Wide Nepal News आइतबार २३, भदौ २०८१ ०८:४७

चमेलिया नदी स्वच्छताका लागि साझा प्रतिबद्धता सहित सम्पन्न भयो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्टिय काव्य गोष्ठि

जिज्ञासु जिज्ञासु
मङ्गलबार, असार ०५, २०८१
चमेलिया नदी स्वच्छताका लागि साझा प्रतिबद्धता सहित सम्पन्न भयो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्टिय काव्य गोष्ठि

४० डिग्रीको चर्को गर्मी । चर्को गर्मीमा अन्तर्राष्ट्रिय स्रष्टाहरुको जमघटबीच बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको चहलपहल रह्यो ।

नेपालका मात्र नभई भारत उत्तराखण्ड,सिक्किम, उत्तरप्रदेश, लगायत स्थानका साहित्यकार तथा लेखकहरुको उपस्थितिले चर्को गर्मीलाई छहारी दिइरहेको थियो । जेष्ठ शुक्ल दशमी गंगादशहराको दिन भएको कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक क्षेत्रका अगुवा एवं पत्रकारहरुको उपस्थिति बाक्लै थियो ।

चमेलिया अर्थात चर्मणवती नदी किनार गोकुलेश्वरमा भएको भेलालाई चाखपूवर्क हेरिएको छ । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रबर्धनमा सम्मेलन आयोजना गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए ।

दार्चुलाको अपिहिमाल फेद भएर बग्ने चमेलिया नदी बैतडीको दशरथ नगरपालिका आइपुग्दा महाकालीमा मिलन हुन्छ । खासगरी नदी सभ्यता सरसफाई कसरी राख्न सकिन्छ । यसको पर्यावरणीय संरक्षण तथा स्थानीयले कसरी लाभ लिन सक्छन् भन्ने मुख्य विषय रह्यो ।‘चर्मण्वती सभ्यताको उजागर गर्ने र साहित्यका माध्यमबाट मित्रराष्ट्रहरुबीच सम्बन्ध सुधार गर्ने पनि कार्यक्रमको उदेश्य हो,’ लेखकले भने, ‘यो सम्मेलनले नेपालमा मात्र नभई भारतमा समेत मित्रता बढ्ने गर्छ ।’

सम्मेलनमा नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा, गंगा बिष्ट, तीर्थराज पाण्डेय लगायतको सहभागिता छ । भने सीमावर्ती भारतका साहित्यकार डा. पिताम्बर अवस्थी, डा. अरुणप्रतापसिंह भदौरिया गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता रहेको छ । डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले भने, यो साहित्य अनुरागीहरुको मात्र सम्मेलन होइन् । यसप्रति विश्वास भरोसा राख्नेहरुको लागि यो महत्वपूर्ण थलो हो ।

कार्यक्रममार्फत खासगरी दार्चुलाको अपिहिमाल, मार्मा, लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी, दोगडाकेदार, दशरथनगरपालिका लगायतलाई चमेलिया तटमा जोड्न खोजेका छौं । साँझा सरोकारको विषयमा हामीले कसरी काम गर्न सकिन्छ भन्ने हाम्रो ध्येय छ, अध्यक्ष जोशीले भने ।

सम्मेलन उद्दघाटन सत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले भने, ‘साहित्यको कुनै सीमा हुँदैन् ।’ यस्ता सम्मेलनले यो क्षेत्रको सभ्यता चिनारीमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

उद्घाटन सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक, शैल्यशिखर नगरपालिकाका प्रमुख वियजसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, लगायतको सहभागिता रह्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शैल्यशिखर नगर प्रमुख विजयसिह धामीले धार्मिक तथा तटीय क्षेत्रमा आयोजना हुने यस्ता सम्मेलन दुवैतर्पm समन्वय गरेर अघि बढ्दा अझै प्रभावकारी हुने धारणा राखे । शैल्यशिखरमा शैल्यशिखर धाम, जगतपुरि धाम जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका कारणपनि यसको महत्व अझै बढ्ने उनको भनाई छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराले नदी साझा भएको भन्दै यसको व्यवस्थापन, संरक्षण गर्नमा सबैले जोड दिनुपर्ने बताए ।

सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले साहित्य सम्मेलनले यो क्षेत्रमा भाषा, साहित्य र सभ्यताको उत्थानमा सहयोग पुग्ने बताएका छन् ।

राति अवेरसम्म चलेको सम्मेलनमा विभिन्न साहित्यक प्रस्तुतिका साथै चर्मण्वती सभ्ययता, साहित्य र सीमाना लगायतका बिषयमा छलफल चलेको छ । यस्तै असार ३ गते बिहानैदेखि काव्य गोष्ठिमा सहभागि अतिथिहरुलाई सम्मानित गर्दै कार्यक्रमको समापन गरिएको छ ।

 

प्रतिक्रिया