Wide Nepal News शनिबार २२, बैशाख २०८१ १०:५१

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत बैतडीमा के छ तयारी ?

सम्बाददाता सम्बाददाता
सोमबार, माघ १५, २०८०
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत बैतडीमा के छ तयारी ?

नेपाली कांग्रेसले देशैभरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालनमा ल्याएको छ । समुदायका कुरा सुन्ने र बुझ्ने अभियानको रुपमा कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । 

मंगलबार जिल्ला कार्यसमितिको बैठक आह्वान गरिएको र भोलिबाटै जिल्लामा अभियान सञ्चालन हुने नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । ८४ ओटै वडामा प्रतिनिधि खटाएर अभियान सञ्चालन गरिने उनले बताए । 

जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थामा बारेमा अभियानका दौरान जानकारी लिइने कार्यवाहक सभापति बिष्टले बताए । उनले भने ‘समुदायमा कांग्रेस अभियान संगठन विस्तारको अभियान हो । कांग्रेसले जनताका समस्या बुझ्ने र समस्या समाधानका लागि पहल गर्ने उद्देश्य अभियानको रहेको छ ।’

अभियानका लागि कांग्रेस नेता हरिप्रसाद बोहरालाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको कार्यवाहक सभापति बिष्टले बताए । बोहराको उपस्थितीमा वृक्षारोपण गरेर अभियानको शुरुवात गरिने उनले बताए । 

यस्तै अभियानका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पनि दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा तेजबहादुर चन्द र कमला चन्दलाई प्रतिनिधि खटाएको प्रदेश कार्यसमिति प्रदेश सभा क्षेत्र (ख) मा टेकराज जोशीलाई प्रतिनिधि खटाएको छ । 

अभियानमार्फत कांग्रेसले कार्यकर्तामा जनजागरण ल्याउने र संगठन विस्तार गर्ने योजना बनाएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

प्रतिक्रिया