Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४६

दार्चुलाको महाकाली नदीमा तुइन विस्थापन गर्न झोलुङ्गे पुल सञ्चालनको तयारी

Wide Nepal News
आइतबार, बैशाख २५, २०७९
दार्चुला ।  तुइन विस्थापनअन्तर्गत महाकाली नदीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुल सञ्चालनका तयारी गरिएको छ। नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो। पुल निर्माण भएको तीन महिनापछि व्यास गाउँपालिका–४ स्थित मलघट्ट झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुङ्गे पुल सञ्चालनको तयारी गरिएको हो। वडा नं ६ को बडुगाउँ पुल पनि निर्माण भैसकेको छ। पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। “पुल निर्माण सकिएकाबारे हामीलाई पत्र आइपुगेको छ”, उनले भने, “निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौँ।” झोलुङ्गे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा शनिबार खलङ्गामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको समन्वय बैठकमा छलफल भएको थियो। बैठकपछि पत्रकारसँग प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको र आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमति गराउन अघि बढेका छौं भने। झोलुङ्गे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ। व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले लामो समयदेखि पुल नियमित नहुँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बता्ए। महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुङ्गे पुल निर्माण गरेको थियो। मल्घट्टे तथा मालमा रु २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडूगाउँमा रु २ करोड ५५ लाख ६४ हजारको लागतमा उक्त पुल निर्माण भएको हो। निर्माण भएका पुल सञ्चालनका लागि  भारतकातर्फबाट कुनै समस्या नभएको धारचुलाका एसडिएम नन्दन कुमारले बताए। पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ। पुललाई चाडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवत जावतमा सहज हुने मालका बासिन्दा दानसिह कार्कीले बताए। अहिले त खोला सानो छ, अब बर्खा लाग्दैछ। नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ। यसका लागि निर्माण भएका झोलुङ्गे पुल सञ्चालन गर्नुपर्ने उनीहरुको माग थियो। केपीशर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकामा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका  छन्।

प्रतिक्रिया