Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३०

दार्चुलाको कालापानी फेदमा मतदान तयारीः सीडीओले हेलिकोप्टरबाट गरे निरीक्षण, सेनाको क्याम्प राखिँदै

Wide Nepal News
शुक्रबार, बैशाख ०९, २०७९
दार्चुला जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ। जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी बिहीबार कालापानी फेदका नेपाली गाउँ छाङ्गरु र तिङ्करमा स्थापित मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय कब्जामा छ। यहाँ रहेका नेपाली गाउँ कुटी, गुन्जी र नाभीमा नेपालले मतदान गराउन सकेको छैन। जनगणना भने स्याटेलाइट प्रविधिबाट अनुमानित घरधुरीका आधारमा र स्थानीयले दिएको अनुमानित तथ्यांकका आधारमा गरिएको थियो। निरीक्षणका क्रममा व्यास गाउँपालिका १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। छाङ्गरुमा हेलिकप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको थियो। सीडीओ उपाध्यायको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख हेलिकप्टरमार्फत छाङ्गरु पुगेका थिए। मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको उपाध्यायले बताए। नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको प्रजिअ उपाध्यायले बताए। नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन। अप्ठ्यारो गरी जाने हो भने पाँच–छ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ। वडा नं १ मा दुई वटा मतदान केन्द्र छन्। छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ र तिङ्करस्थित मोति महिला सङ्घ आधारभूत विद्यालयमा २३१ मतदाता छन्। यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलङ्गा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन्। व्यासी सौका समुदायको दोहोरो बस्तीभएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ। उनीहरुको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको हो। छाङ्गरुमा सेनाको क्याम्प राख्ने तयारी यसैबीच व्यास गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ। निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो। क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए। उनीहरुले अहिले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए। सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ। माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए। सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डको ८७ किलोमिटर सडक निर्माणका लागि सेनालाई जिम्मेवारी दिइएको थियो। यो सडकमा आर्थिक वर्ष २०६५/६६ देखि निर्माण थालिएको थियो। -रासस

प्रतिक्रिया