Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०६:१५

१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक १७, २०८०
१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ।

आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो।

शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हिर्काए।

गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे।

त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए।

आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्। सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे।  वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।  

नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँचब लमा कुनै रन दिएनन्। 

बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा ११ रन खर्चिए।

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए।

१० वर्षमा दोस्रो पटक विश्वकपमा नेपाल

नेपालले सन् २०१२ युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो। 

नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो। जससँगै बंगलादेशमा भएको टी-२० विश्वकप २०१४ खेलेर नेपालले इतिहास बनाएको थियो। विश्वकप खेलेपछि नेपाली क्रिकेटको उचाइ बढ्दै गइरहेको छ।

सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो।

सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो। जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन। दुई वर्षअघि ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल असफल भयो।

फागुन २०७८ मा ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो। 

नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्‍यो। घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो। यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

पहिलो पटक टी-२० विश्वकपमा २० टिम
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। 

पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।  

सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्दैछन्।

गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष ८ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्।

जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्। 

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ। 

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।

सिधा छनोट भएका १२ टिम 
टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम: अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका
आयोजक: अमेरिका र वेस्ट इन्डिज गरी २ टिम 
आइसिसी विश्व वरीयताका २ टिम: अफगानिस्तान र बंगलादेश
जम्मा १२ टिम

क्षेत्रीय छनोटबाट ८ टिम
अफ्रिका – २ टिम 
अमेरिका –  १ टिम (क्यानडा)
एसिया – २ टिम  (नेपाल र ओमान)
इस्ट एसिया प्यासेफिक – १ टिम (पपुवा न्युगिनी) 
युरोप  - २ टिम (आयरल्यान्ड र स्कटल्यान्ड)
जम्मा – ८ टिम

प्रतिक्रिया