Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ००:२३

'कमेडी च्याम्पियन ३' फागुन ३ गतेदेखि प्रसारण हुने

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ ११, २०८०
'कमेडी च्याम्पियन ३' फागुन ३ गतेदेखि प्रसारण हुने

नेपालको पहिलो हास्य रियालिटी शो 'कमेडी च्याम्पियन' को तेस्रो सिजन फागुन ३ गतेदेखि प्रसारणमा आउने भएको छ। 

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त जानकारी दिइएको हो। कार्यक्रममा थ्रि-प्रोडक्सनको तर्फबाट निर्देशक विशाल भण्डारी र प्रसारण संस्था कान्तिपुर टेलिभिजनबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम प्रसारणको घोषणा गरिएको हो। 

कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार यसपटक कमेडी च्याम्पियनमा केही परिवर्तन गरिनेछ। अघिल्ला २ सिजनमा डिजिटल अडिसनबाट उत्कृष्ट २४ छनोट गर्ने परम्परालाई परिमार्जित गरी सुपर ३० नामाकरण गरेका छन्। अर्थात अघिल्ला २ सिजनमा भन्दा यस सिजनमा ६ जना थप प्रतिस्पर्धीहरूलाई राखेर संख्या बढाइएको छ। साथै उत्कृष्ट १५ को सट्टा उत्कृष्ट १६ को छनोट हुने भएको छ। अन्य नियम भने यथावत रहेको निर्देशक भण्डारीले बताए। 

प्रसारण संस्था कान्तिपुर टेलिभिजनको प्रतिनिधित्व गर्दै सुरजसिंह ठकुरीले हास्यव्यंग्य कार्यक्रममा गरिने सेन्सरसिपमा आफू केही हदसम्म गम्भिर र कार्यक्रमको प्रकृति दुवैलाई सन्तुलन गरेर अगाडि बढ्ने बताए।

डिजिटल अडिसनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्रि-जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो । हाल उक्त अडिसन राउण्डको छायांकन सकिएको र प्रसारणको तयारीमा जुटेको निर्माण टिमले बताए। 

यो कार्यक्रम कान्तिपुर टेलिभिजन र ओएसआर युट्युब च्यानलमा प्रसारण हुनेछ। कार्यक्रम हप्तामा २ दिन बिहीबार र शुक्रबार बेलुका ९ बजेदेखि प्रसारणमा आउनेछ। 

कमेडी च्याम्पियन सिजन ३ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन्।

निर्माण टिमका अनुसार यस सिजनका विजेताले पनि नगद २५ लाख र सोही बराबरको गाडी जित्नेछन्।

प्रतिक्रिया