Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०३:००

सुदूरपश्चिममा दशैंको समयमा १४ सवारी दुर्घटना, ९ जनाको मृत्यु

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक १३, २०८०
सुदूरपश्चिममा दशैंको समयमा १४ सवारी दुर्घटना, ९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दशैंका समयमा १४ सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए । 

सवारी दुर्घटनामा परेर सबैभन्दा बढी कैलालीमा ५ जनाको मृत्यु भएको छ भने डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा एक÷एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए । 

दशैंको टीकापछि बढी दुर्घटना भएका र दुर्घटनामा ठूला गाडीभन्दा दुई पांग्रे सवारी साधन बढी दुर्घटनमा परेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

गत बर्ष दशैंको १५ दिनको अवधिमा १२ ओटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । गत बर्षको तुलनामा यो बर्षको दशैंमा बढी दुर्घटना भएको देखिएको छ । 

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसंग एक मिनेट कार्यक्रम सञ्चालनमा रहेको र यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरीक्षक गिरीले बताए । दशैंको समयमा फाटफुट रुपमा सवारी दुर्घटना भएपनि ठूलो दुर्घटना नभएको उनले बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको उनले बताए । उनले भने ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रयास गरिरहेका छौं । त्यति हुँदाहुँदै पनि केही दुर्घटना भएका छन् । कतिपय ठाउँमा चालकहरुको लापरवाहीले पनि दुर्घटना भएको पाइएको छ ।’

दशैंतिहारलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले प्रदेशभरी ३९ ठाउँमा हेल्प डेस्क सञ्चालन गरेको प्रहरी उपरीक्षक गिरीले बताए । 

यस्तै मापसे तथा लापसे गरेर सवारी साधन चलाउनेहरुलाई ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ । लागु औषध सेवन गरेर सवारी साधन चलाउने दुई जना चालकलाई दशैंको समयमा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक गिरीले बताए । 

प्रतिक्रिया