Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०२:१७

बैतडीमा ५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

सम्बाददाता सम्बाददाता
शनिबार, मङि्सर ३०, २०८०
बैतडीमा ५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन

बैतडीका ५ ओटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको हो । 

जिल्लाको सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई जिम्मेवारी दिएको भएपनि एकै जनाले तीन पालिकामा काम गर्न असहज भइरहेको छ । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक बर्षमा विकास निर्माणका कामहरु अहिले सम्म अगाडि बढ्न नसकेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था अनुसार प्रत्येक पालिकामा एकजना कार्यालय प्रमुख हुनुपर्ने भएपनि संघीय सरकारले यो बिषयमा ध्यानै नदिएको उनको आरोप छ । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई डिलाशैनीको जिम्मा दिएपनि तलब खुवाउन बाहेक अन्य आर्थिक कामहरु हुन नसकेको उनले बताए । उनले भने ‘संघीय सरकारले न माथिबाट प्रमुख प्रशासकीय अधिकृत पठाएको छ, न पालिकाले निर्णय गरेको कुरालाई सदर गरेको छ ।’

डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका रञ्जय पटेलको हाजिर भएको ८ दिनमै मन्त्रालयले सरुवा गरेको थियो । गत असोज ८ गते पालिकामा हाजिर भएका पटेलको असोज १६ मै सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । 

यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन छ । गत असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएपछि अहिले सम्म मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा साह्रै समस्या भएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प रहेको उनले बताए । उनले भने ‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा साहै्र समस्या भएको छ । मन्त्रालयले अहिले सम्म प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् ।’

यस्तै जिल्लाको सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले नै सिगास पनि हेरीरहेका छन् । उनले तीनओटा पालिकाको जिम्मेवारी पाएकाले समस्या भइरहेको छ । 

यस्तै जिल्लाको मेलौली नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई दुई महिनाको जिम्मेवारी दिएकोमा यही मंसिर १७ गते उनको जिम्मेवारी सकिएको थियो । त्यसयता मन्त्रालयले कसैलाई जिम्मेवारी पनि तोकेको छैन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन् । 

पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाजहरु प्रभावित भएका मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । 

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका पनि तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।

दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको ३ महिनामै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । 

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनलाग्दी सरुवा गर्ने प्रवृतिले स्थानीय सरकारहरुलाई काम गर्न असहज हुने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । 

नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पालिकाको वस्तुस्थिती बुझ्ने बेलामै मन्त्रालयले सरुवा गर्ने र फेरि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने गर्दा समस्या भइरहेको उनको भनाइ छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा समस्या हुने गरेको स्थानीय तहहरुले जनाएका छन् । 
 

प्रतिक्रिया