Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०७:२७

विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात

सम्बाददाता सम्बाददाता
सोमबार, असोज २२, २०८०
विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात

एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र भारतले विजयी सुरूवात गरेको छ।

चेन्नाईको एमए चिदम्बरम् स्टेडियममा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एकदिवसीय विश्वकपको जारी संस्करणमा सुखद सुरूवात गरेको हो।

अष्ट्रेलियाले दिएको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

भारतको जितमा विराट कोहली र केएल राहुलले सानदार ब्याटिङ गरे। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किसनसँगै श्रीयाश ऐयर शून्य रनमै आउट भएपछि दबावमा परेको भारतीय टोलीलाई कोहली र राहुलले खेलमा फर्काएका थिए।

कोहलीले ११६ बल खेलेर  ६ चौका प्रहार गर्दै ८५ रन बनाउँदा केएल राहुल  ११५ बलमा ८ चौका र २ छक्का प्रहार गरी ९७ रनमा नटआउट रहे। खेलमा हार्दिक पाण्ड्याले ११ रन बनाएका थिए।

बलिङतर्फ अष्ट्रेलियाका हेजलउडले तीन र मिचेल स्टार्कले एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो।

अष्ट्रेलियाका स्टेभन स्मिथले ७१ बलमा ५ चौकासहति ४६ रन र डेभिड वार्नरले ५२ बलमा ६ चौका प्रहार गरी ४१ रन बनाए।

त्यस्तै मिचेल स्टार्कले २८, लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रनको योगदान गरे।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए। जसप्रित बुमराह र कुलदीप यादवले समान २-२ विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले १/१ विकेट हात पारे।

विश्वकपमा आज न्युजिल्याण्ड र नेदरल्याण्ड्सबीचको खेल हुनेछ। न्युजिल्याण्डले उद्घाटन खेलमा इंग्ल्याण्डलाई हराएको थियो भने नेदरल्याण्ड्स पाकिस्तानसँग पराजित भएको थियो।

प्रतिक्रिया