायत विषयमा रिपोर्टिङ गर्थे। भुटानी शरणार्थीबारे थुप्रै अनुसन्धानमूलक स्टोरी पनि लेखे।

आफ्नो करिअर फर्केर हेर्दा उनी सरकारी अखबारको परम्परा तोडेर फरक लेख्ने कोसिस गरेकामा बढी सन्तोष मान्छन्। भन्छन्, 'मैले आफूलाई सरकारी गतिविधिमा अल्झाएर राखिनँ। हिउँ चितुवाको तस्करीदेखि जहाज खरिद प्रकरणसम्म लेखेँ। स्थलगत रिपोर्टिङमै मेरो मुख्य जोड रह्यो।'

चार वर्ष राइजिङ नेपालमा काम गरेपछि नवीनको करिअरले द्रुत फड्को मार्न थाल्यो।

उनी 'हिमालयन टाइम्स' मा केही महिना विशेष संवाददाता हुँदै 'स्पेस टाइम टुडे' मा करिब दुई वर्ष समाचार–सम्पादक रहे। केही समय 'च्यानल नेपाल' मा बिताए। केही समय 'नेपाली टाइम्स' मा पनि काम गरे।

त्यसपछि उनको प्रवेश भयो, काठमाडौंस्थित बिबिसी नेपाली सेवामा।

'यो मेरो करिअरकै महत्त्वपूर्ण फड्को हो,' उनले भने, 'बिबिसी नेपाली सेवामा रहँदा मैले नेपालको राजनीतिबारे धेरै रिपोर्टिङ गर्नुपर्थ्यो। रूचि भने वातावरण, जलवायु परिवर्तन र वन्यजन्तुमा थियो। राजनीतिक रिपोर्टिङको व्यस्तताले जतिसुकै गाँजे पनि मैले आफ्नो रूचिका विषयमा स्टोरी लेख्न छाडिनँ।'

बिबिसीमा विज्ञानसम्बन्धी समाचार लेख्ने छुट्टै शाखा छ। नियमित जिम्मेवारीमा नपरे पनि नवीन उक्त शाखामा स्टोरी आइडिया पठाइरहन्थे र आफ्नो दैनिक व्यस्तताबाट समय निकालेर राजनीतिबाहेकका स्टोरी लेखिरहन्थे।

त्यसैबीच लन्डनस्थित बिबिसी नेपाली सेवामा प्रोड्युसर (कार्यक्रम निर्माता) निम्ति आवेदन खुल्यो। उनी खुला प्रतिस्पर्धाबाट छनौट भए।

'लन्डन गएपछि पत्रकारिताको मेरो रनाहा झनै बढ्यो,' उनले भने, 'नियमित कामबाहेक म वर्ल्ड सर्भिसका लागि वातावरण र जलवायु परिवर्तनका स्टोरी लेखिरहन्थेँ। लगातार लेखेपछि बिबिसीको सम्पादकीय टिम र व्यवस्थापनको आँखामा परे। उनीहरूले मेरो कामलाई सकारात्मक रूपमा लिए र आखिरमा वर्ल्ड सर्भिसको निम्ति फुलटाइम पत्रकारिता गर्ने मौका पाएँ।'

बिबिसीमा करिब ४० भाषा शाखा छन्। तीमध्ये नेपाली भाषा एउटा सानो शाखा हो। भाषागत सेवाबाट छिरेर बिबिसी वर्ल्ड सर्भिसको विशेषज्ञ बिटमा काम गर्ने अवसर पाएका उनी सम्भवतः पहिलो नेपाली पत्रकार हुन्।

अहिले नवीनको रिपोर्टिङ विश्वव्यापी क्यानभासमा फैलिएको छ। केन्यादेखि कुवेतसम्म, नेपालदेखि निकारागुवासम्म; जुनसुकै देशमा वातावरण, जलवायु परिवर्तन र वन्यजन्तुका मुद्दा आए उनी चनाखो भइहाल्छन्। स्टोरी आइडिया बुन्छन्, लेख्छन्। भिडिओ बनाउँछन् र बिबिसी स्टुडिओ गएर विशेषज्ञ टिप्पणी दिन्छन्।

'म वातावरण विज्ञानको विद्यार्थी होइन, न त विज्ञानकै विद्यार्थी हुँ,' उनले भने, 'मैले यो क्षेत्रमा जे–जति जानेँ, त्यो स्वअध्ययन, बिट रिपोर्टिङ र विशेषज्ञहरूसँगको निरन्तर सिकाइबाटै जानेँ।'

नवीनको यही रनाहा, अथक मिहिनेत र करिअर छलाङ पनि एउटा कारण हो, जसलाई हेरेर मैले यो शृंखलामा सबभन्दा पहिला उनैलाई छानेँ।

NavinSinghKhadka3-1727949432.jpg

अब शृंखलाको मूल विषयमा आऊँ — मैले बिबिसी पत्रकार नवीनसिंह खड्काबाट के सिकेँ?

पछिल्लो समय 'न्यूज अभ्वाइडेन्स' अर्थात् — समाचार नपढ्ने, नसुन्ने र पढे–सुने पनि नपत्याउने र उपहासै गर्ने चलन तीव्र छ। खोजबीन र तथ्य नजिक पुगेर लेख्नुपर्ने यो कर्मले मनमा जे आयो त्यो पस्किदिने सामाजिक सञ्जालका स्ट्याटस र युट्युब भ्लगहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ। काँचो वा आधा काँचो सूचना सामाजिक सञ्जालतिर छताछुल्ल भइसक्छ, पत्रकारिताको धर्मले भने त्यो सूचना नपाक्दासम्म पस्कन दिँदैन। यस्तोमा 'फलानोले त लेखिसक्यो, तिमीहरू किन लेख्दैनौ' भन्दै सराप्ने र पत्रकारिताविरोधी भाष्य निर्माण गर्ने प्रवृत्ति बलियो हुँदैछ।

राजनीतिक समाचारमा त यस्तो प्रवृत्ति छँदैछ; वातावरण, पर्यावरण, सामाजिक, सांस्कृतिक, मानवअधिकार लगायत विषयमा अझ बढी छ।

धेरै पाठक पत्रकारिता वा समाचारलाई नकारात्मक दृष्टिले हेर्छन्, नवीनले भने, 'के नै गतिलो लेख्या होला र! बिग्रियो, भत्कियो, ध्वस्त भयो भनेर त लेख्या होला नि! यही सोचेर अखबारी लेखनबाट टाढै बस्ने चलन विश्वव्यापी बढ्दै छ।'

'यो संसारभरका पत्रकारको निम्ति चुनौतीपूर्ण घडी हो,' उनले भने, 'न्यूज अभ्वाइडेन्सलाई तोडेर कसरी धेरैभन्दा धेरै पाठकलाई पढ्न मन लाग्ने स्टोरी लेख्ने? पत्रकारहरूले यो प्रश्न आफैलाई सोध्नुपर्छ र हल पनि आफै खोज्नुपर्छ।'

'के हो त हल?' मैले चाहिँ नवीनलाई नै सोधेँ।

उनले जबाफ जसरी दिए, त्यो मेरो निम्ति नयाँ सिकाइ थियो।

न्यूज अभ्वाइडेन्सको एउटा मुख्य कारण मान्छेहरू आफ्नो दैनिक समस्या र घटनाक्रममा अत्यधिक उल्झिनु हो। जति उल्झियो, उति अल्झियो!

फुर्सदिलो मान्छेले जे कुरा जसरी लेखेको भए पनि ढुक्कै पढिदिन्छ, व्यस्तहरूको ध्यान जित्न गाह्रो हुन्छ। उनीहरूका लागि यस्तरी लेख्नुपर्छ, ताकि जति पढ्यो उति पढ्ने कौतूहल जागोस्! स्टोरी पढेर आँखा चम्कोस्!

आँखै चम्कने गरी कसरी लेख्ने त?

नवीन भन्छन्, 'पहिलो प्रश्न लेख्ने कसरी हुँदै होइन। पहिलो प्रश्न हो, भन्ने कसरी?'

'स्टोरीलाई रूचिकर बनाउने मुख्य दायित्व रिपोर्टरकै हो। यसका लागि तपाईं लेख्नुभन्दा अगाडि आफ्नो स्टोरी अरूलाई सुनाउने बानी गर्नोस्,' उनले सुझाए, 'यसको सुरूआत श्रीमती/श्रीमान/पार्टनर, छोराछोरी वा नजिकका साथीभाइबाट गर्न सकिन्छ।'

मानौं, हामी कुनै स्टोरी लेख्दैछौं। रिपोर्टिङ पूरा भइसक्यो। घटना विवरण संकलन भइसके। विज्ञहरूसँग कुरा पनि गरिसकियो। अब कम्प्युटर वा ल्यापटप खोलेर सिधै लेख्न थाल्ने होइन।

त्योभन्दा अगाडि जे लेख्न लागेको हो, त्यो श्रीमती/श्रीमान/पार्टनर, छोराछोरी वा साथीभाइलाई सुनाउने।

नवीनको शब्दमा भन्दा, 'स्टोरी सुनाउने भनेको केटाकेटीलाई एकादेशको कथा सुनाएजस्तै हो। जसरी हामी कथा सुनाउँदा रूचिपूर्ण बनाउन अनेक प्रयत्न गर्छौं, सस्पेन्स भर्छौं, टर्निङ प्वाइन्टहरू बुन्छौं, पत्रकारले आफ्नो स्टोरी पनि त्यसरी नै सुनाउनुपर्छ।'

उनका अनुसार, स्टोरी सुनाएर अर्काको ध्यान खिच्नु जत्तिको चुनौतीपूर्ण काम अरू हुनै सक्दैन। जतिसुकै निकट मान्छे पनि दिक्कलाग्दो 'बोरिङ' कुरा सुन्नुपरेपछि खटपटिन थालिहाल्छ। उसको खटपट अनुहारमा छर्लंगै देखिन्छ। ऊ चुपचाप सुनेर बसिरहेको होला, तर बोरिङ कुराले ल्याउने पट्यार उसको आँखामा साफ झल्किन्छ।

त्यसैले कुरा जेसुकै होस्, सुख्खा तरिकाले भनेर कामै छैन।

यस्तरी भन्नुपर्छ, मानौं केटाकेटीलाई एकादेशको कथा सुनाउँदैछौं, ताकि हाम्रो स्टोरी सुनेर सुन्नेका आँखा चम्कोस्! ऊ लगभग टोलाएर हाम्रो कुरा सुनिरहोस्। र, बीचबीचमा सोधोस् — अनि के भयो हँ?

'सुन्नेको आँखा चम्केको छ भने तपाईं सफल हुनुभयो, बोर मान्न थालेको छ भने अर्को तरिका सोच्नोस्,' नवीनले गुरूमन्त्र दिँदै अगाडि भने, 'आफ्नै श्रीमती/श्रीमान/पार्टनर, छोराछोरी वा साथीभाइलाई त तपाईंको स्टोरीमा रूचि जागेन भने अरूको कसरी जाग्छ?'

उनले बिबिसीमा केही समयअघि लेखेको आफ्नै स्टोरीको उदाहरण दिए।

उनी वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करीबारे लेख्दै थिए। लेख्नुअघि श्रीमतीलाई सुनाए। सुनाउँदा न वन्यजन्तुको कुरा गरे, न तस्करीको। न जैविक विविधताको कुरा झिके, न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू के–के छन् भने।

उनले सिधै भने, 'तिमीलाई थाहा छ, अचेल भ्यागुताहरू पोस्ट अफिसको बाटो हुँदै एउटा देशबाट अर्को देश पुग्छन्।'

श्रीमती छक्क परिन्।

उनले फेरि भने, 'अर्को कुरा थाहा छ, बच्चाहरूको खेलौनामा किसिम किसिमका छेपारा ओसारपसार हुन्छन्।'

'यति दुइटा कुरा सुन्नेबित्तिकै उनलाई थप जान्न कौतूहल भइहाल्यो,' नवीनले भने, 'मैले जसरी श्रीमतीलाई सुनाएँ, त्यसरी नै स्टोरी लेखेँ।'

'मेरो स्टोरी सुन्दा श्रीमतीको आँखा चम्केको देखेको थिएँ, पाठकहरूलाई पढ्न पनि त्यत्तिकै रूचि लाग्यो होला,' उनले हाँस्दै भने।

यही काइदा न्यूजरूममा सम्पादकलाई आइडिया सुनाउँदा पनि लागू हुन्छ। यसमा नवीन केही सूत्र थप्छन्।

'सम्पादकलाई आइडिया सुनाउनुछ भने सकभर मिटिङ रूममा बसेर कुरा नगर्नू,' उनले सुझाए, 'तपाईं पानी खान जाँदा सम्पादकसँग भेट होला, लिफ्ट चढ्दा भेटिएला, कहिलेकाहीँ ट्वाइलेटमा भेटिएला; त्यसरी अचानक भेटिँदा एक मिनेट समय माग्नोस् र त्यो एक मिनेटमै आफ्नो आइडिया खरर्रर सुनाउनोस्। उसले ध्यान दिएर सुन्यो र आँखा चम्क्यो भने बुझ्नोस्, तपाईंको आधा काम बन्यो।'

त्यो एक मिनेटमा जसरी स्टोरी भन्दा सम्पादकको आँखा चम्किन्छ, लेख्ने पनि त्यसरी नै हो।

लेख्नु भनेको आफैमा बौद्धिक अभ्यास हो। बौद्धिक अभ्यास जटिल हुन्छ। कम्प्युटर खोलेर लेख्न बस्नासाथ हाम्रो मस्तिष्कले बौद्धिक अभ्यास सुरू गरिहाल्छ। सहज ढंगले भन्न सकिने कुरालाई पनि जटिल बनाउँछ। जबकि, त्यही कुरा कसैलाई सुनाउँदै छौं भने हाम्रो मस्तिष्कले 'ए यो त गफ दिन थाल्यो' भन्ने बुझ्छ र सूचनालाई सहज बनाउँछ।

त्यसैले नवीन भन्छन्, 'लेख्नुअघि अरूलाई सुनाऔं; जसरी सुनायो, त्यसरी नै लेखौं।'

सामाजिक सञ्जालको बढ्दो प्रयोग र पाठकहरूको बेफुर्सदीबीच पत्रकारले सूचना पस्कने शैलीमा रचना भर्नैपर्ने नवीनको ठम्याइ छ। आमजनता कसरी सुन्न वा पढ्न चाहन्छन्? उनीहरूको कौतूहल कसरी जगाउने? रूचि कसरी बढाउने? आँखा कसरी चम्काउने? यस्ता प्रश्नलाई पत्रकारले जति निफन्यो, स्टोरी उति निखारिएर आउँछ। जति निखारियो, पढ्न उति नवीन लाग्छ।

कहिलेकाहीँ राम्रो स्टोरी हुँदाहुँदै रूचिकर ढंगले भन्न सकिएन भने पाठकसम्म पुग्दै नपुगी हराउँछ, उनले भने, 'अहिलेको जमानामा सूचना मात्र दिएर पुग्दैन, सूचनालाई रूचिपूर्ण बनाउन रचनामा पनि ध्यान दिनुपर्छ।'

यही रचनासँग जोडिन्छ, मेरो अर्को सिकाइ — के मोबाइल युगका पत्रकारहरूले अब लेखेर मात्र सूचना प्रवाह गर्न सक्छन्?

NavinSinghKhadka4-1727949433.jpg

नवीनको सिधा जबाफ छ — सक्दैनन्।

अबको पत्रकारितामा सूचना र रचनासँगै प्याकेजिङ पनि हुनुपर्छ भन्ने उनको धारणा छ।

भन्नुको अर्थ, स्टोरी लेखन जतिसुकै रचनात्मक भए पनि सबै पाठकलाई रूचिपूर्ण नलाग्न सक्छ। नयाँ पुस्ता डिजिटल युगमा हुर्किँदै छ। पुरानो पुस्ता पनि डिजिटल युगसँग तालमेल मिलाउँदै छ। हाम्रै घरपरिवारमा हेरौं न! आज हाम्रा भाइबहिनीदेखि आमाबा र दाइदिदीहरूको बढीजसो समय केमा बित्छ? आफ्नै घरभित्र छिरेपछिको के कुरा, नातागोताकहाँ भेटघाट गर्न जाँदा पनि हामी हत्तपत्त केमा झुम्मिन्छौं? अनि सन्चो–बिसन्चोको खैखबर छाडेर केमा निहुरीमुन्टी लाउँछौं?

सात सालदेखि सत्तरी सालसम्मका पुस्तामा जसरी फेसबुक र इन्स्टा, टिकटक र युट्युबको एकछत्र छ, त्यसले नै भन्छ — डिजिटल युगमा स्टोरी पढाउनुछ भने पत्रकारहरूले पनि डिजिटल नभई सुखै छैन।

र, डिजिटल हुनु भनेको अखबारमा छापिने अक्षरलाई सरक्क अनलाइनतिर सार्नु मात्र पक्कै होइन।

'डिजिटल हुनुको अर्थ अक्षर, अडिओ, भिडिओ, ग्राफ र ग्राफिक्सको प्याकेजिङ हो,' नवीनले भने, 'जुन स्टोरी तपाईं अहिलेसम्म लेखेर भनिरहनुभएको थियो, अब त्यसलाई भिडिओमा भन्ने समय आएको छ। अक्षरले मात्र दिइरहेको सूचनालाई ग्राफ र ग्राफिक्समा भन्नुपर्ने भएको छ।'

यतिले मात्र पुगे त ठिकै थियो। पत्रकारहरूले आफ्नो स्टोरी सामाजिक सञ्जालमा कसरी पठाउने, त्यो पनि सोच्नुपर्छ। एउटै स्टोरीलाई खण्ड खण्डमा बाँडेर कसरी प्रस्तुत गर्ने, त्यो पनि पर्गेल्नुपर्छ।

जस्तो — तपाईं कुनै ठूलो घटनाको रिपोर्टिङ गर्दै हुनुहुन्छ। पहिलेजस्तो अक्षर कुटी–कुटी फुर्सदमा बसेर लामो स्टोरी मात्र लेख्ने सहुलियत आजका पत्रकारलाई छैन। तपाईंले तुरून्तका तुरून्त दुई–तीन सय शब्दको स्टोरी प्रकाशन गरिहाल्नुपर्छ। एकाध तस्बिर र थोरै दृश्य खिचेर भिडिओ हालिहाल्नुपर्छ। त्यसपछि तपाईंको काम उक्त घटनामा थप सूचना बटुल्दै जाने र हजार–पन्ध्र सय शब्दको लामो स्टोरी लेख्ने हो। त्यो स्टोरी सबैका लागि रूचिपूर्ण हुँदैन, त्यसैले भिडिओ बनाउने पनि तपाईंकै काम हो।

यति गरेर काम पूरा भयो भन्ने चाहिँ नठान्नु होला!

घटनाको भित्री तहसम्म पुग्ने रूचि नभएका पाठक वा दर्शकलाई छोटोमै स्टोरी बुझाउन एक मिनेटको 'एक्सप्लेनर' लेख्नु र त्यसमा भिडिओ बनाउनु पनि तपाईंकै काम हो।

'यसरी एक मिनेटको एक्सप्लेनर बनाउँदा त्यसमा विस्तृत स्टोरीको लिंक राख्न सकिन्छ,' नवीनले भने, 'जो मान्छे एक्सप्लेनर सुनेर विस्तृत स्टोरी पढ्न चाहन्छ, ऊ लिंक क्लिक गरेर स्टोरीमा जान्छ। यसले तपाईंको स्टोरीलाई सबै खालका पाठकसम्म पुर्‍याउँछ।'

उनले आफ्नै उदाहरण दिए, 'म बिबिसी वर्ल्ड सर्भिसका लागि स्टोरी लेख्ने काम मात्र गर्दिनँ, त्यसलाई सम्पादन गरेर अरू भाषा सेवाहरूमा पनि पठाउँछु। आफ्नो स्टोरीको भिडिओ स्क्रिप्ट लेख्छु, भिडिओ पनि आफै बनाउँछु।'

कुन स्टोरीलाई फरक–फरक ढंगमा प्रस्तुत गर्ने भनेर पहिचान गर्नु पनि चुनौतीपूर्ण काम हो। यसका लागि सम्भावित पाठक को हो भनेर खुट्टयाउनुपर्छ।

जस्तो — जुन स्टोरी युवा पुस्ताले धेरै नपढ्न सक्छन्, त्यसलाई धेरै डिजाइन गरेर, अडिओ–भिडिओ वा ग्राफ–ग्राफिक्सको प्याकेज बनाएर खासै फाइदा नहोला! त्यस्तो स्टोरीलाई रचनात्मक लेखनमै छाड्दा पनि सम्भावित पाठक खोजिहाल्छ।

जुन स्टोरीमा सबैको चाख रहन्छ, त्यसलाई भने लामो कथादेखि भिडिओ र एक मिनेटको एक्सप्लेनरसम्म विभिन्न प्याकेजमा प्रकाशन–प्रसारण गर्नुपर्छ भन्ने नवीनको सुझाव छ।

'यो पत्रकार एक्लैले खुट्टयाउन सक्ने विषय होइन,' उनले भने, 'मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म यस्तो गर्दा राम्रो होला भनेर सुझाव त दिन्छु, तर अन्तिम निर्णय सम्पादकीय टिमबाट हुन्छ। कुन स्टोरी कसरी गर्दा प्रभावकारी हुन्छ भनेर सबैले सुझाव दिन्छन्। महत्त्वपूर्ण स्टोरीमा काम गर्दा एकभन्दा बढी डिपार्टमेन्ट संलग्न हुन्छन्।'

नवीनले केही समयअघि भारतमा चलेको तातो हावा (हिट वेभ) बारे लेखेका थिए। भिडिओ पनि बनाएका थिए। त्यो भिडिओमा उनले तातो हावाले शरीरमा कस्तो असर पार्छ भनेर अभिनय नै गरेर देखाएका थिए।

'गर्मीमा पसिना आउनु सामान्य हो, तर हिट वेभले शरीरको पसिना शरीरभित्रै सुकाउँछ। यसले स्वास्थ्यमा ठूलो असर पार्छ। यो कुरा बुझाउन मैले एक्टिङ गरेर देखाउनुपर्‍यो। मलाई त्यो नै सबभन्दा सशक्त उपाय लाग्यो,' उनले भने।

यहाँसम्मको सिकाइ स्टोरी लेखन र प्रस्तुतिसँग सम्बन्धित थियो। सिकाइको अर्को कडी अझ रूचिपूर्ण छ।

NavinSingh-1727949432.jpg

मैले नवीनलाई सोधेको थिएँ, 'अहिले इन्टरनेटको दुनियाँमा 'अल्गोरिदम' र 'सर्च–एनालिटिक्स' हरूको दबदबाबीच स्टोरीलाई धेरै पाठकसम्म पुर्‍याउने तकनिक के हो? तपाईंहरू कसरी काम गर्नुहुन्छ?'

उनको जबाफले मलाई अर्को नयाँ कुरा सिकायो।

पत्रकारिताको परम्परागत सिद्धान्तअनुसार कुनै पनि स्टोरी लेख्दा सुरूआतमै 'फाइभ–डब्लूएच' अर्थात्, के, किन, को, कहाँ, कहिले र कसरी भन्ने प्रश्नको जबाफ खुल्नुपर्छ भन्ने मान्यता छ। हामीले यही सूत्र पछ्याउँदै आएका छौं। तर अनलाइन र इन्टरनेटको दुनियाँमा 'फाइभ–डब्लूएच' को सूत्र काफी छैन। थप दुइटा सूत्र पनि बुझ्नुपर्छ र पछ्याउनुपर्छ — अल्गोरिदम र सर्च–एनालिटिक्स।

भन्नुको अर्थ, इन्टरनेटको दुनियाँमा स्टोरी लेख्ने पत्रकारहरूले पाठकको रूचि केमा छ र उनीहरू के पढ्न चाहिरहेका छन् भन्ने थाहा पाउनुपर्छ। यसको मतलब महत्त्वपूर्ण कुरालाई बाल–मतलब गरेर अल्गोरिदम पछ्याउने भनेको होइन। यो भनेको पाठकले कुन घटना वा विषयलाई कुन शब्दका माध्यमबाट खोजी गरिरहेका छन्, त्यो पत्ता लगाउने हो।

पाठकहरूले कुनै घटना–विशेषको स्टोरी खोज्न खास शब्द टाइप गरिरहेका हुन्छन्। त्यस्ता शब्द इन्टरनेटको बृहत् आकाशमा घुमिरहेका हुन्छन्। हामीले ती शब्दलाई हेडलाइन, सब–हेडलाइन वा लिड (पहिलो वाक्य) मा प्रयोग गर्‍यौं भने बढीभन्दा बढी पाठकसम्म पुग्छ भन्ने नवीनको भनाइ छ।

यो भनेको बिक्रेताले सामान बेचेजस्तै हो। असनमा ग्राहकको भीड लागेको छ भने सामान बेच्न असन नै जानुपर्छ, इन्द्रचोकमा उभिएर ग्राहक पाइँदैन। हो, त्यसैगरी इन्टरनेटको संसारमा स्टोरी बेच्नुछ भने हामी त्यहीँ जानुपर्छ, जहाँ पाठक छन्, नवीनले भने, 'पाठक कहाँ छन् भनेर पत्ता लगाउने सूत्र अल्गोरिदम र सर्च–एनालिटिक्स नै हुन्।'

'ठुल्ठूला अन्तर्राष्ट्रिय मिडियाहरूले त 'ग्रोथ एडिटर' नै राखेका हुन्छन्, जसको कामै इन्टरनेटमा कुन शब्द चल्तीमा छ, कुन स्टोरी बढी पढिएको छ, कुन विषय बढी खोजिएको छ भनेर केलाउँदै बस्छ,' नवीनले अगाडि भने, 'ग्रोथ एडिटरहरूले 'सर्च इन्जिन अप्टिमाइजेसन' (एसइओ) टूलका माध्यमबाट यी कुरा पत्ता लगाएपछि पत्रकारहरूलाई त्यही घटना वा विषय बढीभन्दा बढी पछ्याउन लगाइन्छ।'

फेसबुक, युट्युब वा अन्य सामाजिक सञ्जाल साइटहरूको अल्गोरिदमले के देखाइरहेको छ, त्यहाँ कुन विषय 'ट्रेन्डिङ' छ भनेर छिनछिनको अपडेट राख्ने काम पनि ग्रोथ एडिटरहरूले गर्छन्। पत्रकारहरूले आफ्नो स्टोरी त्यसैअनुसार ढाल्छन्।

'हामी डिजिटल दुनियाँमा पत्रकारिता गरिरहेका छौं। यहाँ अल्गोरिदम मान्दिनँ, सर्च–एनालिटिक्स पछ्याउँदिनँ भनेर जिद्दी गर्ने सहुलियत कसैलाई छैन। तपाईंले नमाने पनि इन्टरनेटको यथार्थ यही हो,' नवीनले भने, 'बढीभन्दा बढी पाठकसम्म पुग्नुछ भने स्टोरीको हेडलाइन र लिडमा ती शब्दहरू पार्ने कोसिस गर्नोस्, जुन इन्टरनेटमा बढी खोजिएका छन्।'

नवीनले आफ्नै उदाहरण दिए, 'केही समयअघि हामीले एयर टर्बुलेन्स (आकाशको हावाहुन्डरी) का कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएको स्टोरी लेख्यौं। त्यो स्टोरी संसारभरका पाठकले चाखपूर्वक पढे, हेरे। त्यसलाई प्याकेजिङ गर्दा हाम्रो ध्यान ती शब्दको प्रयोगमा थियो, जुन सर्च–एनालिटिक्समा माथि छन्।'

'एक किसिमले भन्दा यसले पत्रकारहरूलाई सजिलै बनाएको छ। के लेख्ने, कसरी लेख्ने भनेर अन्धकारबाट शब्द खोज्नभन्दा हावामा उडिरहेका शब्द टपक्क टिपेर स्टोरीमा बुन्न सजिलो हुन्छ। टिपेका शब्दलाई स्टोरीमा कसरी बुन्ने, त्यो चाहिँ पत्रकारको सिर्जनशीलतामा भर पर्छ,' उनले भने।

यसो गर्दा फाइभ–डब्लूएचलाई पूरै बेवास्ता गर्ने होइन। त्यो त स्टोरीमा नभई भएन। तर यसमा पनि रचनात्मक हुनैपर्छ। कुन सूचना कसरी पस्कने र कुन प्रश्नको जबाफ कुन बेला दिने; यसमा सिर्जनशील हुन सकेनौं भने पाठकलाई बाँधेर राख्न सकिन्न।

NavinSinghKhadka5-1727949716.jpeg

कुराकानी क्रममा नवीनले आफ्नो काम गर्ने तौरतरिका पनि सुनाए।

उनको तौरतरिकाबाट मैले विषयगत रिपोर्टिङमा विशेषज्ञता कसरी बढाउन सकिँदो रहेछ भन्ने जानेँ।

नवीनको सबभन्दा बढी समय जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययनमा बित्छ। यी क्षेत्रमा भएका तमाम वैज्ञानिक अनुसन्धान उनी पछ्याइरहन्छन्। नयाँ–नयाँ अनुसन्धान प्रतिवेदन र जर्नल–लेखहरू नछुटाई पढ्छन्। त्यसपछि वैज्ञानिक र अनुसन्धाताहरूसँग नियमित सम्पर्कमा रहन्छन् र कुराकानी गरिरहन्छन्। उनको यो स्वअध्ययन एउटा देश वा एउटा क्षेत्रमा मात्र सीमित छैन, उनी विश्वव्यापी जलवायु परिवर्तनलाई उत्तिकै नजिकबाट हेरिरहेका हुन्छन्।

'स्टोरी लेख्न मात्र होइन, मेरो अध्ययनको मुख्य कारण आफ्नो रूचिको विषयमा बढीभन्दा बढी जानकारी बटुल्ने हो। स्टोरी त त्यसका 'बाई–प्रोडक्ट' हुन्,' नवीनले भने, 'एउटा पत्रकारले म फलानो विषयमा काम गर्न सक्छु, यसमा मेरो क्षमता छ भन्ने कल्पना मात्र गरेर बस्यो भने उसले केही गर्न सक्दैन। ऊ जहाँको तहीँ रहन्छ। क्षमताको मात्र कुनै मूल्य हुँदैन। मूल्य तब हुन्छ, जब तपाईं आफ्नो क्षमता प्रदर्शन गर्नुहुन्छ। क्षमता तिखार्न दिनरात काम गर्नुहुन्छ।'

'एउटा–दुइटा स्टोरी छापिएन भनेर दिक्क मान्ने वा धेरै पढिएन भनेर हतोत्साही हुने पत्रकार कहिल्यै अघि बढ्दैन। तपाईंको स्टोरी छापियोस् कि नछापियोस्, तपाईंले 'पिच' गरेको आइडिया सम्पादकबाट स्वीकृत होस् कि नहोस्, तपाईंको स्टोरी पढियोस् कि नपढियोस्; काम गर्ने रनाहा कहिल्यै नछाड्नोस्। धून सवार भएजस्तो दिनरात त्यसैमा भिडिरहनोस्। मलाई वातावरणको रिपोर्टिङ गर्न कसैले भनेको थिएन। कसैले स्टोरी 'असाइन' गरेको थिएन। यो मेरो रिपोर्टिङ बिट पनि थिएन। मैले आफ्नै मनको खुल्दुली मेट्न अध्ययन गरिरहेँ र लगातार स्टोरी पिच गरिरहेँ। कति स्वीकृत भए, धेरै भएनन्; पिच गर्न चाहिँ छाडिनँ। मैले आफ्नै धूनमा लगातार काम गरिरहेँ।'

उनले अगाडि भने, 'पत्रकारहरू फरक स्टोरी लेख्छु भनेर भौंतारिरहन्छन्। त्यो भनेको के? हामीले मंगल ग्रहबाट स्टोरी ल्याएर लेख्ने त होइन नि! हामी जे लेख्न खोज्दैछौं, त्यो पक्कै पनि अरू कसैले लेखिसकेका छन्। त्यसो भए लेख्दै नलेख्ने त? होइन, हामीले आफ्नो रूचिको विषयमा फरक एंगल खोज्ने हो। आइरहेकै विषयलाई पनि अलिकति फरक दृष्टिले हेर्ने हो। फरक ढंगले प्रस्तुत गर्ने हो। यसको निम्ति गहन अध्ययन र विशेषज्ञहरूसँग निरन्तर संवाद नै एक मात्र सूत्र हो।'

'फरक दृष्टिले सोच्नोस्, फरक ढंगले लेख्नोस्, तपाईं भीडबाट छुट्टिहाल्नुहुन्छ,' उनले भने।

विषयगत विशेषज्ञताका लागि पत्रकारलाई विश्वविद्यालयको डिग्रीभन्दा स्वअध्ययन महत्त्वपूर्ण हुने उनको बुझाइ छ।

'विश्वविद्यालयको डिग्री नै चाहिने भए त म अंग्रेजी साहित्यको विद्यार्थीले वातावरण विज्ञानमा एक अक्षर लेख्न सक्ने थिइनँ, लेख्न पाउने पनि थिइनँ,' उनले भने।

बरू विषयगत डिग्री नभएकैले वातावरणबारे राम्ररी लेख्न सकेँ कि भन्ने उनलाई लाग्छ।

यसको कारण के भने, विषयगत बुझाइ बलियो भएको व्यक्तिसँग ज्ञान त हुन्छ, प्रश्न हुँदैन। पत्रकार भनेकै प्रश्न हो। जति बढी प्रश्न, उति बलियो पत्रकार। ऊ आफ्नो प्रश्नको जबाफ खोज्छ, र त्यही जबाफले स्टोरी जन्माउँछ।

विषयको रौंचिरा नकेलाएसम्म राम्ररी स्टोरी लेख्न सकिन्न। रौंचिरा केलाउन केस्रा–केस्रा प्रश्न गर्नैपर्छ। कठिन शब्दहरूको अर्थ खोतल्नुपर्छ। जटिल विषयलाई सहज बनाउनुपर्छ, नवीनले भने, 'मैले साइन्स जर्नलमा स्टोरी लेख्ने त होइन नि! आमपाठकले पढ्ने आमसञ्चार माध्यममा लेख्ने हो। त्यसैले मेरो उद्देश्य वैज्ञानिकहरूलाई कुरा बुझाउने होइन। उनीहरूले त बुझेकै छन्। मेरो उद्देश्य विज्ञानको कुरा आमजनतालाई बुझाउने हो। आमजनताले विज्ञान जसरी बुझ्न खोज्छन्, मैले त्यसरी नै लेख्नुपर्छ, त्यसरी नै बुझाउनुपर्छ।'

नवीनले नेपालकै केही उदाहरण दिए।

२०७२ को भुइँचालोमा लाङटाङ लगायत वरिपरिका केही हिमालको उचाइ घट्यो। यो कुरा विज्ञहरूलाई सोध्यो भने उनीहरू प्राविधिक जबाफ दिन्छन्। त्यो जबाफ आमपाठकले बुझ्छन् त?

पहिले धवलागिरि र नीलगिरि हिमालले मुस्ताङ जाने बादलको बाटो छेक्थ्यो। अहिले छेक्दैन। यसबारे विज्ञहरूले जबाफ त दिन्छन्, तर आमपाठकलाई बुझाउन सक्दैनन्।

'पत्रकारको भूमिका यहीँनेर छ,' नवीनले भने, 'विज्ञसँग कुरा गर्ने, उनीहरूको जबाफ मसिनो गरी केलाउने र सिर्जनात्मक ढंगले आमपाठकसम्म पुर्‍याउने।'

'हामीले पत्रकार भएर होइन, विद्यार्थी भएर अन्तर्वार्ता लिनुपर्छ। विज्ञहरूको ज्ञानलाई जतिसक्दो ग्रहण गर्नुपर्छ। कसैगरी बुझिएन भने 'यसलाई सजिलोसँग कसरी भन्ने होला' भनेर सोध्न धक मान्न हुन्न।'

यो सूत्र पत्रकारिताका सबै क्षेत्रमा लागू हुन्छ। जस्तो — आर्थिक पत्रकारले अर्थशास्त्री वा बैंकर, उद्यमी वा योजनाकारका लागि लेख्ने होइन, आमजनताका लागि लेख्ने हो। अर्थशास्त्रीसँग कुरा गरेर अर्थशास्त्रीबाहेक अरूले एक शब्द अर्थ लगाउन नसक्ने स्टोरी त के लेख्नु! बैंकरसँग कुरा गरेर बैंकरबाहेक अरूले बुझ्दै नबुझ्ने स्टोरी त के लेख्नु!

NavinSinghKhadka6-1727949790.jpeg

नवीनले अन्तर्राष्ट्रिय पत्रकारिताको अनुभवबाट काम गर्ने आफ्नै शैली पनि विकास गरेका छन्। अन्तर्राष्ट्रिय मिडियाका धेरैजसो पत्रकार यही शैलीमा काम गर्छन् भनेर उनी भन्छन्।

यसमा अध्ययन र विज्ञहरूसँग कुराकानी त भइहाले, त्यसबाहेक महत्त्वपूर्ण भनेको आफ्नो कामको डायरी राख्नु हो।

संसारभरका वातावरणीय मुद्दा र घटनाक्रममा चासो राख्नुपर्ने हुँदा डायरीले सजिलो बनाउने उनको अनुभव छ। यसमा विभिन्न अन्तर्राष्ट्रिय दिवसहरूको क्यालेन्डर त पर्छ नै, अन्तर्राष्ट्रिय बैठक तथा सम्मेलनहरूको तिथिमिति पनि उनी नोट गर्छन्।

जस्तो — वातावरण दिवसको दिन पारेर के स्टोरी गर्न सकिन्छ? प्लास्टिक प्रयोगबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ भने त्यसलाई मिल्ने गरी के–कस्ता स्टोरी लेख्न सकिन्छ? उनी यस्ता विषयमा सम्भावित स्टोरीको सूची नै बनाउँछन्।

'मेरो विचारमा हामी पत्रकारहरूले दसवटा स्टोरी झोलामा बोकेर हिँड्नुपर्छ। दिमागमा पनि स्टोरी खेलाइरहनुपर्छ। र, भविष्यमा लेख्ने हरेक स्टोरीमा निरन्तर आफूलाई अपडेट गर्दै लग्नुपर्छ। मान्छे भेट्नुपर्छ र डायरीमा टिप्दै जानुपर्छ,' उनले भने।

उनी सामान्यतया अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका स्टोरीमा सँगसँगै काम गरिरहेका हुन्छन्। तीनैथरी स्टोरीको छुट्टाछुट्टै डायरी पनि बनाउँछन्।

अल्पकालीनमा तुरून्तका तुरून्त लेख्नुपर्ने स्टोरी पर्छन् भने मध्यकालीनमा एक–दुई महिना लगाएर लेखिने स्टोरीहरू हुन्छन्। दीर्घकालीनमा भने गम्भीर अनुसन्धानात्मक स्टोरी पर्छन्। उनले केही समयअघि कागजमा नक्कली वन देखाउने प्रवृत्तिमाथि भारत, फिलिपिन्स, मोजाम्बिक लगायत देशको उदाहरणसहित अनुसन्धानात्मक स्टोरी गरेका थिए। त्यसका लागि सय जनाभन्दा बढीसँग कुरा गरेका थिए।

'म यी तीनैथरी स्टोरीमा सन्तुलन मिलाउने प्रयास गर्छु। यसका लागि समय व्यवस्थापन जरूरी छ। हरेक स्टोरीमा आफूलाई अपडेट राख्नुपर्छ। हरेक अपडेट डायरीमा टिप्दै जानुपर्छ,' उनले भने, 'डायरीका लागि म 'गुगल डक' प्रयोग गर्छु। त्यसैमा आफूले पाएको सूचना थप्दै जान्छु। लङ टर्म (दीर्घकालीन) स्टोरीको कुरा गर्दा त्यसलाई चाहिने सामग्री र अन्तर्वार्ता रेकर्ड गरेर राख्छु। महत्त्वपूर्ण बुँदाहरू बनाउँछु, ताकि पछि सम्झन सजिलो होस्।'

'डायरी बनाउने बानी गर्‍यो भने डेडलाइन नजिक आएपछि हाँपदाँप गर्नु पर्दैन,' उनले भने।

कुराकानीको आखिरीमा मैले अन्तर्राष्ट्रिय न्यूजरूममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे जिज्ञासा राखेँ।

जबाफमा उनले भने, 'म कुनै पनि विषय गहिरोसँग बुझ्न त्यसबारे गुगल गर्छु। पहिले पनि गर्थें। त्यसैले न्यूजरूममा एआईको प्रयोग पहिलेदेखि हुँदै आएको हो भन्ने मेरो मान्यता छ।'

यसबाहेक एआईको मद्दतले तस्बिरलाई कृत्रिम ढंगले राम्रो बनाउन, स्टोरीमा झल्याकझुलुक ग्राफिक्स प्रयोग गर्न वा चमकदमक पार्नमा उनी विश्वास गर्दैनन्।

'पत्रकारले तथ्यपरक कुरालाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने हो,' उनले भने, 'त्यो भनेको एआई प्रयोग गरेर चमकदमक पार्ने होइन।'

यति हुँदाहुँदै एआईको मद्दतले प्राप्त हुने सूचनाहरू स्टोरीमा प्रयोग गर्नै हुन्न भन्ने होइन। त्यस्ता सूचना प्रयोग भइरहेका पनि छन्। कतै जहाज हरायो वा कुनै अनकन्टार ठाउँमा ठूलो घटना भयो भने स्याटलाइट तस्बिरहरू समाचारमा धेरै प्रयोग हुन्छन्। अन्तर्राष्ट्रिय मिडियाले विगत र वर्तमानको अन्तर देखाउन पनि त्यस्ता तस्बिर धेरै प्रयोग गर्छन्। तर यसो गर्दा थप स्रोतहरूबाट ती तस्बिर पुष्टि गर्नैपर्ने उनी बताउँछन्।

'एआईबाट प्राप्त हुने सूचनालाई पत्रकारिताको आधारभूत सिद्धान्त पछ्याउँदै पुष्टि गर्नुपर्छ। एआईकै भरमा स्टोरी लेख्नु हुन्न,' उनले भने।

बिबिसी पत्रकार नवीनसिंह खड्कासँग कुराकानीको सुरूआतमा मैले भनेको थिएँ, 'आज पनि स्टोरी लेख्न बस्दा मेरो पसिना छुट्छ। ल्यापटपमा वर्ड फाइल खोल्नेबित्तिकै जब सेतो खाली पन्ना देख्छु, मलाई कहाली लागेर आउँछ। कहाँबाट कसरी सुरू गर्ने होला भनेर अलमलिन्छु। के तपाईंलाई पनि त्यस्तै हुन्छ?'

उनको जबाफ थियो, 'संसारभरका लेखक/पत्रकारहरूको सकस यही हो। सर्सर्ती लेख्ने मात्र हो भने त जुन स्टोरी जसरी लेखे पनि भयो, तर पाठकहरूलाई सुरूदेखि अन्त्यसम्म बाँधेर राख्छु भनेर सोच्ने हो भने पहिलो वाक्य, पहिलो शब्दबाटै सकस सुरू हुन्छ।'

जतिसुकै रचनात्मक सोचे पनि, अल्गोरिदम र सर्च–एनालिटिक्सको जतिसुकै प्रयोग गरे पनि, जतिसुकै अध्ययन, संवाद वा डायरीले पनि यो सकस हट्नेवाला छैन। पत्रकारिता गर्न सकस त बोक्नैपर्छ!

नवीनले सकस व्यवस्थापनका केही नयाँ सूत्र सिकाए, केही पुरानै सूत्र सम्झाए। मलाई पत्रकारितामा 'अपडेटेड' गराए।

तपाईं यो सकस उठाउन तयार हुनुहुन्छ?

...

(सबै तस्बिर स्रोत: नवीनसिंह खड्का)

- सेतोपाटीबाट

प्रतिक्रिया