Wide Nepal News शनिबार १२, साउन २०८१ ०९:१४

संघीय सरकारको आगामी निति तथा कार्यक्रम प्रस्तुत, सुदरपश्चिममा मेगा 'फूड पार्क' स्थापना गरिने

सम्बाददाता सम्बाददाता
बुधबार, जेठ ०२, २०८१
संघीय सरकारको आगामी निति तथा कार्यक्रम प्रस्तुत, सुदरपश्चिममा मेगा 'फूड पार्क' स्थापना गरिने

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

सरकारले तय गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर ७९ मा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख छ। त्यस्तै कार्यक्रमको ८४ नम्बर बुँदामा सुदूरपश्चिम प्रदेशमा मेगा फुड पार्क स्थापना गर्ने विषय उल्लेख गरिएको छ। आज (मङ्गलवार) प्रस्तुत नीति तथा कार्यक्रमको ९७ औं बुँदामा रणनीतिक महत्वको सेती लोकमार्ग तथा महाकाली करिडोरको ट्रयाक तथा संरचना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाइने उल्लेख छ।

राष्ट्रपति पौडेलले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको ११३ नम्बर बुँदामा चैनपुर सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरू गरिने, कर्णाली चिसापानी जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिने तथा बुँदा नम्बर ११४ मा दोदोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तय गरी निर्माण प्रारम्भ गरिने विषय समेटिएको छ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर ११५ मा सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने र बुँदा नम्बर १२७ मा सुदूरपश्चिमसहित अन्य प्रदेशमा सञ्चार ग्राम निर्माण गर्ने विषय समावेश गरिएको छ। नीति तथा कार्यक्रमको १५४ बुँदामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम आगामी वर्षबाटै सञ्चालनमा ल्याउने सरकारी योजना समेटिएको छ।

त्यस्तै, डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई क्रमशः पाँच सय शय्यामा स्तरोन्नति गरिने भएको छ। नीति तथा कार्यक्रमको १७९ नम्बर बुँदामा कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने विषय पनि समेटिएको छ भने बुँदा नम्बर १९६ मा बझाङ र डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पबाट क्षति भएका निजी आवास तथा सार्वजनिक संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनस्थापना कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ।

प्रतिक्रिया