Wide Nepal News सोमबार १७, बैशाख २०८१ ११:५९

बझाङ उपनिर्वाचन संग्राम : दलहरु एक्लाएक्लै लडे कसको पल्ला भारी ?

सम्बाददाता सम्बाददाता
शनिबार, चैत २४, २०८०
बझाङ उपनिर्वाचन संग्राम : दलहरु एक्लाएक्लै लडे कसको पल्ला भारी ?

आगामी १५ वैशाखमा बझाङको प्रदेश सभा–१ मा उपनिर्वाचन हुँदै छ । गत ५ असारमा सवारी दुर्घटनामा परी सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

४ मंसिर २०७९ मा भएको निर्वाचनमा कांग्रेसका सिंह विजयी भएका थिए । उनले १७ हजार ११२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा १३ हजार ३३६ मतमा रोकिएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कर्णबहादुर खड्काले ४२६ भोट ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिलाल भट्टराईले ४०४ मत ल्याएका थिए ।

उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका छन् । कांग्रेसले गत चुनावमा निर्वाचित स्वर्गीय सिंहकै छोरा अभिषेक सिंहलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको छ । त्यस्तै, एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रबाट जनकबहादुर बुढा उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार बनेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरबहादुर खड्का उपनिर्वाचनमा भिड्दै छन् ।

यसपटक बझाङ–१ मा हुन लागेको उपनिर्वाचन रोचक हुने देखिन्छ । गत चुनावमा जित आफ्नो पक्षमा निकाल्न अनेकन् तिकडमसहित गठबन्धन गरेका दलहरू अहिले तितरबितर छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चालगायतलाई साथमा लिएर चुनावमा गएको कांग्रेसले एमालेभन्दा जम्मा ३ हजार ७७६ बढी मत ल्याएर विजयी भएको थियो ।

यो पटक भने उक्त निर्वाचनमा कांग्रेससँगै भएको माओवादी केन्द्र र एसले पनि उम्मेदवार खडा गरेर एक्ला एक्लै मैदानमा उत्रिएका हुन् । एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । कानुन व्यवसायीसमेत रहेका भण्डारी तत्कालीन मटेला गाउँ विकास समितिको अध्यक्षसमेत बनेका थिए ।

पार्टीको जिल्ला अध्यक्ष भएर एमाले हाँकिसकेका दिलबहादुर सिंह एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन् । उनी तत्कालीन नेकपा हुँदासमेत बझाङका जिल्ला अध्यक्ष थिए ।

त्यस्तै, माओवादीका प्रभावशाली मानिएका युवा नेता जनकबहादुर बुढालाई माओवादीले मैदानमा ल्याएको छ । सुदूरपश्चिमका सचिवसमेत रहेका बुढा संविधानसभा सदस्यसमेत हुन् ।

त्यस्तै, राप्रपाबाट उम्मेदवार लामो समयदेखि पर्यटन व्यवसायमा लागेका किशोर खड्का पूर्वपत्रकार हुन् । विगतको निर्वाचन परिणाम हेर्दा बझाङ–१ मा हुने उपनिर्वाचनमा मुख्य भिडन्त प्रमुख दुई दल कांग्रेस र एमालेबीच हुने देखिन्छ । तर, जित निकाल्न सहज भने छैन ।

गठबन्धनकाबीच अघिल्लो चुनावमा कांग्रेस–एमाले आमनेसामने भएका थिए । आ–आफ्नै उम्मेदवार उठाएपछि योपटक भने कांग्रेस, एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धी हुने देखिन्छ ।

अघिल्लोपटक गठबन्धनको सहारामा विजयी भएको कांग्रेस योपटक एक्लो छ । उसलाई गत चुनावझैं जित निकाल्न मुस्किल पर्नेछ । कांग्रेसको मुख्य प्रतिद्वन्द्वी एमालेलाई पनि सहज छैन ।

एमाले बझाङ हाँकिसकेका सिंह एकीकृत समाजवादीबाट चुनावी मैदानमा होमिसकेका छन्, जसले एमालेलाई पनि जित निकाल्न कठिन छ ।

माओवादीबाट युवा नेता बुढा पनि प्रचारप्रसारमा जुटिसकेका छन् । विगतका निर्वाचनको नतिजा हेर्दा माओवादीलाई पनि बझाङ–१ मा जित निकाल्न सहज देखिँदैन ।

प्रतिक्रिया