बैतडीमा गाउँपालिकाका अध्यक्ष चन्द एमालेबाट अलग
सम्बाददाता
सोमबार, मङि्सर १५, २०८२
एमालेको ११औं महाधिवेशनका लागि बैतडीमा सर्वसम्मत भनिएको प्रतिनिधि छनोट विवादित भएको छ। प्रतिनिधि छनोट गर्दा सर्वसम्मतको नाममा गुटगत चलखेल गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले नै एमाले परित्याग गरेको घोषणा गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनी पार्टीको प्रदेश सल्लाहकार समिति सदस्य हुन्।
‘आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई तथा गाउँपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ,’ चन्दले भनेका छन्। लिलाभर एमालेका केन्द्रीय सदस्य हुन् भने बिना एमालेबाटै विजयी गाउँपालिका उपाध्यक्ष तथा पुजारा वडाध्यक्ष हुन्।
पार्टी परित्याग गरेको घोषणा गरेका चन्द एमालेबाट पञ्चेश्वरको अध्यक्षमा २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए। उनले लिलाधर र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई प्रतिनिधि नै बन्नबाट रोक लगाइएको आरोप लगाएका छन्।
उनले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि सहमतिका नाममा आफ्नो नाम हटाइएको पनि बताएका छन्। एमाले बैतडीले विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भन्दै शनिबार नै सूची सार्वजनिक गरेको थियो।
प्रतिक्रिया