Wide Nepal News बुधबार २६, बैशाख २०८१ ००:३०

यू-१९ एसिया कपमा नेपाल जितबिहीन बन्दै बाहिरियो

सम्बाददाता सम्बाददाता
मङ्गलबार, मङि्सर २६, २०८०
यू-१९ एसिया कपमा नेपाल जितबिहीन बन्दै बाहिरियो

यू-१९ एसिया कपमा नेपाल जितबिहीन बन्दै बाहिरिएको छ। मंगलबार भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको यू-१९ एसिया कपको यात्रा सुखद हुन सकेन। 

दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो।

५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विकेट नगुमाइ पार गर्‍यो। 

भारतका लागि ‌ओपनरद्वय आदर्श सिंहले नटआउट १३ रन र अर्सिन अतुल कलकर्नीले नटआउट ४३ रन जोडे।

त्यसअघि नेपाल ब्याटिङमा भारतविरुद्ध केवल २२.१ ओभर मात्र टिक्न सक्यो। पाँच ओभरदेखि विकेट गुमाउन थालको नेपाल दश ओभर चल्दा महत्वपूर्ण छ विकेट पतन हुँदा संकटमा परेको थियो।

पहिलोदेखि छैटौं विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो। नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए। 

पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। नेपालले सातौं ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमायो। उत्तम थापा मगर शून्यमा राजबाटै बोल्ड भए। यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए। 

कप्तान देव खनाल नवौ ओभरको पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राजले नै पेभिलियनको बाटो देखाए।

दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो। 

सातौं विकेटको रुपमा दीपक बोहरा 'बी' १२.५ ओभरमा ७ रन जोडेर आउट भए। यस्तै दिपेश कँडेल पनि ७ रनमै आउट भए। सुवास भण्डारी २ रन र हेमन्त धामी ८ रनमा आउट हुँदा नेपालका कुनै पनि ब्याटर दोहोर अंकमा रन बटुल्न सफल भएनन्। 

नेपालले खेलमा केवल ४ चौका मात्र प्रहार गर्न सक्यो।

बलिङमा भारतका राज लिम्बानीले ७ विकेट लिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दा केवल १३ रन मात्र खर्चिएका थिए। उनी सुरुवातको ओभरदेखि नै नेपाली ब्याटरमाथि हाबी बनेका थिए।  यस्तै आराध्य शुक्लाले पनि २ विकेट लिन सफल भए। उनले ९ ओभरमा २ मेडन राख्दा ३१ रन खर्चिए।

409379110_763845565771826_956880212537532312_n-1702365483.jpg

समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग फराकिलो अन्तरले पराजित भएसँगै नेपाल यू-१९ एसिया कपमा जितबिहीन बनेर समूह चरणबाटै बाहिरिएको छ।

यसअघि नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया